
बालबालिकालाई सिर्जनात्मक वातावरणमा हुर्काउन जरुरी छ । जसकारण, उनीहरूको कल्पनशीलता र अभिव्यक्ति स्वतन्त्रता बढेर जान्छ । बच्चाहरूलाई सिर्जनात्मक बनाउने केही उपाय यस्ता छन् । बालबालिकालाई कडा निगरानी वा नियममा नबाँध्नुस् । उनीहरूलाई खेल्न र नयाँ कुराहरू खोज्नका लागि स्वतन्त्र छाडिदिनुस् । यसले उनीहरूको सोच्ने क्षमताको विकासमा भूमिका खेल्छ ।
पुस्तक, पेन्टिङका लागि आवश्यक सामग्री, संगीत सामग्री, खेलकुद सामग्रीलगायत उनीहरूलाई मन पर्ने सामग्रीहरूको जोहो गरिदिनुस् । यसले उनीहरूको सिर्जनामा निखार ल्याउन र उनीहरूमा आत्मविश्वास बढाउन भूमिका खेल्छ । बच्चाका जिज्ञासा र प्रश्नहरूलाई सधैँ सम्मान गर्नुस् । उनीहरूको इच्छाको कदर गर्नुस् । उनीहरूलाई प्रश्न सोध्न, जवाफ खोज्न र नयाँ योजनाबारे सोच्न अभिप्रेरित गर्नुस् ।
बच्चालाई समस्याको समाधान खोज्न अभिप्रेरित गर्नुस् । आवश्यक परेका वेला तपाईंले यसमा सहयोग गर्न सक्नुहुन्छ । तर, पहिले उनीहरू आफैँलाई यसबारे आलोचनात्मक चेतसहित स्वतन्त्र ढंगले सोच्न दिनुस् । सबै बच्चा पृथक् हुन्छन् । आफ्नो बच्चाको रुचि जे कुरा छ, त्यसैमा लाग्न अभिप्रेरित गर्नुस् । अरुसँग तुलना गरेर उनीहरूलाई दुःखी बनाउन हुँदैन ।
बच्चाहरूलाई म्युजियम, प्राकृतिक पार्क, सांस्कृतिक समारोहलगायतमा घुमाउन लैजानुस् । यसले उनीहरूको सिर्जना क्षमतालाई थप निखार्छ ।