
आगामी फागुनमा लगानी तथा विकास सम्मेलन गर्ने तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारसँग सहयोग माग गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सुदूरपश्चिममा लगानी भित्र्याउने वातावरण निर्माणका लागि सहयोग माग गरेका हुन् । भेटमा प्रदेशका आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले सुदूरपश्चिममा निजी क्षेत्रको लगानी भित्र्याउन नीतिगत र अन्य क्षेत्रमा आवश्यक सहयोग गरिदिन आग्रह गरिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभएको छ ।’
भेटमा मुख्यमन्त्री शाहले संघीय सरकारले केही नीतिगत व्यवस्था गरिदिए कृषि, उद्योगलगायत क्षेत्रमा लगानी गर्न चाहनेलाई जमिन, सडक, विद्युत्, पानीलगायतको समस्या समाधान गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री शाहीका अनुसार सुदूरपश्चिममा लगानी गर्न चाहने ठूला लगानीकर्तालाई बैंकबाट सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने, निश्चित अवधिसम्म कर छुट दिनेलगायत नीतिगत व्यवस्था गरिदिन प्रदेशले संघीय सरकारसँग माग गरेको छ । ‘यो प्रदेशको सन्दर्भमा संघीय सरकारले सहुलियतपूर्ण ऋण, कर छुटलगायत केही विशेष नीतिगत व्यवस्था गरिदिनुपर्यो भनेका छौँ,’ उनले भने, ‘लगानीकर्तालाई प्रदेशका तर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरणका लागि हामी तयार छौँ ।’
सुदूरपश्चिम प्रदेश सरकारले आगामी २३ र २४ फागुनमा प्रदेशको अस्थायी राजधानी धनगढीमा लगानी तथा विकास सम्मेलन गर्दै छ । प्रदेशमा निजी क्षेत्रको लगानी भित्र्याउन सम्मेलन महत्वपूर्ण हुने प्रदेश सरकारको अपेक्षा छ । सुदूरपश्चिमले गर्न लागेको लगानी सम्मेलनमा कसरी सहयोग गर्न सकिन्छ भनेर आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने आश्वासनसमेत प्रधानमन्त्रीले दिएका छन् ।
भेटमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार निर्माणको शिलान्यास लगानी सम्मेलनका क्रममा गर्ने गरी आफूहरूले तयारी अगाडि बढाएको बताएका थिए । मुख्यमन्त्रीसहितको टोलीले शनिबार नै काठमाडौंमा अर्थमन्त्री प्रकाशशरण महतलाई समेत भेटेर लगानी सम्मेलनमा सहयोग माग गरेको छ ।