
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- ५ कुवा बस्ने ७० वर्षकी कान्छीमाया घलान रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
घलानलाई शनिबार साँझ काठमाडौंबाट मकवानपुरको चखेलतर्फ आउँदै गरेको बा.२ख ७२७२ नम्बरको बसले ठक्कर दिएको थियो । उनी सोही बसमा यात्रा गरी आएकी थिइन् ।
बसबाट झर्ने क्रममा बस एक्कासि अगाडि बढ्दा घलानलाई ठक्कर दिएर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।
बसको ठक्करबाट लडेकी घलानको शरीरको विभिन्न भागमा चोट लागेको र उनलाई तत्काल उपचारका लागि काठमाडौंस्थित बिएन्डबी अस्पताल पुर्याइएकोमा उपचारको क्रममा गएराति चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र बसका चालक मकवानपुको चखेल बस्ने २६ वर्षीय राजकुमार दोङलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शाहले बताए ।