
बच्चालाई आत्मविश्वासी बनाउन अभिभावकले केही कुरामा ख्याल गर्नुपर्ने हुन्छ । जब अभिभावकले अति माया गर्छन्, तब बच्चामा पनि आत्मविश्वास विकास हुन्छ ।
बालबालिकाले के गर्दै छन् भन्नेबारे जानकार हुनु राम्रो हो । तर, उनीहरूलाई अति निगरानीमा राख्नु पनि राम्रो हुँदैन । उमेर बढ्दै गएपछि बिस्तारै उनीहरूलाई केही न केही काममा संलग्न गराउँदै लैजानुपर्छ । सानैदेखि ब्रस गर्ने, हात धुनेलगायत काम आफैँ गर्न उत्प्रेरित गर्नुपर्छ ।
बच्चाले गरेका कामको प्रशंसा गर्न सक्नुपर्छ । बच्चाहरू धेरै जिज्ञासु हुन्छन् । उनीहरूले सोधेका कुराले कहिलेकाहीँ अभिभावकलाई झर्को पनि लाग्न सक्छ । तर, त्यसरी झर्को लागेजस्तो व्यवहार देखाउनुहुँदैन । आवश्यक होस् वा अनावश्यक, बच्चाले राखेका हरेक जिज्ञासाको जवाफ दिने कोसिस गर्नुपर्छ । उनीहरूका कुरा नसुन्नु वा आफ्ना कुरा मात्रै सुनाउन खोज्नु राम्रो होइन । यसले बच्चाको भावना र आत्मविश्वास कम गराउन सक्छ ।
बच्चाको पहिलो शिक्षक नै अभिभावक हुन् । जीवनमा सफलता र असफलता चलिरहन्छ भनेर उनीहरूलाई सानैदेखि बुझाउन जरुरी छ । कुनै कुरा असफल भए पनि त्यसलाई सुधार्न र सम्हाल्न सकिन्छ भनेर बुझाउन जरुरी छ । उनीहरूलाई निरन्तर आफ्नो लक्ष्यमा लाग्नका लागि उत्प्रेरित गर्नुपर्छ ।
बालबालिकाको मनोविज्ञानबारे धेरै पुस्तक लेखिसकेका मनोविद् कार्ल पिकहार्डट् भन्छन्, ‘आत्मविश्वासी बच्चाहरू नयाँ प्रयोग गर्न वा चुनौती स्विकार्न चाहन्छन्, । तसर्थ उनीहरूलाई आत्मविश्वासी बनाउन अभिभावकले भूमिका खेल्नुपर्छ ।’