१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कागजमै सीमित अभियन्ता ईः र काठमाडौं महानगरबीचको सहमति

मंसिर अन्तिमसम्म पर्खने र त्यसपछि विरोधका थप कार्यक्रम ल्याउने ईःको चेतावनी

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:१८:oo

फुटपाथमा व्यापार गर्दै आएका व्यापारीलाई वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्नेलगायत माग गर्दै एक सय ९९ घन्टाको धर्नापश्चात् अभियन्ता ईः र काठमाडौं महानगरबीच दुई महिना (१० असोज)अघि चारबुँदे सहमति भएको थियो । सहमतिअनुसार साबिकमा फुटपाथ–सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीका लागि कानुनले निषेध गरेको स्थानबाहेक महानगरभित्रै उपयुक्त स्थान पहिचान गर्न एक साताभित्र पहल गर्ने उल्लेख थियो । सहमतिपत्रमा उल्लेख यो बुँदालाई महानगरले सात दिनभित्रै तोडेको थियो । 

अर्को बुँदा, फुटपाथ–सार्वजनिक स्थलमा व्यापार गर्नेक्रममा जफत गरिएका सामान महानगरको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानधनीलाई फिर्ता गर्ने भन्ने थियो । उक्त सहमति पनि हालसम्म पूरा भएको छैन । अन्तिम बुँदा थियो, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार–व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्ने र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्थासमेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित अध्ययन गरी दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न समिति गठन गर्ने भन्ने थियो ।

समितिमा काठमाडौं महानगरपालिकाले तोकेका तीनजना, अभियानकर्ता ईःको तर्फबाट तोकिएका प्रतिनिधि दुईजना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि एकजना, सहरी विकास मन्त्रालयका प्रतिनिधि एकजना र ट्राफिक प्रहरीका प्रतिनिधि एकजना रहने व्यवस्था थियो । यो बुँदा पनि हालसम्म कागजमै सीमित भएको छ । 

अभियन्ता ईः भन्छन्– बालेन पुराना नेताजति पनि इमानदार भएनन् 
आफैँले गरेको सहमति चरणबद्ध रूपमा तोडेर महानगरका मेयर बालेन्द्र साह (बालेन) पुराना नेताजति पनि इमानदार नभएको अभियन्ता ईःको आरोप छ । ‘समिति गठनका लागि डेढ महिनाअघि दुईजनाको नाम माग भएको थियो । सोअनुसार सडक व्यवसायी र अभियन्ताको तर्फबाट दुईजनाको नाम पठाएँ । त्यसपछि कुनै छलफल, बैठक केही भएको छैन ।

सहमतिअनुसारको अन्य काम पनि भएको छैन,’ अयिभन्ता ईःले भने, ‘पहिलेका नेताहरूले प्रतिबद्धता, सहमति, सम्झौता गरेपछि काम नगरे पनि समिति बनाउने, छलफलसम्म पनि गर्थे । तर, उनमा त्यति देखिएन ।’ तर, महानगरले पहिलेजस्तो व्यापारीमाथि हिंसात्मक गतिविधि नगरेकाले नकारात्मक भइहाल्ने अवस्था भने नरहेको उनी बताउँछन् । ‘मैले फुटपाथ व्यवसायीहरूसँग कुरा गर्दा बिहान र बेलुका व्यापार गर्न महानगर लचिलो देखिएको छ । हिंसात्मक काम गरेको छैन । त्यसैले नकारात्मक भइहाल्ने अवस्था छैन,’ उनले भने । महानगरले सहमति कार्यान्वयन गर्ने समय मंसिर मसान्तसम्म रहेकाले त्यतिवेलासम्म हेर्ने र सोहीअनुसार प्रतिक्रिया दिने उनी बताउँछन् । मंसिरपछि भने महानगर पहिलेजस्तै क्रूर भएर अगाडि बढ्ला कि भन्ने त्रास बढेको उनको भनाइ छ ।

महानगरको दाबी : अभियन्ता ईः छलफलमै आएनन्
काठमाडौं महानगरले भने अभियन्ता ईः सहमतिपछि छलफलमै नआएकाले अब कसरी अगाडि बढ्ने भन्नेमा अन्योल भएको जनाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धर फुटपाथ व्यवसायीले आफ्नो सामान पहिचान गर्न नसकेकाले सामान फिर्ता नगरेको र अभियन्ता पनि छलफलमा नआएको बताउँछन् । ‘आफ्नो सामान पहिचान गर्न सक्नेले सामान लिएर जानुभएको छ ।

सामान पहिचान गर्न नसक्नेले मात्र सामान लैजान नसक्नुभएको हो,’ प्रवक्ता मानन्धरले भने, ‘चौथो बुँदामा भएको सहमतिअनुसार ठाउँ पहिचान गर्न उहाँहरू आउनुभएन । तेस्रो बुँदामा काम गर्न उहाँहरू छलफलमा आउनुभएपछि काम अगाडि बढ्छ ।’ उनका अनुसार अभियन्तासँगको सहमतिअनुसार फुटपाथ व्यवसायीसँग महानगर लचिलो भएको हो । 

फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै अभियन्ता ईःले १९९ घन्टा उभिएर राष्ट्रिय सभागृहअगाडि विरोध प्रदर्शन गरेपछि सहमति भएको थियो । सुरुमा उनले ७७ घन्टे आन्दोलन थालेका थिए । आफ्ना माग पूरा नभएपछि यसलाई एक सय ९९ घन्टासम्म लम्ब्याएका थिए । महानगरविरुद्ध ‘चमेली समूह’ अभियान सुरु गर्ने केही स्वतन्त्र युवाहरूसमेतले राष्ट्रिय सभागृहपरिसरमा उभिएरसमेत विरोध प्रदर्शन गरेका थिए ।

 नवीन मानन्धर, प्रवक्ता,
काठमाडौं महानगरपालिका

फुटपाथ व्यवसायीले आफ्नो सामान पहिचान गर्न नसकेकाले सामान फिर्ता नगरेको र अभियन्ता पनि छलफलमा आएका छैनन् । आफ्नो सामान पहिचान गर्न सक्नेले सामान लिएर जानुभएको छ । चौथो बुँदामा भएको सहमतिअनुसार ठाउँ पहिचान गर्न उहाँहरू आउनुभएन । तेस्रो बुँदामा काम गर्न उहाँहरू छलफलमा आउनुभएपछि काम अगाडि बढ्छ ।

ad
ad