१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर ११ सोमबार o९:o३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रथम केपी ओली कप टी–२० : कुशलको शतकमा मधेशमाथि पुलिस हाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार o९:o३:oo

प्रथम केपी ओली राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको चौथो दिन कुशल भुर्तेलले शतकीय इनिङ्स खेलेका छन् । प्रतियोगिताको सातौँ खेलमा नेपाल पुलिसका भुर्तेलले प्रतियोगितामै पहिलो शतक लगाएका हुन् । उनकै शतकको मद्दतमा पुलिसले मधेश प्रदेशलाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पोखरा रंगशालामा पहिलो ब्याटिङ गरेको पुलिसले २० ओभरमा पाँच विकेटको क्षतिमा १७५ रनको बलियो योगफल खडा गर्‍यो । प्रत्युत्तरमा मधेशले १८.२ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्र बनायो । समूह ‘सी’मा पुलिस र मधेश प्रदेश मात्र छन् । पुलिसले २ अंक बटुलेको छ । 

बलियो साझेदारी
पुलिसले पहिलो विकेटका लागि दरिलो साझेदारी गरेको थियो । ओपनर भुर्तेल र सुनील धमलाले पहिलो विकेटका लागि १५.६ ओभरमा १३८ रनको साझेदारी गरेका थिए । भुर्तेललाई विशाल सुस्लिङले कट एन्ड बोल्ड गरेका थिए । भुर्तेलले ५७ बलमा आठ चौका र सात छक्काको सहयोगमा १०२ रन बताए । पुलिसले त्यसपछि ७ रनको अन्तरमा तीन विकेट गुमाएको थियो । इनिङ्सको डेथ ओभरमा मधेशले कसिलो बलिङ गरेको थियो । पुलिस एकैपटक १४६/२ बाट १५३/४ को स्थितिमा रह्यो । सुनीलले ४७ बलमा चार चौका प्रहार गरी ४५ रन बनाए ।

पुलिसका लागि रसिद खानले तीन रन, दिलीप नाथ र अर्जुन साउदले समान एक रन बनाए । राष्ट्रिय टोलीका फास्ट बलर करण केसीले ५ बलमा दुई चौका र एक छक्का प्रहार गरी १६ रन बनाए । पुलिसले इनिङ्समा अतिरिक्त रन १ मात्र पाएको थियो । मधेशका लागि विशालले चार ओभरमा २० रन खर्चेर दुई विकेट लिए ।   

चार बलरले लिए समान दुई विकेट
लक्ष्य पछ्याएको मधेशको ब्याटिङ इनिङ्समा गतिलो प्रदर्शन भएन । पुलिसका चार बलरले समान दुई विकेट लिँदा मधेश १८.२ ओभरमै अलआउट भयो । करण केसीले ३ ओभरमा १७ रन खर्चंदै दुई विकेट हात पारे । सागर ढकाल, रसिद खान र ललित राजवंशीले समान दुई विकेट लिएका थिए । रसिदले एक ओभरमा १० रन खर्चेर दुई खेलाडीलाई आउट पारे । राष्ट्रिय टोलीका बलरसमेत रहेका ललितले चार ओभरमा २९ रन खर्चेका थिए । म्यान अफ दी म्याच कुशल भुर्तेलले चार ओभरमा ३५ रन खर्चंदै दुई विकेट लिए । सुनील धमालाले केवल ०.२ ओभरमा बलिङ गरी एक विकेट लिए । 

एपिएफ सेमिफाइनलमा
नेपाल एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा चलिरहेको प्रतियोगिताको समूह ‘बी’ एपिएफले रनरेटका आधारमा अन्तिम चारको स्थान पक्का गरेको हो । एपिएफ, गण्डकी र लुम्बिनीले दुई खेलबाट समान २ अंक जोडेका छन् । आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकीलाई पाँच रनले पराजित ग¥यो । पहिलो ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेटको क्षतिमा १०३ रन जोडेको थियो । गण्डकी १८.५ ओभरमा अलआउट हुँदै ९८ रनमा सीमित भयो ।