Skip This
चीनको ‘अपराधमुक्त समाज’माथि प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Saturday, 27 July, 2024
देश/विदेश
२o८o मङ्सिर १३ बुधबार १o:o८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीनको ‘अपराधमुक्त समाज’माथि प्रश्न

Read Time : > 2 मिनेट
देश/विदेश
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार १o:o८:oo

उत्तरपूर्वी चिनियाँ सहर यान्जीका प्रहरी अधिकारीले २२ सेप्टेम्बरमा आफ्नो पेस्तोल हराए । चिनियाँ प्रहरीसँग निगरानी क्यामेराको विश्वकै विशाल सञ्जालमा नियन्त्रण छ । भिडियो फुटेजले उनको पेस्तोल एउटा तरकारी बजारमा चोरिएको देखायो । फुटेज पछ्याउँदै जादाँ चोरको गतिविधि करिब ५ सय किलोमिटर टाढाको एउटा ग्रामीण काउन्टीमा देखियो । २४ घण्टाभित्रै सो बन्दुक बरामद गरियो ।

चिनियाँ अधिकारीका अनुसार प्रहरीको यस्तो डरलाग्दो कार्यकुशलताले चीनलाई विश्वकै सबैभन्दा सुरक्षित देश बनाएको छ । चीनमा प्रतिलाख मानिसमा हत्याको दर विश्वव्यापी औसतको दशप्रतिशत मात्र छ । चीन सरकारका अनुसार सन् २०२१ मा चीनमा ६ हजार ५ सय २२ हत्या भयो, जुन दुई दशकअघिको तुलनामा ८० प्रतिशतले कम हो । सोही अवधिमा डकैतीका घटनामा ९७ प्रतिशत र कुटपिटका घटनामा ४० प्रतिशतले कमी आएको छ ।

यी सरकारी दाबीमा विश्वास गर्न सकिने पर्याप्त कारण छन् । पछिल्ला दशकमा थुप्रै देशमा हिंसात्मक अपराधमा कमी आएको छ । चीन यसको अपवाद हुने सम्भावना छैन । यहाँका नागरिकले बन्दुक राख्न पाउदैनन् । सजिलै चक्कुसमेत किन्न पाइँदैन । साथै, लाखौँ निगरानी क्यामेराले निरन्तर निगरानी गरिरहन्छन् । सर्वेक्षणले देखाएअनुसार अधिकांश पश्चिमा देशको तुलनामा चीनका मानिसले आफूलाई हिंसात्मक अपराधबाट सुरक्षित महसुस गर्छन् । 

यद्यपि, चीनको अपराधको तथ्यांकलाई विश्लेषकले लामो समयदेखि शंकाको दृष्टिले हेर्ने गरेका छन् । यो प्रभावकारी आँकडालाई चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो शासनको औचित्यका रूपमा उद्धृत गरेको छ । चीनका सरकारी सञ्चारमाध्यमले अन्य देश, विशेषगरी अमेरिकालाई खतरनाक र अपराधग्रस्त मुलुकका रूपमा चित्रण गर्छन् । त्यसैले प्रोपोगान्डाबाट सत्य छुट्याउन कठिन छ । चीनको यो संख्याले वास्तविकतालाई प्रतिविम्बित गर्न पनि सक्थ्यो होला तर उसका आँकडा प्रायः सत्य हुने गरेका छैनन् । राजनीतिले यो देशको अपराधप्रतिको दृष्टिकोणलाई प्रभावित गरिरहेको छ ।

हत्यासँग सम्बन्धीत यो तथ्यांकले धेरैकुरा बताउँछ । सन २००४ मा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले ‘हत्याका मुद्दाको निरूपण हुनैपर्छ’ भन्ने नारासाथ स्थानीय अधिकारीलाई यस्ता घटनामा कम्तीमा ८५ प्रतिशतको सफलता दर हासिल गर्न दबाब दिन सुरु गर्‍यो । अपराधको आँकडाले यो दबाबले काम गरेको बताउँछ । एक वर्षभित्र नै ४० प्रतिशतभन्दा बढी काउन्टीले हत्याका नयाँ मुद्दामा समाधानको शतप्रतिशत सफलताको दर हासिल गरेको दाबी गरे । बेइजिङजस्ता सहरले हरेक वर्ष शतप्रतिशत समाधान (निरूपण) दाबी गरिरहेका छन् ।

सर्वेक्षणहरूले पश्चिमा देशको तुलनामा चिनियाँ नागरिकले आफूलाई हिंसात्मक अपराधबाट सुरक्षित महसुस गरेको देखाए पनि तथ्यांकहरूले त्यसलाई पुष्टि गर्दैनन्
 

यस्ता नतिजाले शंकाहरू उब्जाएका छन् । उदाहरणका लागि सन् २००६ को एक अध्ययनमा दक्षिणी चीनको बेइजिङ र सेन्जेन सहरमा भएका हत्याका ५० प्रतिशतभन्दा बढी घटना पीडितलाई नचिनेको अपरिचित व्यक्तिले गरेको देखाइएको थियो । चाइनिज क्रिमिनोलोजीका विशेषज्ञ बोर्ज बाक्केनका अनुसार पीडितहरू अक्सर परिवार, साथी वा चिनेजानेका व्यक्तिद्वारा नै मारिन्छन् । अदालत पुर्‍याइएका अभियुक्तमध्ये ९९ प्रतिशत दोषी ठहरिन्छन् । प्रहरीमाथि हत्याका अप्ठ्यारा र जटिल मुद्दा दर्ता विरलै गर्ने गरेको आरोप पनि लाग्दै आएको छ । यसकारण, अपराधी पत्ता लगाउन कठिन हत्याका घटना आधिकारिक तथ्यांकमा देखिने गरेका छैनन् ।

कम गम्भीर अपराधका मुद्दा प्रहरीको बेवास्तामा पर्ने गरेका छन् । चिनियाँ प्रहरीसँग तीनलाई हेर्न न त स्रोत साधन छ, न त प्रोत्साहन नै । अफिसरहरूको तलब राम्रो छैन, काम बढी छ भने संख्या तुलनात्मक रूपमा थोरै छ । (एक आकलनअनुसार चीनमा प्रतिलाख मानिसबराबर एक सय ४२ प्रहरी छन् जब कि इङ्ल्यान्ड र वेल्समा २५१ जना छन्) । कति संख्यामा अपराध सुल्झाए भन्ने आधारमा अधिकारीको मूल्यांकन गरिने भएकाले चिनियाँ प्रहरीले प्रायः कठिन मुद्दालाई त्यतिकै छोड्ने वा सामसुम पार्ने गर्छन् । पेकिङ विश्वविद्यालयका राजनीतिक वैज्ञानिक लिउ युचेनले सन २०२१ मा प्रकाशित गरेको एक अध्ययनले अधिकारीहरूले सडक झगडा, सानातिना चोरी एवं डकैतीलाई बेवास्ता गर्ने गरेको पाएको थियो । 

केही अवस्थामा आर्थिक दबाबका कारण पनि मुद्दाहरू ओझेलमा पर्छन् । लिउले राजमार्ग निर्माण गरिरहेका दुई कम्पनीका कामदारबीच झगडा भएको आफ्नै आँखाले देखेका थिए । त्यहाँ इँटा र औजार प्रहार गरिएका थिए । पाँच जनालाई त अस्पताल नै लैजानुपरेको थियो । यो कुरा प्रहरीकहाँ पनि पुग्यो तर प्रहरी अधिकारीले यसलाई अदालतसम्म लगेन । उनीहरू राजमार्ग निर्माणलाई निरन्तरता दिन चाहन्थे । ‘हाम्रो बाहेक नजिकका सबै काउन्टीमा अहिले नयाँ राजमार्ग छन्,’ ती अधिकारीको भनाइ थियो । 

बेवास्ता गर्नुबाहेक, मुद्दालाई अभिलेखबाट टाढा राख्ने अरू पनि तरिका छन् । पार्टीद्वारा सञ्चालित स्थानिय कमिटीले पनि कहिलेकाहीँ विवाद व्यवस्थापन गर्छन् । उनीहरूको काम भनेको कर्मचारीतन्त्रको उच्च तहमा पुग्नुअगावै समस्या समाधान गर्नु हो । यस्तोमा कहिलेकाहीँ पीडितलाई अनौपचारिक रूपमा अपराधीबाट क्षतिपूर्ति लिएर चुप लगाइन्छ ।

 चिनियाँ पार्टीका लागि त जनताले सुरक्षित महसुस गर्नु नै पर्याप्त हुन सक्छ । पार्टीलाई सबैभन्दा बढी चासो हुने राजनीतिक प्रकृतिका अपराध मात्र हुन् । सरकारको आलोचना गर्ने वा अधिकारीमाथि आरोप लगाउने व्यक्ति ‘झगडा गरेको र समस्या सृजना गरेको’ आरोपमा सजिलै थुनिन सक्छन् । शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै शान्तिपूर्ण प्रदर्शनलाई पनि अपराधीकरण गरिन्छ । त्यसैले, राजनीतिक प्रकृतिका र यस्ता गतिविधिलाई कहिल्यै बेवास्ता गरिँदैन ।

एक वर्षअघि सरकारको कठोर ‘जिरो–कोभिड’ नीतिविरुद्ध बेइजिङको एक नदी किनारमा विरोध प्रदर्शन गर्न भेला भएका युवाको एउटा समूहलाई धपाउन प्रहरी प्रमुखसहित सयौँ अधिकारी खटिएका थिए । अधिकारीले यसमा संलग्न केही व्यक्तिलाई पत्ता लगाउन र सजाय दिन निगरानी उपकरणको प्रयोग पनि गरे । तर, गैरराजनीतिक अपराधमा यस्ता प्रयास र स्रोत साधन खर्च नहुनुचाहिँ अचम्मको विषय हो ।
– द इकोनोमिस्टबाट