Skip This
कालिका सहकारी ठगी प्रकरण : घिमिरेदम्पती दश दिनदेखि फरार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 27 July, 2024
शान्ता कमली काठमाडाैं
२o८o मङ्सिर २१ बिहीबार o९:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कालिका सहकारी ठगी प्रकरण : घिमिरेदम्पती दश दिनदेखि फरार

Read Time : > 1 मिनेट
शान्ता कमली, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार o९:४८:oo

लमजुुङ सदरमुकाम बेँसीसहरमा मुख्य कार्यालय रहेको कालिका बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको मुद्दामा सातजना सञ्चालक पक्राउ परे पनि मुख्य दोषी भनिएका दुईजना १० दिनदेखि फरार छन् ।

बचतकर्ताको निक्षेप फिर्ता दिन नसकेपछि सहकारीका अध्यक्षसहित ६ जनालाई १० मंसिर र एकजनालाई १७ मंसिरमा प्रहरीले पक्राउ गरेको थियो । तर, मुख्य दोषी देखिएका तत्कालीन कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मृगेन्द्र घिमिरे र सहकारीकी कोषाध्यक्षसमेत रहेकी उनकी श्रीमती विनिता घिमिरे फरार छन् ।

३५ भन्दा बढी निक्षेपकर्ताले बचत फिर्ता नपाएको निवेदन दिएपछि प्रहरीले ३ कात्तिकमा सूचना जारी गरी १० मंसिरभित्र बचतकर्तालाई उजुरी दिन आग्रह गरेको थियो । सूचनाको म्याद सकिएको दिन सहकारीका अध्यक्ष शिवराम सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्ण केसी, सदस्य मिलन शर्मा दनाई, प्रमुख कार्यकारी अधिकृत वेदराज खनियाँ र लेखापरीक्षक महेन्द्र शर्मा पौडेल पक्राउ परेका थिए । कालिका बचत तथा ऋण सहकारी संस्थासम्बद्ध थप २६ जनालाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएपछि सहकारीका सदस्य हरिबाबु थापा पक्राउ परेका छन् । 

सहकारी रजिस्ट्रार कार्यालयले गरेको कालिका बचत तथा ऋण सहकारी संस्थाको आर्थिक गतिविधि तथा वित्तीय विवरण सम्बन्धमा गरिएको छानबिनउपर रायसहितको प्रतिवेदनमा घिमिरेदम्पतीलाई मुख्य दोषी देखाएको थियो । मुख्य दोषीलाई पक्राउ नगरी आफूहरूलाई मात्रै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको भन्दै थुनामा रहेकाले असन्तुष्टि व्यक्त गरेका छन् । थुनामा रहेका मिलन शर्मा दनाई मुख्य दोषी समातिनुपर्ने र न्यायिक छानबिनको माग राख्दै अनशन बसेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले फरार रहेकाको खोजी तीव्र पारिएको बताए ।

बेँसीसहर नगरपालिका– ८ शेरामा कार्यालय रहेको कालिका सहकारीको मध्यनेपाल नगरपालिका– ७ मा रामबजार सेवा केन्द्र, सुन्दरबजार नगरपालिका– ८ मा सुन्दरबजार सेवा केन्द्र, दोर्दी गाउँपालिका– ४ मा दोर्दी सेवा केन्द्र छन् । सहकारीको चार हजार पाँच सय नौजना सेयर सदस्य रहेको र सेयर रकम दुई करोड ११ लाख नौ हजार सात सय रुपैयाँ रहेको सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।