१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २० बुधबार o८:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विपिन जोशीको अवस्था अझै अज्ञात : रिहाइको पहल गरिदिन पुन: कतारसँग आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार o८:५३:oo

परराष्ट्रमन्त्री एनपी साउद र कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारी मंगलबार सिंहदरबारमा छलफल गर्दै ।

परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन पुनः कतार सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग साउदले मंगलबार परराष्ट्र मन्त्रालयमा यस्तो आग्रह गरेका हुन् । जोशीको अवस्था अझै अज्ञात छ । 

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन कतार सरकारलाई परराष्ट्रमन्त्रीले आग्रह गरेका छन् । जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको जानकारी दिए । उनले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाको रिहाइका लागि समेत कतारले प्रयास जारी राखेको बताए । 

‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ । परिस्थिति जटिल छ । यद्यपि, अर्को युद्धविरामका लागि पहल भइरहेको छ,’ राजदूत अन्सारीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘हामी बन्दी छुटाउनका लागि पनि प्रयासरत छौँ ।’ 

परराष्ट्रमन्त्री साउदले यसअघि ८ मंसिरमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीको नेपाल भ्रमणका क्रममा भएको भेटमा जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । परराष्ट्रमन्त्रीले ७ मंसिरमा नेपालका लागि इजरायली राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका विषयमा कुराकानी गरेका थिए । 

परराष्ट्रमन्त्री साउद १० डिसेम्बरदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागी हुँदै छन् । त्यस क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउन लागेको उनको सचिवालयले जनाएको छ । 

गाजा क्षेत्रमा इजरायल र हमास समूहबीच भएको युद्धविराम सम्झौतापछि रिहाइ हुने प्रतीक्षामा रहेका विपिन जोशी अझै बेखबर छन् । उनी हमास समूहको नियन्त्रणमा रहेको पुष्टि भए पनि उनीसँग कसैको सम्पर्क भएको छैन । युद्धविराम सम्झौताको चौथो दिनसम्म उनी रिहा भएका छैनन् । ‘हामी विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ । उपलब्ध सबै कूटनीतिक च्यानलको प्रयोग भएको छ । उहाँको रिहाइका लागि प्रतीक्षारत छौँ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘विपिन जोशीको रिहाइका लागि हरसम्भव प्रयत्न भइरहेको छ ।’ 

युद्धविराम सम्झौताको चौथो दिनसम्म ५८ जना विदेशीलाई हमास समूहले मुक्त गरिसकेको छ । तर, नेपालका जोशी रिहा हुने विषयमा सरकारदेखि परिवार बेखबर छ । ‘परराष्ट्रमन्त्रीज्यू विपिन जोशीको रिहाइका लागि दिनरात मिहिनेत गरिरहनुभएको छ । सबै कूटनीतिक च्यानलमा, राजनीतिक नेतृत्वसँग प्रयास गरिरहनुभएको छ,’ परराष्ट्रमन्त्रीका स्वकीय सचिव दीपक जोशीले भने । 

कञ्चनपुरका जोशी २० असोजदेखि गाजा क्षेत्रमा हमास समूहको नियन्त्रणमा छन् । हमास समूहको आक्रमणमा गत २० असोजमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने त्यही दिनदेखि कञ्चनपुरका जोशी बेपत्ता थिए । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । आक्रमण हुँदा साथमा रहेका नेपाली विद्यार्थीका अनुसार जोशीलाई हमास समूहले सँगै लगेको छ । इजरायल, कतार र इजिप्टस्थित नेपाली दूतावासले ती देशहरूमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास जारी राखेका छन् । 

हमास समूहले हालसम्म ८३ जना इजरायली तथा २३ जना थाई र एकजना फिलिपिनो गरी जम्मा एक सय सात नागरिकलाई रिहा गरेको अल जजिराले जनाएको छ । इजरायलले दुई सय ५० जना प्यालेस्टाइनीलाई रिहा गरेको छ । हमास समूहले दुई सय ४० भन्दा बढीलाई नियन्त्रणमा लिएको र एक सय ४० जनाभन्दा बढी उसको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, आधिकारिक तथ्यांक कसैले सार्वजनिक गरेका छैनन् ।