१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Friday, 09 May, 2025
इलामका खेलाडीविरुद्ध बल खोस्ने प्रयासमा बुटवलका खेलाडी (सेतो), फ्री किकमा गोल गरेपछि बुटवलका एरिक विष्ट (इन्सेट) । तस्बिर : नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८o मङ्सिर १८ सोमबार o८:२७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : एरिकको उत्कृष्ट फ्री किक गोल

मिडफिल्डर एरिक विष्टले ३५ यार्ड टाढाबाट उत्कृष्ट फ्री किक गोल गरेपछि इलाममाथि बुटवलको २–१ को जित

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार o८:२७:oo

कप्तान एरिक विष्टले करिअरकै चौथो उत्कृष्ट फ्री किक गोल गरेपछि बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा भएको आइतबार दोस्रो सिजनको एनएसएलमा बुटवलले स्पोर्टिङ इलाम एफसीलाई २–१ ले हराउँदै पहिलो जित निकालेको हो । बुटवलको जितमा एरिक नायक बने । उनले चालू एनएसएलकै उत्कृष्ट गोल गरे । एन्फा एकेडेमीका उत्पादक एरिकले करिअरकै स्मरणीय गोल रहेको बताएका छन् । 

खेलको ८८औँ मिनेटमा बुटवलले पोस्टभन्दा करिब ३५ यार्ड टाढाबाट फ्री किक प्रहार गर्ने अवसर पायो । मार्की खेलाडीसमेत रहेका एरिकले फ्री किक प्रहार गर्दा गोलरक्षक विकेश कुथूलाई छेक्ने अवसर नदिई नै दोस्रो बारको कुना च्याप्दै उत्कृष्ट गोल गरे । 

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबमा हुँदा पनि एरिकले यस्तै फ्री किक गोल गरेका थिए । उनले इलामविरुद्धको गोललाई सम्भवत करिअरकै उत्कृष्ट गोलका रूपमा लिएका छन् । ‘करिअरमा यस्तो फ्री किक चौथोेपटक पूरा गरेको हुँ, त्यसमध्ये यो गोल सबैभन्दा उत्कृष्ट लाग्छ,’ एरिकले भने । ‘ए’ डिभिजन लिगमा डेब्यु गरेको सिजनमै चर्च ब्वाइजलाई लिग च्याम्पियन बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एरिकले ०७८ को लिगमा न्युरोड टिम (एनआरटी)बाट खेल्दा तत्कालीन साबिक विजेता मच्छिन्द्र फुटबल क्लबविरुद्ध पनि यस्तै गोल गरेका थिए । 

संयोग दुवै गोल दशरथ रंगशालामा दक्षिणतर्फको पोस्टमा भएको थियो, जुन गोल गर्दा मच्छिन्द्रको गोलरक्षक विशाल श्रेष्ठ थिए । यसपटक विकेश कुथू रहे । दुवै गोल गर्दाका किपर राष्ट्रिय टोलीका हुन् । ‘आज विकेश दाइविरुद्ध भयो, त्यसवेला विशाल दाइविरुद्ध गरेको थिएँ, त्यो गोलभन्दा आजको उत्कृष्ट लाग्यो,’ एरिकले भने । त्यसअघि एरिकले बाँसबारीबाट बी डिभिजन लिग खेल्दा यसै किसिमका दुई उत्कृष्ट फ्री किक गोल गरेका थिए ।

सातदोबाटोस्थित एन्फा मैदानमा मध्यपुर युथ एसोसिएसन र एनआरटीविरुद्ध उनले फ्री किक गोल गरेका थिए । स्वामित्व परिवर्तनसँगै बुटवल लुम्बिनीले एरिकलाई मार्की बनाएको हो । चलनचल्ती र नेपालमै खेलिरहेका विदेशी खेलाडीलाई समेट्दै बुटवलले टिम बनाएको छ । लगातार दोस्रो खेलमा पराजित बुटवल तेस्रो खेलमा पराजित भए प्लेअफबाट टाढा हुने थियो ।

एरिक नायक हुँदा बुटबलले प्लेअफको सम्भावना कायमै राखेको छ । ‘फ्री किक हान्दा सधैँ गोल हुँदैन, तर आज सफल भएको छु,’ उनले भने, ‘प्रहार गर्दा दबाबमा थिएँ । खेल जित्दा खुसी लाग्यो ।’ एरिकले दुई वर्षअघि बंगलादेशविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसयता २४ खेल खेल्दा राष्ट्रिय टोलीमा भने उनी गोलविहीन छन् । 

बुटवलको पहिलो जित
बुटबलले एनएसएलको १२औँ खेलमा पहिलो जित निकालेको छ । बुटवलका लागि थप एक गोल स्टेफन बिनोङले गरे । इलामका अमाथ ड्वले एक गोल फर्काएका थिए । जितसँगै बुटवलले प्रतियोगितामा तीन खेलबाट ३ अंक जोडेको छ । यसअघि पहिलो खेलमा ललितपुरसँग २–० ले पराजित बुटवलले दोस्रो खेलमा धनगढीविरुद्ध १–० को हार बेहोरेको थियो । 

प्रतियोगितामा इलामको यो दोस्रो हार हो । उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग १–० ले हारेको इलाम दोस्रो खेलमा नयाँ टोली झापा एफसीलाई १–० ले हराउन सफल भयो ।जितपछि बुटवलका प्रशिक्षक विजय महर्जन जित एकदमै आवश्यक रहेको जनाउँदै ३ अंक हासिल गर्दा दंग परेका छन् । ‘आज जित एकदमै आवश्यक थियो । ३ अंक जसरी पनि चाहिएको थियो,’ उनले भने, ‘खेलाडीले धेरै राम्रो खेलेका छन्, एरिकको विश्वस्तरीय गोल नै जितको आधार बन्यो ।’ इलामका प्रशिक्षक मेघराज केसीले खेलाडी गम्भीर नभएको र फिनिसिङ नभएको प्रतिक्रिया दिए । ‘हाम्रो खेल राम्रो थियो, खेलाडीले स्कोर गर्न नसक्नु दुर्भाग्य हो,’ उनले भने, ‘खेलमा अवसर बनाउनु ठूलो कुरा हो र भाग्यले पनि साथ दिएन, खेलाडी गम्भीर नभएर स्कोरमा समस्या भयो ।’ 

स्टेफनको अग्रता
खेलको पहिलो हाफ गोलरहितमा सकियो । दोस्रो हाफमा दुवै टोली आक्रामक देखिए । दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै विदेशी खेलाडी स्टेफन बिनोङले बुटवललाई १–० को अग्रता दिलाए । राष्ट्रिय टोलीका स्ट्राइकर जिलेस्पीजंग कार्कीले मिलाएको पासलाई सिक्स यार्ड बक्समा अनमार्क रहेका बिनोङले गोल गरे । 

इलामका अमाथ ड्वले ७८औँ मिनेटमा १–१ को बराबरीमा ल्याएका थिए । खेलको ५८औँ मिनेटमा इलामले पेनाल्टी पायो । तर, फोडे कामाराले पेनाल्टी सदुपयोग गर्न सकेनन् । डिबक्सभित्र अर्नेस्ट टाम्पीले ह्यान्ड गरेपछि भारतीय रेफ्री राम दासनले इलामलाई पेनाल्टी दिएका थिए । कामाराले बायाँतर्फ गरेको प्रहारलाई बुटवलका गोलरक्षक मोहमोडोउले विफल तुल्याए ।