१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० मङ्सिर २१ बिहीबार १६:०८:००
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

भैरहवा विमानस्थल नियमित सञ्चालन नहुँदा ४० अर्बभन्दा बढीको लगानी जोखिममा, चौतर्फी दबाब दिँदै उद्योगी-व्यवसायी 

Read Time : > 3 मिनेट
२०८० मङ्सिर २१ बिहीबार १६:०८:००

उद्घाटन भएको भएको डेढ वर्ष बितिसक्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन।

विमानस्थल निर्माणपछि उत्साहित बनेका रुपन्देहीका उद्योगी–व्यवसायी अहिले निराश बनेका छन्। उनीहरूले विमानस्थल नियमित सञ्चालनका लागि दबाबस्वरूप विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। 

पर्यटन व्यवसायी अहिले जिल्लादेखि राजधानीसम्म सम्बन्धित नियकामा सरकारलाई झकझक्याउन पुगेका छन्। 

रुपन्देहीमा रहेका करिब ३२ वटा संघसंस्थाको नेतृत्व गरेको सिद्धार्थ सञ्जाल रुपन्देहीले एक महिनादेखि विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकाे छ। सञ्जालले यही २२ मंसिरदेखि शान्तिपूर्ण रूपमा सडक आन्दोलन गर्ने जनाएको छ। 

शान्तिपूर्ण आन्दोलनअन्तर्गत विमानस्थलअगाडि धर्नालगायतका विभिन्न कार्यक्रम गर्ने सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले बताए।

सरकारको लगानी सुरक्षित गर्न पनि आन्दोलन गर्ने अवस्था सिर्जना भएको अध्यक्ष ज्ञवालीले बताए। उनका अनुसार विमानस्थललाई लक्षित गरी ४० अर्बभन्दा बढी लगानी भएको पर्यटन क्षेत्र अहिले ध्वस्त भएको छ।

सरकारले भन्दा पनि राजधानीका केही व्यवसायी र अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको स्वार्थका कारण विमानस्थल सञ्चालन हुन नसकेको ज्ञवालीको आरोप छ। 

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि यसअगाडि हवाई रुटलगायतका समस्या देखाए पनि यी विषयमा केही समस्या नरहेको उनको भनाइ छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा काठमाडाैंको व्यापार घट्ने भएकाले केही कर्मचारी र पर्यटन व्यवसायीको दबाबमा विमानस्थल सञ्चालनमा आउन नसकेको व्यवसायीहरूको दाबी छ। 

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हामी अन्तिम प्रयासस्वरूप सडक आन्दोलनमा उत्रिएका हौँ। यो हाम्रो सरकारसँग अन्तिम लडाइँ हो,’ अध्यक्ष ज्ञवालीले भने।

एकातिर सञ्जालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकाे छ भने पर्यटन व्यवसायीहरूले काठमाडौंकेन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन्। 

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्स एजेन्ट नाटा लुम्बिनी प्रदेशले राजधानीमा पर्यटनमन्त्री सुदन किराँती, नागरिक उड्डयन प्रधिकरण, एसियाली विकास बैंकका प्रतिनिधि, कतार एयरवेज, नेपाल एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबिया, हिमालय एयरलाइनसलगायत विमान कम्पनीहरूलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनका लागि दबाब दिन ज्ञापनपत्र बुझाएको नाटाका निवर्तमान अध्यक्ष सागर अधिकारीले बताए।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसक्दा अहिले रुपन्देहीको मात्र नभएर लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रमा नराम्रो असर परेको उनले बताए।

उता सिद्धार्थनगर उद्याेग वाणिज्य संघ रुपन्देही, महासंघ लुम्बिनी प्रदेशमा आबद्ध उद्योगी–व्यवसायीहरू पनि आन्दोलित छन्।

उनीहरूले कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलनमा सहभागिता जनाउन केही दिनअगाडि भैरहवा आइपुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थनगर उद्योग वाणिज्य संघ रुपन्देहीले विमानस्थल नियमित सञ्चालनका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको सिद्धार्थनगर उद्याेग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए। 

विमानघाटबाट ५६ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल 

०२३ फागुन १७ गते तत्कालीन युवराजाधिराज वीरेन्द्र वीरविक्रम शाहबाट उद्घाटन भएको भैरहवा विमानघाट ५६ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा परिणत भएको हो।

तत्कालीन समयमा सरकार र भारतीय सहयोग मिसनद्वारा संयुक्त रूपमा भारतीय सहायता कार्यक्रमअन्तर्गत निर्माण भएको विमानघाट अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा परिणत भएको छ।

०७१ माघ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०७४ पुस मसान्तभित्र निर्माण सम्पन्न भइसक्नुपर्नेमा ०७९ मा आएर सम्पन्न भयो। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माणकार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले गरेको हो।

निमार्णमा नाै अर्ब खर्च, मुआब्जा वितरणमा २३ अर्ब लगानी 

नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। ६ अर्ब २२ करोड लागतमा सुरु भएको विमानस्थलको बजेट निर्माण सम्पन्न हुँदासम्म आठ अर्ब ८२ करोड पुगेको परियोजना प्रमुख प्रवेश अधिकारीले बताए।
 
साढे २२ सयभन्दा बढी घरधुरीलाई मुआब्जा दिई जग्गा अधिग्रहण गरेर विमानस्थल परियोजना सुरु भएको थियो। विमानस्थल निर्माणका लागि आठ सय १० बिघा जग्गा अधिग्रहण गरी २३ अर्बभन्दा बढी रकम मुआब्जा वितरण गरिएको थियो।

किस्ता तिर्न नसक्दा २० भन्दा बढी व्यवसायीको धितो लिलामी 

पर्यटन व्यवसायमा आएको मन्दीका कारण २० भन्दा बढी होटेल अहिले बैंकले लिलाममा निकालेर आफ्नाे बनाइसकेको छ। नियमित किस्ता तिर्न नसक्दा रुपन्देहीको भैरहवा र लुम्बिनी क्षेत्रमा रहेका २० भन्दा बढी व्यवसायीको चारदेखि २५ करोड रुपैयाँसम्म लगानी भएको होटेलहरु अहिले लिलामी भएका छन्। 

४० अर्बभन्दा बढी लगानी भएका होटेलहरू अहिले उच्च जोखिममा रहेको सिद्धार्थ होटेल एसाेसिएसन सानका अध्यक्ष तथा आन्दोलनका संयोजक चन्द्रप्रकाश श्रेष्ठले बताए।। विमानस्थललाई आधार मानेर निर्माण गरिएका र निर्माणाधीन अवस्थामा रहेका ४० अर्बभन्दा बढीको होटेलको लगानी अहिले उच्च जोखिममा रहेको उनले बताए। 

उनका अनुसार यो अवस्था अझै एक वर्ष रहे अधिकांश होटेल किस्ता तिर्न नसकेर बैंककाे लिलामीमा पर्ने निश्चित छ। रुपन्देहीमा स्तरीय होटेल ८९ वटा छन्। २१ वटा होटेल बन्दै छन्। ४० अर्बको लगानी पूर्ण जोखिममा छ। 

उद्घाटनको डेढ वर्षमा चार सय २४ उडान  

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको मितिले यो समाचार तयार पार्दासम्म चार सय २४ अन्तर्राष्ट्रिय उडान भएका छन्। यसमा ३८ उडान चार्टर रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख हंशराज पाण्डेयले जानकारी दिए। 

विमानस्थलको आम्दानी न्यून 

विमानस्थलको आम्दानी न्यून छ। सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्नका लागि निःशुल्क भएपछि आम्दानी छैन। विमानस्थल प्रयोग भएर जाने २० हजार दुई सय यात्रुबाट प्रतियात्रु तीन हजार आम्दानी गरेको छ। 

नेपाल एयरलाइन्सले ग्राउन्ड हेन्डेलिडबापत प्रतिउडान सात सयदेखि तीन हजार डलरसम्म आम्दानी गरेको छ। विमानस्थल सञ्चालन खर्च पूरा गर्नका लागि दैनिक एक अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको विमानस्थल प्रमुख पाण्डेयले बताए। पुँजीगत खर्च चलाउनका लागि विमानस्थलमा थप उडान आवश्यक रहेको उनी बताउँछन्।
  
नेपाल वायुसेवा निगमको हप्ताको एक उडान 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमको एक मात्र उडान छ। हरेक हप्ताको मंगलबार मलेसियाबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट उडान छ। 

उक्त विमान यहाँ यात्रु छाडेर काडमाडौं फर्किने गरेको छ। यसअगाडि जजिरा एयरले हप्तामा तीन उडान गर्दै आएको भए पनि अहिले जजिराले उडान स्थगित गरेको छ।