१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १o:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जाजरकोटबाट फर्कियो एमालेको स्वयंसेवक टोली

२० दिनमा ८१६ अस्थायी आवास र १६ वटा विद्यालय निर्माण, ५०३ भग्नावशेष व्यवस्थापन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:१o:oo

गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको एक हजारभन्दा बढीको नेकपा एमालेको स्वयंसेवक टिम दुई हप्ताभन्दा बढी सेवा गरेर फर्किएको छ । 

जाजरकोट र रुकुम पश्चिममा पार्टीको निर्णयअनुसार खटिएको दक्ष जनशक्तिसहितको टोलीले १५ दिनभन्दा बढी स्वयंसेवी काम गरेको छ । कात्तिक १७ गते भूकम्प गएपछि मध्यरातदेखि नै जाजरकोट र रुकुमका स्थानीय पार्टी नेता–कार्यकर्ताहरू उद्धार कार्यमा परिचालित भएका भए पनि दक्ष कामदारसहितको जिफन्टको टोलीले मंसिर १ गतेबाट र अन्य स्वयंसेवकले मंसिर ३ गतेबाट काम थालेका थिए । 

कात्तिक १८ गते पार्टी उपमहासचिव विष्णु रिमालसहितको टोलीले भूकम्प प्रभावित क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षतिको स्थलगत अवलोकन गरेपछि त्यसको भोलिपल्टै अनेरास्ववियुको चिकित्सकसहितको टोली खटाइएको थियो । 

प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउन र अस्थायी आवास निर्माणका लागि कात्तिक ३० गते दक्ष जनशक्तिसहित जिफन्टको ७५ जनाको समूह काठमाडौंबाट हिँडेको थियो । त्यसपछि पार्टी केन्द्रीय सदस्य एवं विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा मंसिर ३ गते देशभरबाट एक हजार स्वयंसेवकको टिम प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा अस्थायी आवास निर्माण तथा भत्किएका संरचना हटाउने काममा खटेको थियो ।  

प्रभावित क्षेत्रमा एमालेले २५ जनाका दरले ४० वटा समूह बनाई प्रभावित क्षेत्रमा खटाएको थियो । ती स्वयंसेवक प्रभावित दुई जिल्लाका विभिन्न बस्तीमा भग्नावशेष व्यवस्थापन तथा अस्थायी आवास निर्माणमा जुटेका थिए । जसमध्ये २५ समूहले जाजरकोटमा र १५ समूहले रुकुम पश्चिम काम गरेका थिए । सो अवधिमा एमालेका स्वयंसेवकले पाँच सय तीनवटा भग्नावशेष व्यवस्थापन गरेका स्वयंसेवक टिमका नेतृत्वकर्ता किरण पौडेलले जानकारी दिए । 

‘धराप घरहरूबाट जोखिम मोलेरै भए पनि जनताका सम्पत्ति सुरक्षित बाहिर निकालिदियौँ, पूर्ण रूपले क्षति भएका घरभित्र पुरिएका सामान उत्खनन गरेर सम्बन्धित परिवारलाई बुझायौँ,’ उनले भने । सो क्रममा आठ सय १३ अस्थायी आवास निर्माण गरिएको छ । गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति तथा आर्थिक रूपले विपन्न परिवारलाई लक्षित गरेर स्वयंसेवक परिचालित गरिएको उनले बताए । 

एमालेको स्वयंसेवक टोलीले १६ वटा अस्थायी विद्यालय बनाएर हस्तान्तरण गरेको छ । भूकम्पले भवन भत्काएपछि पठनपाठन बन्द भएका ती विद्यालयमा अस्थायी कक्षाकोठा निर्माणपछि पढाइ सुरु भएको छ । स्वयंसेवक टोली फर्किए पनि अस्थायी आवास निर्माणको अभियान नरोकिएको पौडेलले बताएका छन् । 

‘स्थानीय नेताहरूको नेतृत्वमा अभियानलाई निरन्तरता दिने गरी हस्तान्तरण गरिएको छ । हामीले सामग्रीहरू स्थानीय नेतृत्वलाई नै छाडेका छौँ,’ बागमतीबाट एउटा टोलीको नेतृत्व गरेका राज मैनालीले जानकारी दिए । 

एमालेको केन्द्रीय विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग नेपाल सरकारलाई सो क्षेत्रमा गर्नुपर्ने कामबारे केही सुझावसमेत दिएको छ । यतिखेर प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम रहेको बताउँदै पौडेलले व्यवस्थित शौचालयको कमीका कारण महामारी फैलन सक्ने भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 
 
हालसम्म पुनर्निर्माणको खाका तयार नभएकाले देशभित्रका पूर्वाधार विकाससम्बन्धी दक्ष जनशक्तिलाई स्थानीय सरकारमार्फत प्रयोग गर्नुपर्ने एमालेले सुझाव दिएको छ । त्यस्तै, अस्थायी आवास निर्माणका लागि सरकारले प्रतिपरिवार घोषणा गरेको ५० हजार रुपैयाँको विलम्बमा पनि एमालेले झकझक्याएको छ । 

भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा मनोपरामर्शदाता परिचालन गर्न, ढलेका घरमात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पनि प्रभावित क्षेत्र उठाउन एमालेको सुझाव छ । सो भूकम्पमा परी एक सय ५७ जनाको ज्यान गएको थियो भने दुई सय ७५ जनाभन्दा बढी घाइते भएका थिए । भूकम्पबाट एक लाख ८० हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपले प्रभावित बनेका छन् ।

तथ्यांकअनुसार जाजरकोटमा नाै हजार सात सय ९४ निजी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने २४ हजार सात सय सात घर आंशिक रूपमा क्षति भएका छन् । रुकुममा १६ हजार पाँच सय ७० निजी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने नाै हजार नाै सय ६१ आंशिक क्षति भएको आकलन गरिएको छ ।

ad
ad