एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । भौतिक पूर्वाधारमन्त्री एवं पार्टी उपमहासचिव प्रकाश ज्वाला, सांसद अम्बरबहादुर थापालगायत नेता तथा कार्यकर्तासहित नेपालले क्षतिग्रस्त क्षेत्रको सोमबार अवलोकन गरेका हुन् ।
नेपालको उपस्थितिमा एकीकृत समाजवादीका भातृ संगठनहरूले भेरी नगरपालिका ३ मा अस्थायी घरटहरा निर्माण प्रारम्भ गरेका छन् । भूकम्प प्रभावित क्षेत्रमा चिसो बढ्दै गरेको अवस्थामा चाँडो अस्थायी टहरा बनाउनुपर्नेमा नेपालले जोड दिए ।
त्यसपछि नेपाल खलंगास्थित अस्पतालमा पुगेर चिकित्सक र बिरामीहरूसँग हालको अवस्था, समस्या र सामाधानको विषयमा छलफल गरेका थिए । नेपालले चिनियाँ कम्युनिस्ट पार्टीबाट ५० हजार अमेरिकी डलर र ५० हजार युयान सहयोगको प्रतिबद्ध भएको जानकारी दिए ।
साथै, भूकम्पपीडितका लागि पाँच सय थान ब्ल्यांकेट, राइसकुकरलगायतको सामग्री चिनियाँ कम्युनिस्ट पार्टीले हस्तान्तरण गरेको राहत सामग्री जाजरकोट र रुकुमका लागि उपलब्ध गराउने बताए ।
नेपालले सांकेतिक रूपमा एक थान प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरे । मन्त्री ज्वालाले छोटो बाटोबाट हरेक घरधुरीलाई ५० हजार वडाको सिफारिसमा बैंक खाता भए बैंक खातामा, नभए नगद वितरण गर्ने निर्णय भएको बताए ।