
काठमाडौं महानगरपालिकाभित्र रहेको सार्वजनिक शौचालय अभावको अवस्था समाधानका लागि महानगरले पहल सुरु गरेको छ । यसका लागि महानगरले प्रत्येक पाँच सय मिटरमा एउटा सार्वजनिक शौचालय बनाउने गरी योजना अघि सारेको हो ।
काठमाडौं महानगरका अनुसार प्रत्येक पाँच सय मिटरमा एउटा शौचालय निर्माण भइसक्दा सार्वजनिक शौचालयको संख्या पाँच सयको हाराहारीमा हुनेछ । सार्वजनिक–निजी साझेदारी विभाग प्रमुख नरेन्द्रविलास ब्रजाचार्यका अनुसार प्रत्येक पाँच सय मिटरमा शौचालय निर्माणका लागि काम अघि बढिसकेको छ । ‘मेयरसाबले पाँच सय मिटरमा एउटा शौचालय बनाउने भन्नुभएको छ । सोहीअनुसार वडामातहत काम गरिरहेका छौँ,’ बज्राचार्यले भने, ‘वडालाई शौचालय निर्माणका लागि ठाउँ पहिचान गर्न भनेका छौँ । तर, कतिपय वडाले ठाउँ पहिचान गरेर पनि बनाउन नसकेपछि हामीले नै ती ठाउँमा काम गरिरहेका छौँ ।’
गत पुसमा बसेको ११औँ कार्यपालिका बैठकले वडालाई सार्वजनिक शौचालय बनाउन उपयुक्त स्थान पहिचान गरी आफ्नो वडा क्षेत्रभित्र सुविधासम्पन्न, आधुनिक शौचालय बनाउने अधिकार प्रत्यायोजन गरेको थियो । वडाले नसकेको ठाउँमा महानगर आफैँले निर्माण गरिरहेको छ ।
महानगरले सोह्रखुट्टे र बागबजारमा शौचालय निर्माण गरिसकेको छ । यसैगरी, गत असोजमा वडा सचिवहरूसँग भएको विभागको बैठकमा भएका शौचालयलाई नियमित गर्ने, सम्झौता भएकाहरूको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडा सचिवहरूसँग भएको छलफलमा सार्वजनिक–निजी साझेदारी विभाग प्रमुख अधिकारीले बताएका थिए ।
सार्वजनिक शौचालयसम्बन्धी गलत धारणालाई रूपान्तरण गरेर सफा, दुर्गन्धरहित, व्यवस्थित, उज्यालो, हातधुने साबुन, पानीको व्यवस्था गराउने गरी काम गर्न लागिएको समेत महानगरले जनाएको छ । वडाकेन्द्रित भएर काम गर्ने उद्देश्यस्वरूप महानगरअन्तर्गत सहरी योजना आयोगको प्राविधिक सहयोगमा चार ड्रइङ, डिजाइन तयार भएको छ । सोही ड्रइङ, डिजाइन छनोट गरी सार्वजनिक शौचालय सञ्चालनका लागि खरिद प्रक्रिया अगाडि बढाउन महानगरले वडालाई भनेको छ ।
महानगरभित्र जम्मा ५६ शौचालय
हाल महानगरभित्र जम्मा ५६ वटा मात्रै सार्वजनिक शौचालय छन् । ती शौचालयमध्ये १० वटा स्मार्ट प्रविधिमा आधारित छन् भने बाँकी प्रयोग गर्न मिल्ने अवस्थामा मात्र रहेका छन् । ती शौचालयलाई पनि मर्मत–सम्भार गरेर स्मार्ट शौचालयमा रूपान्तरण गर्ने महानगरको तयारी छ ।