१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर १९ मंगलबार o८:१३:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतमा विधान सभा निर्वाचन : मिजोरममा जेडपिएमको प्रस्ट बहुमत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार o८:१३:oo

भारतीय राज्य मिजोरमको विधान सभा निर्वाचनमा जोरम पिपुल्स मुभमेन्ट (जेडपिएम)ले सरकार गठन गर्ने भएको छ । कुल ४० सिट रहेको यस राज्यमा जेडपिएमले २५ सिट जितेको छ भने दुई स्थानमा अगाडि छ । मिजोरममा सरकार बनाउन २१ सिट आवश्यक पर्छ ।जेडपिएम सन् २०१७ मा स्थापना भएको ६ दलीय नयाँ राजनीतिक मोर्चा हो ।

भाजपाको क्षेत्रीय सहयोगी दल तथा सत्तारुढ मिजो नेसनल फ्रन्ट (एमएनएफ)ले नराम्रो पराजय भोगेको छ । एमएनएफले १० सिट मात्र ल्याएको छ । यो अघिल्लो निर्वाचनमा भन्दा १७ सिट कम हो । चुनावमा एमएनएफका प्रमुख तथा वर्तमान मुख्यमन्त्री जोरमथंगा पराजित भएका छन् । सन् १९८७ मा भारतको २३औं राज्यका रूपमा स्थापित भएको मिजोरममा जेडपिएमले पहिलो पटक सरकार बनाउन लागेको हो ।

जेपीएमबाट सेर्छिप क्षेत्रबाट निर्वाचन जितेका लाल्दुहोमा मुख्यमन्त्रीका दाबेदार रहेका छन् । यस राज्यमा भाजपा र कंग्रेस क्रमशः दुई र एक सिटमा सीमित भएका छन् । यसअघि सोमबार सार्वजनिक भएको अन्तिम मत परिणाममा सत्तारुढ दल हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले महत्वपूर्ण सफलता प्राप्त गरेको थियो । भाजपा तीन राज्यमा विजयी भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले भारतीय राष्ट्रिय कंग्रेसबाट छत्तीसगढ र राजस्थान राज्यको नियन्त्रण खोसेको छ र कीर्तिमानी पाँचौँ कार्यकालका लागि मध्यप्रदेशमा पुनः विजय हासिल गरेको छ । 

कंग्रेसले तेलंगना राज्यमा जित हासिल गरेको छ । तेलंगनामा भाजपको विरोध गर्ने पार्टीका रूपमा चिनिएको तेलंगना राष्ट्र समितिको शासन छ ।

भाजपामा हर्षोल्लास, राहुलले स्विकारे पराजय
प्रधानमन्त्री मोदीले आफ्नो पार्टी विजयी भएका राज्यहरूमा ‘मतदाताको अटुट समर्थन’का लागि मतदातालाई धन्यवाद दिएका छन् । ‘छत्तीसगढ, मध्यप्रदेश र राजस्थानको नतिजाले भारतीय जनता सुशासन र विकासको राजनीतिमा दृढ छन् भन्ने संकेत गर्छ । सुशासन र विकासका लागि भाजपा खडा छ,’ सामाजिक सञ्जाल एक्समा मोदीले भने ।

विजयी भएको खुसियालीमा भाजपाका केही कार्यकर्ताले मोदीको मुखुन्डो लगाएर नाचेका थिए भने मिठाइ बाँड्दै खुसीको प्रतीकका रूपमा एक–आपसमा रङ दलेका थिए । करिब एक दशक सत्तामा रहेका मोदी र उनको पार्टी राष्ट्रियस्तरमा लोकप्रिय भएको छ । उनले सन् २०२४ मा लगातार तेस्रोपटक जित हासिल गर्ने सर्वेक्षणले देखाएका छन् । 

यद्यपि, इन्डिया भनिने २८ विपक्षी दलहरूको नयाँ गठबन्धनबाट मोदीको पार्टीलाई राष्ट्रियस्तरमा चुनौती हुने अपेक्षा गरिएको छ । इन्डियाको नेतृत्व कंग्रेसले गरेको छ । निर्वाचनअघि मतदातालाई आकर्षित गर्नका लागि मोदी र गान्धी दुवैजना पाँचै राज्यमा पुगेका थिए । उत्साहपूर्ण निर्वाचन अभियानमा दुवै नेताले मतदातालाई अनुदान, ऋण मिनाहा र रोजगारीको प्रत्याभूति दिएका थिए ।

यसैबीच, कंग्रेस नेता राहुल गान्धीले तीन राज्यमा हार स्वीकार गरे । ‘विचारको लडाइँ जारी रहनेछ,’ तेलंगनाका जनतालाई धन्यवाद दिँदै राहुलले लेखेका छन् ।