१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रासस जाजरकोट
२o८१ बैशाख १८ मंगलबार १२:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्णालीमा एक हजार २१ वटा झोलुंगे पुल निर्माण

Read Time : > 1 मिनेट
रासस, जाजरकोट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:३३:oo

कर्णालीका १० जिल्लामा एक हजारभन्दा बढी झोलुंगे पुल निर्माण भएका छन् । कर्णाली प्रदेश सरकार, संघीय ससर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएका हुन् ।

भौगोलिक विकटताको प्रतिबिम्ब रहेको कर्णालीमा विगतदेखि हालसम्म सो संख्यामा पुल निर्माण सम्पन्न भएको हो । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म कुल २७ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । चालू आवमा ९४ वटा पुल निर्माण गर्ने सरकारको योजना छ ।

गत आवबाट दायित्व सरेका, टेन्डर भएका तर पूरा नभएका पुलको संख्या भने एक सय ५३ छ । यी सबै पुल निर्माणाधीन छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयको आर्थिक सहयोग तथा प्रादेशिक प्राविधिक सेवा प्रदायक संस्था हुरुन्डेक कालिकोट र सेवक कैलालीको प्राविधिक सेवामा कर्णालीका १० वटै जिल्लामा झोलुंगे पुल निर्माण गर्न लागिएको हो ।

आव ०७८/७९ मा ७७ वटा पुल निर्माण भएका थिए भने आव ०७९/८० मा एक सय सातवटा गरी हालसम्म दुई सय ११ वटा पुल निर्माण गरिएको पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ । प्राविधिक सहयोगकर्ता संस्थाका तर्फबाट कार्यक्रम संयोजक प्रयोग आचार्यका अनुसार चालू आवमा थप एक सय ५३ वटा पुल निर्माणाधीन छन् । आव ०७८/७९ मा संघीय ससर्त अनुदानबाट ६५ वटा पुल निर्माण भए भने प्रदेश सरकारबाट १२ वटा पुल निर्माण भएका थिए ।

आव ०७९/८० कुल निर्माण भएका एक सय सातवटा पुलमध्ये संघीय ससर्त अनुदानअन्तर्गत पालिकाबाट ७४ वटा, प्रदेश सरकारमार्फत ३२ वटा र डोल्पाको काइके गाउँपालिकाले आफ्नै स्रोतबाट एउटा पुल निर्माण गरेको हो ।

अब कर्णाली प्रदेशका १० वटै जिल्लाबाट थप एक हजार पुल आवश्यक परेको भन्दै ७९ वटै पालिकाबाट प्रदेश सरकार र संघीय सरकारमा माग भएको आचार्यले बताए। उनका अनुसार ०७९ चैतमा स्थानीय पूर्वाधार विभाग हरिहर भवन ललितपुरमा हुम्लाका स्थानीय तहले ५३ वटा, मुगुले ३९ वटा, डोल्पाले ६५ वटा, जुम्लाले ९४ वटा र कालीकोटका पालिकाले ८६ वटा पुल निर्माण आवश्यक रहेको भन्दै माग पेस गरेका थिए ।

यसैगरी, दैलेखमा ९८, सुर्खेतमा एक सय ३१, सल्यानमा ३९, रुकुम पश्चिममा २३ र जाजरकोटका पालिकाले ६७ गरी कुल ६ सय ९५ वटा पुल निर्माण गर्न उक्त विभागमा माग गरेका थिए । यसबाहेक प्रदेश सरकारले समेत झोलुंगे पुल निर्माणमा चासो देखाइरहेका कारण थप दुई सय ९५ वटा पुल निर्माणका लागि यहाँ माग भइआएको हो । यी पुल निर्माण सम्पन्न भएको खण्डमा कर्णालीमा नागरिकलाई आवतजावत गर्न समस्या नहुने स्थानीय तथा प्रदेश सरकारको बुझाइ छ । यसका लागि कम्तीमा पनि रु. पाँच अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । प्रदेश सरकारले झोलुंगे पुल निर्माणका लागि गत आर्थिक वर्षको असार मसान्तसम्म कुल रु. १७ करोड ६६ लाख १५ हजार खर्च गरेको छ भने संघीय सरकारले रु. २४ करोड ८३ लाख २० हजार पाँच सय खर्च गरेको छ ।

यस्तै, आव ०७८/७९ मा संघीय सरकारले रु. २७ करोड आठ लाख सात हजार विनियोजन गरेको थियो । प्रदेश सरकारले रु. १९ करोड २२ लाख ५० हजार विनियोजन गरेकामा रु. ६ करोड खर्च गरेको गरेको छ भने स्थानीय तहहरूले रु. १३ करोड दुई लाख ७९ हजार विनियोजन गरेकामा रु. सात करोड नौ लाख ६८ हजार खर्च गरेका छन् ।

ad
ad