मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १४ सोमबार
  • Monday, 26 February, 2024
२०८० मङ्सिर १९ मंगलबार २०:३६:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

पुटिनले बुधबार साउदी अरब र युएईको भ्रमण गर्ने

Read Time : > 1 मिनेट
२०८० मङ्सिर १९ मंगलबार २०:३६:००

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्ने क्रेमलिनले बताएको छ। मस्कोले युक्रेन द्वन्द्वमा पश्चिमबाट अलग्गिए पनि विदेशमा सहयोगीहरूबाट सहयोग पाउने प्रयत्न गरेको छ। 

युक्रेनमा सेना परिचालन गरेपछि पुटिनले आफ्नो अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरेका छन्। र, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले उनीमाथि युक्रेनी बालबालिकालाई निर्वासित गरेको आरोप लगाउँदै गिरफ्तारीको वारेन्ट जारी गरेको छ। 

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मंगलबार पत्रकारहरूसँग भने, ‘राष्ट्रपति पुटिनले बुधबार संयुक्त अरब इमिरेट्स र साउदी अरबको कार्य भ्रमणमा जानुहुनेछ।’ 

साउदी अरबमा पुटिनले क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग व्यापार, अन्तर्राष्ट्रिय राजनीति र मानवीय सहयोगमाथि छलफल गर्नुहुने क्रेमलिनले घोषणा गरेको छ। 

उनले व्यापार, ऊर्जा, पर्यटन र शिक्षाका विषयमा युएईमा आफ्ना समकक्षी शेख मोहम्मद बिन जायद अल नाहयानसँग छलफल गर्नेछन्। क्रेमलिनले इजरायल र हमासबीचको द्वन्द्व दुवै बैठकका एजेन्डा हुने बताएको छ। 

युएईले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप२८) को आयोजन गरिरहेको छ, तर पुटिनले कुनै पनि सम्बन्धित कार्यक्रममा भाग लिने कि नलिने भनेर क्रेमलिनले निर्दिष्ट गरेको छैन।

सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि ठूलो स्तरमा शत्रुता सुरु गरेदेखि पुटिन विदेशमा धेरै उच्चस्तरीय बैठकहरूमा सहभागी भएका छैनन्। उनी सेप्टेम्बरमा व्यक्तिगत रूपमा प्रमुख जी २० शिखर सम्मेलनमा पनि सहभागी भएनन्। यद्यपि, उनले नोभेम्बरमा एउटा भर्चुअल जी२० बैठकमा भाग लिएका थिए। 

मार्च महिनादेखि आइसिसीले पुटिनलाई खोज्दै आएको छ। आफ्नो मुलुकमा प्रवेश गरेमा पुटिनलाई आइसिसी सदस्य राष्ट्रहरूले गिरफ्तारी वारेन्टलाई पालना गर्ने अपेक्षा गरिएको छ। आइसिसीको स्थापना सन्धिमा युएई र साउदी अरब दुवै मुलुकले हस्ताक्षर नगरेकाले उनलाई त्यहाँ गिरफ्तार गरिनेछैन। 

राष्ट्रपति पुटिनले अक्टोबरमा चीनको भ्रमण गरेका थिए। यस वर्ष पूर्वसोभियत संघबाहिर यो उनको पहिलो भ्रमण थियो। धेरै दिनअघि आइसिसीले वारेन्ट जारी गरेपछि उनी पहिलो विदेश भ्रमणका रूपमा पूर्वसोभियत किर्गिस्तान गएका थिए।

यो साता पुटिनको भ्रमणपछि बिहीबार उनले इरानका राष्ट्रपति इब्राहिम रायसीलाई भेट्ने अपेक्षा गरिएको छ। रुसले इरानसँगको आर्थिक तथा सैन्य सम्बन्धलाई बलियो बनाइरहेको छ। इरानलाई पनि पश्चिमी प्रतिबन्धको निशाना बनाइएको छ। 

पश्चिमी मुलुकहरूले तेहरानमाथि ठूलो मात्रामा ड्रोन र अन्य हतियार उपलब्ध गराएर युक्रेनमा रुसको आक्रमणलाई समर्थन गरेको आरोप लगाएका छन्। राष्ट्रपति पुटिनले गत वर्ष जुलाईमा इरानको भ्रमण गरेका थिए। र, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले क्षेत्रीय समकक्षीहरूसँग छलफल गर्नका लागि अक्टोबरमा तेहरानको भ्रमण गरेका थिए।

इरानको आधिकारिक समाचार एजेन्सी इर्नाले पुटिनको निमन्त्रणापछि रायसीले मस्कोको भ्रमण गर्ने बताइएको छ। ‘एकदिवसीय भ्रमणको शीर्ष एजेन्डामा आर्थिक अन्तर्क्रियासहित द्विपक्षीय मुद्दाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरू विशेष रूपमा गाजाको स्थितिमा छलफल हुनेछ,’ इर्नाले भनेको छ। 

मस्कोले इजरायल र हमासबीचको लामो समयदेखि चलिरहेको द्वन्द्व समाधान गर्न असफल भएकामा अमेरिकालाई दोष दिएको छ। साथै, इजरायल र हमास दुवैसँग सम्बन्ध कायम राखेको रुसले स्वयंलाई एउटा सम्भावित मध्यस्थकर्ताका रूपमा राखेको छ।