१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १७ आइतबार
  • Monday, 01 July, 2024
२o८o मङ्सिर १७ आइतबार o९:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

अघोषित ‘मिल्क होलिडे’ले मकवानपुरका किसान मर्कामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १७ आइतबार o९:४७:oo

हेटौँडा दुग्ध वितरण आयोजना र मकवानपुरका निजी क्षेत्रका डेरी उद्योगहरूले अघोषित ‘मिल्क होलिडे’ गरेपछि जिल्लाका दुग्ध उत्पादक किसान समस्यामा परेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरका व्यवस्थापक कुमारमणि दाहालले दुग्ध वितरण आयोजनासँगै निजी डेरी उद्योगहरूले दूध खरिद नगरिदिँदा समस्या परेको बताए ।

जिल्लामा प्रतिदिन ६० हजार लिटर दूध उत्पादन भए पनि ४० हजार लिटर मात्रै खपत हुने गरेको उनले जानकारी दिए । उनले भने, ‘अहिले दैनिक २० हजार लिटर दूध दैनिक खेर गइरहेको छ ।’ विभिन्न बहानामा उद्योगहरूले सातामा दुई दिन अघोषित ‘मिल्क होलिडे’ गरेको उनको भनाइ छ ।  

दुग्ध उत्पादक सहकारी संस्थाले जिल्लाका विभिन्न ६१ दुग्ध सहकारीमार्फत दैनिक ६० हजार लिटर दूध खरिद गरेर बिक्री गर्ने गरेको छ । त्यसमध्ये २० हजार लिटर जिल्लाभित्रै र बाँकी २० हजार लिटर दूध ललितपुर, भक्तपुर र काभ्रेमा खपत हुने गरेको छ ।

साताको दुई दिन ‘मिल्क होलिडे’ भएपछि मकवानपुरका झन्डै नौ हजार किसान समस्यामा परेका छन् । मिल्क होलिडे हुँदा महिनामा तीन करोड रुपैयाँको दूध खेर गइरहेको व्यवस्थापक दाहालले बताए । खेर गइरहेको दूध खरिद गर्न आग्रह गर्दै जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका निवर्तमान अध्यक्ष वासुदेव अधिकारी र व्यवस्थापक दाहाल काठमाडौं र पोखराका निजी डेरी उद्योगहरूमा धाइरहेका छन् ।   

यता हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख नवीन शर्माले मकवानपुरमा किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्न नसकिने बताउँछन् । उनले मकवानपुरसँगै बारा, पर्सा, रौतहट, सर्लाहीबाट पनि दूध संकलन गर्ने गरेको बताए । उद्योगको क्षमताअनुसार मात्रै दूध खरिद गर्नुपर्ने आफ्नो बाध्यता रहेको उनको जिकिर छ ।

यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा रहेको हेटौँडा डेरी इन्डस्ट्रिज प्राइभेट लिमिटेडकी मार्केटिङ अफिसर निशा रोक्काले केही समययता नचाहेरै पनि मिल्क होलिडे गर्नुपर्नेको बताइन् । दुग्धजन्य पदार्थको बिक्रीमा आएको कमीका कारण उत्पादन घटाउन स्वाभाविक रूपमा दूध खरिदमा कमी गरिएको उनको भनाइ छ । विगतमा दैनिक १२ देखि १५ हजारसम्म दूध र दुग्धजन्य उत्पादन बजारमा खपत हुने गरेकोमा अहिले आठ हजार लिटर दूध र दुग्धजन्य पदार्थ बजारमा खपत हुने गरेको उनले बताइन् ।

ad
ad
ad
ad