१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १२:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

उच्च रक्तचाप नियन्त्रण गर्ने प्राकृतिक विधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:o१:oo

रक्तचाप एक महत्वपूर्ण शारीरिक मापन हो जसले हाम्रो हृदय प्रणालीको स्वास्थ्य र निरोगीपनलाई संकेत गर्छ । मानिसमा रक्तचाप सामान्यतया ९०/६० देखि १३०/९० को दायराभित्र हुनुपर्छ । तर, यी मानहरू व्यक्तिबीच थोरै तलमाथि भने हुन सक्छ । उच्च रक्तचाप (हाइपरटेन्सन) एक त्यस्तो अवस्था हो जहाँ धमनीको पर्खालमा रगतको दबाब लगातार धेरै हुन्छ । यो एक सामान्य तर सम्भावित रूपमा गम्भीर चिकित्सकीय अवस्था हो जसले विश्वव्यापी रूपमै लाखौँ मानिसलाई असर गरिरहेको छ । यसलाई प्रायः ‘साइलेन्ट किलर’ भनेर चिनिन्छ । 

यसले हृदयसम्बन्धी रोग, स्ट्रोक र मिर्गाैलाका समस्यासहित विभिन्न स्वास्थ्य समस्याको जोखिम बढाउन सक्छ । कम रक्तचाप (हाइपोटेन्सन) पनि चिन्ताको विषय हुन सक्छ । यस्तो अवस्थामा चक्कर लाग्ने, बेहोस हुने वा महत्वपूर्ण अंगहरूमा अपर्याप्त रगत प्रवाह हुन सक्छ । आनुवांशिकी, जीवनशैली, आहार, तनाव तथा विभिन्न अन्तर्निहित चिकित्सकीय अवस्थाहरूसहित अन्य धेरै कारणले रक्तचापलाई असर गर्न सक्छ । 

जीवनशैली परिवर्तन, औषधि वा दुवैको संयोजनका गतिविधिहरू प्रयोग गर्दै रक्तचापलाई निगरानीमा राखी उचित व्यवस्थापन गर्न सकिन्छ । 

 कारण
अस्वस्थकर खानपिन, शारीरिक गतिविधिको कमी, धूम्रपान, अत्यधिक मदिरा सेवन र दीर्घकालीन तनावजस्ता अस्वस्थ बानीहरूले उच्च रक्तचाप निम्त्याउन सक्छ । उमेर बढ्दै जाँदासमेत उच्च रक्तचापको जोखिम बढ्छ ।मधुमेह, मिर्गौला रोग र मोटोपनजस्ता अवस्थाले पनि रक्तचाप बढाउन सक्छ । डिकन्जेस्टेन्ट, गर्भनिरोधक चक्की र स्टेरोइडजस्ता औषधिको कारणले पनि साइड इफेक्टको रूपमा उच्च रक्तचाप हुन सक्छ । व्यक्तिको अन्तर्निहित स्वास्थ्य समस्या, जस्तै हार्मोनल विकार, मिर्गौलासम्बन्धी रोग वा ट्युमरको कारणले पनि उच्च रक्तचाप हुन्छ ।

रोकथाम 

  • स्वस्थ आहार अपनाउनु उच्च रक्तचाप नियन्त्रणमा महत्वपूर्ण कदम हो । सोडियमको मात्रा घटाउने, पोटासियमको खपत बढाउने र फलफूल, तरकारी, होल ग्रेन्स र लिन प्रोटिनयुक्त खानेकुरामा ध्यान केन्द्रित गर्नुपर्छ । 
  • नियमित शारीरिक गतिविधिमा संलग्न हुनाले पनि रक्तचाप कम गर्न मद्दत गर्छ । कम्तीमा १५० मिनेट मध्यमदेखि तीव्र व्यायाम वा प्रतिहप्ता करिब ७५ मिनेट कडाखाले व्यायाम गर्नुपर्छ । उच्च रक्तचाप व्यवस्थापनको लागि आफ्नो शरीरअनुसारको तौल कायम गर्नु आवश्यक छ ।
  • अत्यधिक मदिरा सेवनले पनि रक्तचाप बढाउन सक्छ । अल्कोहलजन्य पेय पदार्थको सेवन कम गर्ने वा पूर्णतया छोड्दा उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । धूम्रपानले रक्तचाप बढाउनुका साथै रक्तनलीहरूमा पनि हानि पुर्‍याउने हुनाले यसबाट टाढा रहनुपर्छ । 
  • गहिरो सास फेर्ने, ध्यान, योग वा माइन्डफुलनेसजस्ता तनाव कम गर्ने विधिमार्फत तनाव नियन्त्रण गर्दा उच्च रक्तचाप व्यवस्थापनमा सहयोग मिल्छ । यसका साथसाथै ओमेगा– ३ फ्याटी एसिड, म्याग्नेसियम, पोटासियम, ग्रिन टी वा यसको एक्स्ट्राक्टको सेवनले पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ । जिन्सेङ, कर्डिसेप्स, गानोदर्माले समेत हृदयरोग कम गरी रक्तचाप सन्तुलनमा मद्दत गर्न सक्छ । केही अवस्थामा, जीवनशैली परिवर्तन मात्र उच्च रक्तचाप व्यवस्थापन गर्न अपर्याप्त हुन सक्छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीको सल्लाहमा औषधि नै सेवन गर्नुपर्छ । 
ad
ad