१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर २२ शुक्रबार ०८:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी रकम बुझाउन  नसकेपछि रिजाल थुनामै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर २२ शुक्रबार ०८:५३:००

धरौटी रकम बुझाउन नसकेपछि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी टेकनाथ रिजाल रिहा हुन सकेनन् । उनलाई उच्च अदालत पाटनले १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएर कैदमुक्त गर्न आदेश गरेको थियो । उच्चको आदेशपछि जिल्ला अदालत काठमाडौंले १८ मंसिरमा धरौटी रकम बुझाउन पत्र काटेको थियो । तर, उनले बिहीबारसम्म पनि धरौटी रकम पेस गर्न सकेका छैनन् । त्यसकारण उनलाई कैदमुक्त नगरिएको हो ।

केन्द्रीय कारागार सुन्धाराका प्रमुख ललितकुमार बस्नेतले धरौटी रकम बुझाउन नसकेपछि रिजाल कैदमुक्त हुन नसकेको बताए । ‘टेकनाथ रिजाल कैदमुक्त भएका छैनन् । उनलाई उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटी रकम माग गरेको थियो । तर, बिहीबारसम्म पनि रकम पेस गर्न नसकेकाले उनलाई कैदमुक्त गर्न सकिएको छैन,’ उनले भने ।

धरौटी रकम बुझाउन नसकेपछि भुटानी शरणार्थीका नेता रिजालसँग कारागार प्रमुख बस्नेतले कार्यालयमै बोलाएर कुराकानी गरेका थिए । त्यसक्रममा उनले आफूलाई कारागारमै ठीक रहेको र रिहा हुन हतार नगर्ने प्रतिक्रिया दिएका थिए । रिजालसँगै उच्चले अन्य १० जनालाई कैदमुक्त गर्ने आदेश गरेको थियो । जसमध्ये ६ प्रतिवादीसँग धरौटी रकम मागिएको थियो । अन्य चार प्रतिवादीलाई भने साधारण तारेखमा छाड्ने भनिएको थियो । 

धरौटी रकम माग गरिएका प्रतिवादी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ, सन्दीप रायमाझी, टेकनाथ रिजाल, रामशरण केसी छन् । केसीलाई १० लाख, महर्जनलाई १५ लाख, मियाँलाई १० लाख, रायमाझीलाई ३० लाख, रिजाललाई १५ र केसीलाई १५ लाख धरौटी रकम बुझाउन भनिएको थियो । रिजालबाहेक सबैले धरौटी रकम बुझाएर कैदमुक्त भइसकेका छन् । लक्ष्मी महर्जन, टंक गुरुङ, आशिष बुढाथोकी र केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेशपछि उनीहरू कैदमुक्त भइसकेका छन् । 

गत १५ मंसिरमा भएको आदेशमा पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहितका ‘हाई प्रोफाइल’ नौजनालाई भने थुनामै राख्ने भनिएको छ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको हकमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको मत बाझिएको थियो । निर्णयका लागि तेस्रो न्यायाधीश मत आवश्यक पर्ने आदेशमा भनिएको थियो । २८ मंसिरका लागि उनको पेसी तोकिएको छ ।