मोरङको विराटनगर महानगरपालिका–७ स्थित कबाडी पसलमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ।
बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।
उनले पासवानको घटनास्थलमा नै मृत्यु भएको तथा मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा तथा कामतको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए।
आगोमा परी घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामतको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा उपचारका लागि लगिएको हो। उक्त आगो छवटा दमकल, स्थानीय र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो। साथै, आगलागीबाट करिब रु ४० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।