१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ११ सोमबार o६:५३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१९ सय विन्दुमा उक्लियो नेप्से

तीन महिनापछि दुई अर्बमाथिको कारोबार, तीन कम्पनीको सेयर मूल्यमा सर्किट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार o६:५३:oo

नेप्से परिसूचक करिब साढे दुई महिनापछि एक हजार नौ सय ७ दशमलव ९५ विन्दुमा आइपुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार ४७ दशमलव ७५ अंकले बढेर बजार यो विन्दुमा आइपुगेको हो ।

तिहारपछि नेप्से सूचकमा सुधारको संकेत देखिन थालेको छ । यतिवेला विभिन्न कम्पनीहरूले लाभांश प्रस्ताव गरिरहेका छन् । अर्कोतर्फ राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत सेयर धितो कर्जामा लगाइएको सीमा हटाउने र जोखिमभार एक सय ५० बाट एक सयमा झार्ने समाचारहरू बाहिरिएका छन् ।

धितोपत्र बोर्डले पछिल्लो समय सेयर बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै सबै किसिमको सार्वजानिक निष्कासनलाई रोक लगाएको छ । यसले सेयर बजारमा पर्दै आइरहेको आर्थिक चाप कम भएको र दोस्रो बजारमा लगानी बढ्दा बजार सकारात्मक बन्न पुगेको एक लगानीकर्ताको भनाइ छ । उनले भने, ‘अहिले लाभांशको समय पनि चलेको छ, यसै हप्ता मौद्रिक नीति समीक्षामा पनि सेयर बजार पहिलो प्राथमिकतामा राखिएको सुनिन्छ भने, ब्रोकर कमिसन र सार्वजनिक निष्कासन कम हुँदा दोस्रो बजारमा लगानी बढेको हो ।’

आइतबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ९४ कम्पनीको ६५ लाख ३० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब रुपैयाँको कारोबार भएको छ । यो कारोबार तीन महिनायताकै सर्वाधिक कारोबार हो । यस दिन सर्वाधिक कारोबार गर्ने कम्पनीमा सोनापुर मिनरल्स एन्ड आयलको ११ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, सिटिजन लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको पाँच करोड रुपैयाँदेखि सात करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । छ्यादी हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ८९ प्रतिशत र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य ९ दशमलव ८८ प्रतिशतले बढेको छ ।

उच्च अंकले बढेको बजारमा लघुवित्तको सेयर मूल्य घटेको छ । इन्फिटी लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य दुई दशमलव ४७ प्रतिशतले घटेको छ ।कारोबारमा आएका १३ वटै उपसमूहको सूचक बढेको छ । जसमध्ये जीवन बिमा समूहको सूचक चार दशमलव ४४ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको तीन दशमलव ९१ प्रतिशतले बढेको छ ।