१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका महोत्तरी
२o८१ बैशाख २० बिहीबार o६:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

असइ थमन विक हत्या प्रकरण : महोत्तरी अदालतको फैसलाप्रति लोसपाको  औपचारिक असहमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५३:oo

प्रदेश संसदीय दलका नेतालाई जन्मकैदपछि लोसपामा सरकार छाड्न दबाब

असइ थमन विकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीले गरेको फैसलालाई लिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सरकार छाड्न दबाब बढेको छ । मधेश आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरीका असइ विकको मुद्दामा लोसपाका सांसद अभिराम शर्मासहित सातजनालाई जन्मकैदको सजाय भएपछि लोसपाभित्र सरकार छाड्न दबाब बढेको हो । 

मधेश प्रदेशका संसदीय दलका नेतासमेत रहेका शर्मालाई बिहीबार महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । अदालतको फैसलापछि लोसपाका अध्यक्ष महन्थ ठाकुरले असहमति जनाएका छन् । 

‘स्वतन्त्र न्यायालय लोकतन्त्रको आत्मा हो । न्यायालयप्रति उच्च सम्मान प्रकट गर्दै महोत्तरी जिल्ला अदालतको उक्त फैसलाप्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ शुक्रबार ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक अधिकार प्राप्तिको संघर्षमा लाखौँ जनता सडकमा आएको सन्दर्भमा कसैको मृत्यु हुनु एउटा दुःखद घटना हो नै, तर तथ्य एवं वास्तविकताभन्दा बाहिर गएर फरक ढंगले निर्दोष व्यक्तिहरूलाई समेत राजनीतिक पूर्वाग्रहको आधारमा फसाइएकोमा सम्मानित अदालतबाट जन्मकैदसम्मको फैसला आउनुले हामी स्तब्ध तथा मर्माहत भएका छौँ ।’ विद्यमान कानुन तथा न्यायिक प्रक्रियालाई आधार मानेर न्याय एवं इन्साफका लागि बढ्ने उनको भनाइ छ ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि फैसला दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा मधेश आन्दोलनको समयमा भएका विभिन्न घटना, दुर्घटना र सोही बहानामा पूर्वाग्रही ढंगबाट आन्दोलनका अगुवालक्षित गरी दायर भएको मुद्दामा आधारित रहेर महोत्तरी जिल्ला अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ,’ उनले विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । उनले थरुहट र मधेशी मोर्चाका सबै नेतालाई तत्काल विभिन्न तहका सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न माग गरेका छन् ।

‘मैले हाम्रा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो नेता–कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन आग्रह गरिसकेको छु,’ महतोले भनेका छन्, ‘र, यही विज्ञप्तिमार्फत थरुहट र मधेशी मोर्चाका सबै नेताहरूलाई डटेर सामना गर्न पनि अपिल गर्दछु । अधिकार र पहिचानका लागि भएको आन्दोलनको मागलाई दबाउन राज्यद्वारा भइरहेको प्रपञ्चको हामी खुलेर विरोध गरौँ ।’

महतोले मधेशी मोर्चाका सबै नेतृत्वकर्ताहरू अल्मलिएको आरोप लगाएका छन् । ‘शान्तिपूर्ण आन्दोलनलाई बन्दुकको नोकको बलमा दबाउन खोजियो, मधेशी जनताले राज्यको आतंकको बीच पनि ६–६ महिनासम्म प्रतिरोध गरे, तैपनि मधेशी जनताको आवाज सुनिएन,’ महतोले भनेका छन्, ‘हामीले उक्त अधिकारको लडाइँ अझै निष्कर्षमा पु¥याउन सकेका छैनौँ । मधेशी जनता हारको मनोविज्ञानमा बाँचिरहनुपरेको छ । पुनः थप आन्दोलनको तयारी थाल्नुपर्नेमा हामी मधेशी मोर्चाका सबै नेतृत्वकर्ताहरू कताकता अल्मलिएजस्तो भएको छ ।’

ad
ad