Skip This
विमानस्थलबाट शृंखलाबद्ध सुन तस्करी : भन्सारको एक्सरे मेसिनबाटै पास भयो ६.५६५ किलो सुन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Friday, 26 July, 2024
टेकराज थामी काठमाडाैं
२o८o मङ्सिर २५ सोमबार o६:४८:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विमानस्थलबाट शृंखलाबद्ध सुन तस्करी : भन्सारको एक्सरे मेसिनबाटै पास भयो ६.५६५ किलो सुन

बरामद १४ र ६.५ केजी सुन तस्करी गर्ने गिरोह एउटै रहेको आशंका

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार o६:४८:oo

यात्रुले शंकास्पद वस्तु भित्र्याएको छ–छैन पहिचान गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ छन् । तर, तिनै मेसिनमा ‘जाँच पास’ भएर पटक–पटक तस्करीको सुन आउने गरेको छ । विमानस्थलका कर्मचारीको मिलेमतोको आशंकासँगै मेसिनको प्रभावकारितामा पनि प्रश्न उठेको छ । 

शनिबार राति ११:५१ मा फ्लाई दुबईको उडानबाट इजिप्टका नागरिक ३३ वर्षीय मोहम्मद लासिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । अन्य यात्रुसँगै उनी विमानस्थलस्थित भन्सार कार्यालयको चेक पोइन्टमा पुगे । ‘एक्सरे मेसिन’अगाडि उभिए, चेकजाँचमा उनी पास भए । त्यसपछि सरासर ‘वाक थ्रु गेट’तिर लागे । त्यहाँ पनि उनको शरीरमा शंकास्पद वस्तु रहेको रहेको कुनै संकेत दिएन ।

भन्सारको चेक पोइन्टबाट सजिलै बाहिरिए । जब उनी गन्तव्यतर्फ जान तयारीमा जुटे, शंका लागेपछि प्रहरी टोलीले पक्राउ गर्‍यो । कपडा खोल्न लगाएर हेर्दा शरीरको भित्री भागमा लुकाएको अवस्थामा ६.५६५ केजी अर्धठोस अवस्थाको सुन फेला पर्‍यो । शुक्रबार राति फ्लाई दुबईको एफजेट ५७३ जहाजमा गोरखाका चन्द्र घलेले बोकेर ल्याएको १४ केजी सुन भने पूर्वसूचनाका आधारमा भन्सार कर्मचारीले नै बरामद गरेका थिए । 

गत २ साउनमा पनि विमानस्थल भन्सारको ‘चेक पोइन्ट’ पार गरेपछि मात्रै ६०.७१६ केजी सुन बरामद भयो । स्कुटर र मोटरसाइकलको ‘बे्रकसु’भित्र लुकाइएको उक्त सुनलाई भन्सारमा राखिएको ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ले चिनेनन् । सोही तरिका अपनाएर दुई महिनाको अवधिमा सोही ‘चेक पोइन्ट’ हुँदै थप ३०२.०६२ केजी सुन पास भएको अनुसन्धानबाट खुल्यो । यति ठूलो परिमाणको सुन तस्करी हुँदा ती मेसिनले पत्तै पाएनन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ‘एक्सरे’ र ‘वाक थ्रु गेट’गत १० पुसको ११ केजी सुन तस्करीमा पनि बेकामे बनेका थिए । उक्त दिन फ्लाई दुबईको जहाजबाट झरेका चिनियाँ नागरिक ली हानसोङ ई–सिगरेट (विद्युतीय चुरोट) बोकेर भन्सारको ‘चेक पोइन्ट’ पुगे । उनले प्रत्येक ई–सिगरेटलाई ‘एक्स रे मेसिन’मा हाले । तर, ई–सिगरेटभित्र लुकाई राखिएको ११ केजी सुन एक्सरे मेसिनले पहिल्याउन सकेन । 

त्यसको दुई दिनअघि ८ पुसमा अर्धठोस अवस्थाको १९ केजी सुन विमानस्थल भन्सारबाहिर बरामद भयो । फ्लाई दुबईको जहाजबाट विमानस्थल झरेका सुडानी नागरिक मोहम्मद महमेदले डफला साराफेन्दिनले उक्त सुन कपडामा स्प्रे गरेर ल्याएका थिए । भन्सारको ‘चेक पोइन्ट’बाट बाहिरिने क्रममा पक्राउ परेका उनलाई पनि ‘एक्सरे’ र ‘वाक थ्रु गेट’दुवैले शंकास्पद देखेनन् । 

विमानस्थल भन्सार कार्यालय र सुरक्षा निकाय पनि शंकास्पद वस्तु पहिचान गर्ने मेसिनमा कैफियत देखिएको स्वीकार गर्छन् । विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले भने, ‘हामीकहाँ प्रयोग भएको एक्सरे मेसिन अन्तर्राष्ट्रिय मापदण्डअनुसारकै हो । तर, सुन बरामदको पछिल्लो घटनाले त्यसमा केही कैफियत भएको हो कि जस्तो देखिन्छ । अर्धठोस अवस्थाको सुनलाई यसले पहिल्याउन सकेको देखिएन । तस्करले अनेक केमिकल प्रयोग गर्छन्, त्यसैले पनि यस्तो समस्या आएको हुन सक्छ । जे होस्, हामीकहाँ भएको ‘एक्सरे मेसिन’को सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आएकै हो ।’

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्द पनि तस्करीको अधिकांश सुन ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ मेसिनमा चेकजाँच गरेर बाहिरिएपछि मात्रै बरामद भएको बताउँछन् । शंकास्पद व्यक्तिबारे कतिपय अवस्थामा पूर्वसूचना आउने भएकाले प्रहरीले निगरानीमा राख्ने र खानतलासी गर्दा सुन भेट्ने गरिएको उनले बताए ।

‘भन्सारको चेक पोइन्ट पास गरेर बाहिर आएका यात्रुबाट सुन बरामद भएका छन् । यसको अर्थ भन्सारमा प्रयोग गरिएको ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ले काम गर्न नसकेको भन्ने हो । हुन पनि अर्धठोस अवस्थाको सुनलाई हामीकहाँ प्रयोग गरिएको ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ले पहिचान नगर्ने रहेछ,’ उनले भने । उनका अनुसार शनिबार मात्र इजिप्टेली नागरिकको साथबाट बरामद ६.५६५ केजी सुन पनि पूर्वसूचनाका आधारमा पहिचान भएको हो । 

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल पनि त्रिभुवन विमानस्थलमा जडित प्रविधि कमजोर भएको स्वीकार गर्छन् । ‘कतिपय अवस्थामा हाम्रो एक्सरे मेसिनले सुन डिटेक्ट नगर्ने कुरा साँचो हो । सुन तस्करहरूले लेपन लगाउनेदेखि अनेक विधिको प्रयोग गर्छन्, त्यसअनुसारको हाम्रो प्रविधि छैन,’ उनले भने, ‘हामीले तत्काल नयाँ एक्सरे मेसिन खरिद गर्नुपर्छ भनेका छौँ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ६ करोड रुपैयाँ दिइसकेका छौँ । तस्करी नियन्त्रणका लागि प्रविधिको सुधारमा लागेका छौँ ।’ उनी विमानस्थलमा धेरै निकाय भएकाले पनि सुन तस्करीमा साँठगाँठको सम्भावना हुन सक्ने बताउँछन् । ‘अर्को कुरा विमानस्थलमा सयवटा निकाय छन् । कतिपय निकायको सुन तस्करी गर्ने समूहसँग हिमचिम नहोला भन्न सकिन्न,’ उनले भने, ‘जसकारण अन्य बाटोबाट पनि पास भएको हुन सक्छ ।’

दिनदिनैजसो सुन बरामद
शनिबार र शुक्रबार राति त्रिभुवन विमानस्थलबाट मात्रै होइन, शुक्रबार दिउँसो उपत्यकाको मुख्य नाका नागढुंगाबाट दुई केजी सुन बरामद भएको थियो । सुन तस्करीमा संलग्न रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ५ का २६ वर्षीय बिरू तामाङ, २१ वर्षीय सुनील भुजेल र २८ वर्षीय ग्यालछिरिङ तामाङ पक्राउ परेका थिए । यही घटनामा संलग्न रहेको भन्दै आइतबार प्रहरीले चिनियाँ नागरिक चेन झिवीलाई पनि पक्राउ गरेको छ । उनीहरूले उक्त सुन रसुवा नाका हुँदै काठमाडौं ल्याएका थिए । प्रहरीका अनुसार उनीहरूले बागमती प्रदेश–०१ ०२८ च २६९७ को स्कार्पियोभित्र गियर बक्समा लुकाएर सुन ल्याएका थिए । 

उता, २९.७६ तोला सुनसहित बर्दियाबाट दुईजना पक्राउ परेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका– १९ का २९ वर्षीय मोहन विक र बाँके राप्ती–सोनारी गाउँपालिका– २ का सवारीधनी ३८ वर्षीय देविन्द्रबहादुर घर्ती पक्राउ परेका हुन् । प्र–३–०१–०२३ ८१६८ नम्बरको हुन्डाई कारमा सवार उनीहरूलाई शनिबार बारबर्दिया नगरपालिका– ९ कतर्नियामा चेक पोइन्टबाट पक्राउ गरिएको बर्दिया प्रहरी प्रमुख सुधीरराज शाहीले बताए । पक्राउ परेका विक र घर्तीलाई सुनका गरगहनासहित थप अनुसन्धानका लागि राजापुर भन्सार कार्यालयमा बुझाइएको उनले बताए । 

गत साता मंगलबार (१९ मंसिर)मा पनि प्रहरीले तस्करी भएर आएको ७.१८५ केजी सुन न्युरोडबाट बरामद गरेको थियो । ओम पर्ल गोल्ड र कैलाश ज्वेलर्स सञ्चालन गर्दै आएका पदम पाण्डेले आफ्नो पसलबाट तस्करीको सुन बिक्री गर्दै आएको प्रहरीको दाबी छ । पाण्डेलाई आधार बनाएर सुन सप्लाई गर्ने समूहमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । हाल प्रहरी थुनामा रहेका पाण्डेले हुन्डीको पनि कारोबार गर्दै आएका थिए । 
प्रहरीले गत १३ असोजमा पनि दोलखाको उत्तरी फलेक नाका हुँदै तस्कर भई आएको ११ केजी सुन बरामद गरेको थियो । उक्त सुन चिनियाँ व्यापारी ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउले नेपाल भिœयाएका थिए । घटनामा संलग्न १५ अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि खुल्यो– उक्त समूहले वर्षदिनभित्र सोही नाकाबाट ३३ केजी सुन तस्करी गरिसकेको रहेछ । सोही घटनाको अनुसन्धानमा संलग्न प्रहरी टोलीले रसुवाको केरुङ नाकाबाटै थप दुई किलो सुन बरामद गरेको थियो ।