१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:३५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिकता वितरण गर्न विकट गाउँगाउँमा पुगेर कागजात संकलन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३५:oo

सिराहाको धनगढीमाई नगरपालिका– १२ सिमलटोलकी ७८ वर्षीया रामसतीदेवी महतोले श्रीमान् रामेश्वर महतोको मृत्यु भएपछि छोराछोरीलाई हुर्काउने, घरव्यवहार हेर्ने जिम्मेवारीका कारण नागरिकता बनाउन पाइनन् । छोराछोरीको विवाह भएपछि दुईपटकसम्म नागरिकता बनाउन गए पनि ‘उमेर बढी छ, छानबिन गर्नुपर्छ’ भन्दै कर्मचारीले फर्काएपछि फेरि फर्केर गइनन् । ‘गाउँमा आफ्नो उमेरका वृद्धवृद्धाहरूले सरकारले दिने सामाजिक सुरक्षा भत्ता रकम पाएको देख्दै आएकी थिएँ,’ महतोले भनिन्, ‘आफ्नो भने नागरिकता नै नहुँदा समस्यामा परेकाले गाउँमा प्रशासनको टोली आएको सुनेर आएकी हुँ ।’ 

जिल्लाकै विकट मानिने धनगढीमाई नगरपालिकाको उत्तरी सीमा १४ नम्बर वडाको सर्रे अम्बासमा शनिबार जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयको टोली पुगेपछि महतोजस्ता सयौँ वृद्धवृद्धा, आपांगता भएका व्यक्ति, एकल महिलाले नागरिकताका लागि सनाखतसहितको कागजात बुझाए । धनगढीमाई नगरपालिका तथा लहानस्थित समग्र जनउत्थान केन्द्रको सहकार्यमा संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना २ अन्तर्गत शनिबार सर्रे अम्बासमा वडा नम्बर १२ , १३ र १४ नम्बर वडाका सेवाग्राहीका लागि आयोजित ‘नागरिकतामा पहुँच अभिवृद्धि’ कार्यक्रममा विभिन्न कारणले नागरिकता बनाउन नसकेका व्यक्तिहरूले नागरिकताका लागि निवेदन दिएका हुन् । 

नागरिकता बनाउन आवश्यक सनाखत, सर्जमिन मुचुल्कासहितको कागजात संकलन, जाँच र रुजु गर्न लहानस्थित इलाका प्रशासन कार्यालयका प्रमुख उपसचिव लीलाकान्त पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सिराहाका प्रशासकीय अधिकृत भवेशकुमार झासहितको कर्मचारीहरूको टोली खटिएको थियो । 

नागरिकताका लागि सनाखतसहितको कागजात तीनवटै वडाका एक सय ४६ जनाले बुझाएको प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार १२ नं. वडाका ४५, १३ नं. का १३ र १४ नं. का ८८ गरी एक सय ४६ जनाले नागरिकताका लागि बुझाएको कागजात रुजुसमेत गरिएको छ । ‘संकलित कागजातको आधारमा कार्यक्रमस्थलमै नागरिकता दिन सकिन्थ्यो, तर ढड्डा बोक्नुपर्ने, अनलाइन दर्ता गर्नुपर्ने र नागरिकता प्रिन्ट गर्न प्राविधिक समस्या भयो,’ उनले भने, ‘सनाखतसहितको कागजातको आधारमा प्रक्रिया पुर्‍याएर नागरिकता तयार गरी मंसिर मसान्तसम्म गाउँमै हस्तान्तरण गर्ने योजना छ ।’

नेपालको संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित नगरिने व्यवस्था गरिएको छ । विद्यमान कानुनी व्यवस्थाअनुसार नागरिकताबाहेक व्यक्तिको नागरिकताले आफ्नो वंशका आफन्तसहित पत्नी, सन्ततिको नागरिकता बन्ने आधार खडा गर्छ, तर पुस्तौँदेखि पुर्खाको थातथलोमै बस्दै आएका मुसहरहरू नागरिकतताविहीन अवस्थामा छन् ।

केन्द्रका अनुसार चार वर्षअघिसम्म धनगढीमाई नगरपालिकाको ३, ६, ९, ११ र १२ गरी पाँचवटा वडाका नौवटा टोलबस्तीमा बसोवास गर्दै आएका दुई सय १२ घरधुरी मुसहर घरघुरीका १८ वर्षमाथिका कुल ६ सय ६७ जनसंख्यामध्ये ३६ प्रतित अर्थात् दुई सय ३८ जनाले नागरिकता नपाएको केन्द्रले जनाएको छ । 

धनगढीमाई नगरकी उपप्रमुख संगीता चौधरी भन्छिन्, ‘मजदुरी गरेर जीविका धान्ने मुसहर समुदाय नागरिकताका लागि चाहिने कागजात जुटाउन मजदुरी नै छोड्नुपर्ने र चार पाँच पुस्तासम्म नागरिकता नै नहुने भएकाले आवश्यक प्रमाण जुटाउन सक्दैनन् । दौडधुप गरेर प्रमाण जुटाएकाहरूले पनि इलाका प्रशासनसम्म आवत जावत गर्न आर्थिक रूपमा कठिनाइ झेल्नुपर्दा एकाधपल्टको प्रयास गरेर त्यतिकै छोड्ने भएकाले गाउँमै नागरिकताका लागि प्रयास गरिएको हो ।’ 

अप्ठ्यारोमा अपांगता भएकी युवती 
धनगढीमाई नगरपालिका– १२ असारी बजारकी करिब २३ वर्षीया विमला लामा प्यारालाइसिस भएर खुट्टा नचल्दा हिँड्डुल गर्न सक्दिनन् । कृष्णबहादुर घलान र कौशिल्या लामाकी जेठी छोरी विमला खुट्टा नै नचल्ने भएपछि पढ्न त पाइनन् नै, नागरिकता नबन्दा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित भएपछि आमासँग टेम्पो चढेर नागरिकता बन्ने आसमा सर्रे अम्बास पुगिन् । 

बाबु र आमा दुवैको नागरिकता नभएकाले जन्मदर्तासमेत नहुँदा उनको कागजात नै तयार नभएपछि अरूले फारम भरेको टुलुटुलु हेरिरहेकी थिइन् । ‘करिब १५ वर्षअघि मकवानपुरतिरबाट बसाइँ सरेर आएका हौं, श्रीमान्को समेत नागरिकता नहुँदा हिँडडुलसमेत गर्न नसक्ने जेठी छोरीको कागजात नै तयार भएन,’ कोशिल्याले दुखेसो पोखिन् । धनगढीमाई–१३ का वडाध्यक्ष सूर्यमान तामाङले कुनै कागजात प्रमाण नभएका, तर वर्षौंदेखि वडा क्षेत्रमा बसिरहेकाहरूको हकमा नागरिकताका लागि प्रयास गरिने बताए ।