१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o मङ्सिर १४ बिहीबार ११:३७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

माघ २६ देखि फागुन ५ सम्म ‘उदयपुर एक्स्पो २०८०’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार ११:३७:oo

आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले पहिलोपटक उदयपुर एक्स्पो अर्थात् उदयपुर महोत्सव २०८० आयोजना गर्ने भएको छ । ‘कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग र व्यापार : उदयपुरको पहिचान र समृद्धिको आधार’ भन्ने नाराका साथ पहिलो उदयपुर एक्स्पो आयोजना गर्न लागिएको हो । 

आगामी माघ २६ गतेदेखि फागुन ५ गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारामा एक्स्पो लाग्ने भएको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले बुधबार पत्रकार सम्मेलन गरी त्रियुगा नदी किनारमा आगामी माघ २६ गतेदेखि फागुन ६ गतेसम्म उदयपुर एक्स्पो २०८० आयोजना गर्ने बताएको छ । एक्स्पोमा नेपालका कृषि, घरेलु तथा ठूला उद्योगहरूको उत्पादन बिक्री प्रदर्शनीमा राखिने संघका अध्यक्ष चूडामणि कार्कीले बताए ।

कार्कीका अनुसार उदयपुरको व्यापार–व्यवसाय पछिल्लो समय एकदमै सुस्ताएकाले एक्स्पोले आर्थिक कारोबार र व्यापार–व्यवसायलाई चलायमान बनाउने बताए। उनले भने, ‘उदयपुरका आठै पालिकामा रहेको उत्कृष्ट पर्यटकीय क्षेत्रलाई पहिचान गरी, व्यापार–व्यवसाय प्रवर्द्धन गर्न र आर्थिक मन्दीलाई चलायमान बनाउन महोत्सवबाट सहयोग मिल्नेछ ।’

विदेशी वस्तुको आयात घटाउने र नेपाली वस्तुको निर्यात बढाउने उद्देश्यले मेड इन नेपाल र मेड इन उदयपुर प्याभिलियनको व्यवस्थापन गरी नेपालको उत्पादन र उदयपुरको उत्पादनको प्रदर्शन र प्रवर्द्धन गरिने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । 

एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने आयोकजले जनाएको छ । 

एक्स्पोमा पर्यटन क्षेत्र र उद्योगको प्रवर्द्धन, ढुंगा, र्‍याफ्टिङ, प्याराग्लाइडिङलगायतको मज्जा पनि लिन पाइनेछ । प्रदर्शनीमा कृषि, पशुधन, सूचना प्रविधिको प्रवर्द्धन, कलालगायत विभिन्न खालका प्रदर्शन गरिने महासचिव सुनील साहले जानकारी दिए ।

महोत्सवमा उदयपुर, सिराहा, सप्तरी, सुनसरीसहित छिमेकी देशका आन्तरिक तथा बाह्य पर्यटक गरी दुई लाख मानिस भित्र्याउने योजना रहेको महासचिव साहको भनाइ छ । 

महोत्सवको अर्को आकर्षक विभिन्न जातजातिको खानाको परिकारलाई प्रवर्द्धन गर्न फुड फेस्टिभल पनि समावेश गरिएको छ । स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुतिको साथै जिल्लास्तरीय युगल गीत प्रतियोगिता, दोहोरी गायन प्रतियोगिता पनि गराइने आयोजकले जनाएको छ । रमाइलो मेला, भलिबल प्रतियोगिता, ढिलो साइकल दौड पनि आयोजना गर्ने आयोजकले जनाएको छ ।


एक्स्पोका लागि पहिलो चरणको काम सकिएको छ । एक्स्पोमा दुई सय स्टल हुनेछन् । महोत्सवले उद्यमशीलता, उदयपुरको पहिचान, राष्ट्रियता र सम्बन्धको भावना, जीवजन्तु, प्रविधि, कला संस्कृति, सीप तथा विविधता आदिमा फाइदा पुर्‍याइने जनाइएको छ ।

एक्स्पो हरेक दिन बिहान ९ः०० देखि बेलुका ९ः०० बजेसम्म सञ्चालन हुनेछ । स्टल बुकिङका लागि माघ ५ गतेलाई अन्तिम दिन तोकिएको छ । करिब दुई लाखभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव प्रवेशका लागि साधारणलाई प्रतिव्यक्ति सय रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र सामूहिक पोसाकमा आउनेलाई रु. ५० र ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई प्रवेश निःशुल्क गरिएको छ ।