मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १८ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १८ सोमबार o७:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भूकम्पपीडितका साढे ३२ हजार अस्थायी आवास बनाउन सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १८ सोमबार o७:२४:oo

भूकम्प प्रभावित चार जिल्लामा साढे ३२ हजार अस्थायी आवासका लागि सम्झौता भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार आइतबारसम्म रुकुम पश्चिम, जाजरकोट, बझाङ र बाजुरामा ३२ हजार पाँच सय एक अस्थायी आवासका लागि पालिका र लाभग्राहीबीच सम्झौता भएको हो ।

हालसम्म सबैभन्दा धेरै सम्झौता गर्नेमा रुकुम पश्चिमका पालिका छन् । यहाँ लाभग्राही कायम भएका २६ हजार पाँच सय ३१ घरपरिवारमध्ये १४ हजार दुई सय २४ ले सम्झौता गरेका छन् । जाजरकोटमा ३४ हजार पाँच सय एकमध्ये १३ हजार सात सय १८ ले सम्झौता गरेका छन् । 

बझाङमा १२ हजार पाँच सय ५९ घरपरिवारमध्ये दुई हजार चारले सम्झौता गरेका छन् । बाजुरामा पाँच हजार सात सय ७२ मध्ये दुई हजार पाँच सय ५५ले सम्झौता गरेको प्राधिकरणले जनाएको छ । भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० अनुसार पालिकाले अस्थायी आवासका लागि लाभग्राहीसँग सम्झौता गरेपछि जिल्लास्थित विपत् व्यवस्थापन समितिले अनुदानको पहिलो किस्ताबापत प्रतिपरिवार २५ हजारका दरले निकासा गर्छ । 

यी चार जिल्लामा हालसम्म १८ हजार तीन सय २८ लाभग्राहीका लागि ४५ करोड ८२ लाख निकासा भइसकेको छ । स्थानीय विपत् समितिमा निकासा भएको अनुदान लाभग्राहीको खातामा जम्मा गर्न थालिएको छ । बैंक खाता नरहेकालाई भने नगद दिइने गरिएको छ । विपत् प्राधिकरणले अस्थायी आवासका लागि पहिलो किस्ताबापत रुकुम पश्चिम र जाजरकोटमा ५०–५० करोड, बझाङमा २५ करोड, बाजुरामा १४ करोड र सल्यानमा दुई करोड गरी एक अर्ब ४१ करोड ४ मंसिरमा निकासा गरेको थियो । 

दोस्रो किस्ताबापतको थप २५ हजार भने घरको छानो हाल्ने तहसम्म पुगेपछि वा निर्माण सकिएपछि मात्र पाइनेछ । सल्यानमा एक हजार चार सय ८५ लाभग्राही कायम भए पनि अझै अनुदान निकासा भएको छैन । १७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको र १६ असोजमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएका थिए । 

हालसम्म प्राप्त विवरणअनुसार पाँच जिल्लामा प्रभावित घरपरिवार संख्या (अस्थायी आवास निर्माण गर्नुपर्ने) ८० हजार आठ सय ४८ पुगेको छ । ०७८ को जनगणनाअनुसार रुकुम पश्चिम, जाजरकोट, सल्यान, बझाङ र बाजुरामा एक लाख ८७ हजार ८० घरधुरी संख्या छ ।