१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Sunday, 11 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८o मङ्सिर १० आइतबार १५:५९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीमदत्त पन्तको सालिक तोडफोड गर्ने १८ जनाविरुद्ध सार्वजनिक मुद्दा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार १५:५९:oo

सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका १८ जना नेता–कार्यकर्ताविरुद्धमा मुद्दा दायर गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका १८ जना नेता–कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले भीमदत्त नगरपालिका– १८ महेन्द्रनगरस्थित सहिदको सालिक तोडफोड गर्ने राप्रपा नेता–कार्यकर्ताविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए।  

एसपी थापाका अनुसार उनीविरुद्धमा सार्वजनिक मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएको छ। राप्रपा कञ्चनपुरको आयोजनामा शुक्रबार संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा विरोध प्रदर्शन थियो। उक्त विरोध प्रदर्शनका कार्यक्रममा सहभागी आन्दोलनकारीले पार्कभित्र रहेको सालिक तोडफोड गरेका थिए। 

प्रहरीका अनुसार राप्रपा कञ्चनपुरका जिल्ला सचिव शिशिर थापा, कोषाध्यक्ष दिनेश श्रेष्ठ, महिला नेतृ हेलेन श्रेष्ठ, लक्ष्मी मल्ल, विद्यार्थी नेता प्रेम रावल, अन्य नेता–कार्यकर्ताहरू क्रमशः आकाश जोशी, विनोद चन्द, कृष्णबहादुर चन्द, रमेश बाग, कमलेशसिंह ठकुरी, भूपेन्द्रराज पन्त, मोहितप्रसाद पन्त, उपदेश सिंह, विराट विष्ट, कमल चन्द, सुजल खड्का, विवेक चन्द (ठगुरी)विरुद्धमा मुद्दा दायर गरेर कारबाही प्रक्रिया अघि बढाएको बताए।

अनुमतिविनै स्थानीय भीमदत्त बाटिका पार्कभित्र प्रवेश गरेर उच्छृंखल गतिविधि गरेर सहिदको सालिक तोडफोड गर्ने कार्यविरुद्धमा प्रहरीले कारबाही गर्ने जनाएको छ। 

भीमदत्त पन्तकै देवभूमिमा किसान नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्ने कार्य अराजक, दण्डहीनताको पराकाष्ठा भन्दै चौतर्फी रूपमा भर्त्सना जाहेर गर्दै दोषीउपर कारबाहीकाे माग अघि सारिएको छ। तर, राप्रपा कञ्चनपुरले भने पक्राउ परेका सबैलाई निःसर्त हिराइको माग गरेकाे छ। 

सालिक तोडफोडको विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठक राप्रपाबाहेकका दलहरूले घटनाको भत्र्सना जाहेर गरेका थिए। राप्रपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीले सञ्चारकर्मीसँग पार्टीको नीति, कार्यक्रम नभई आकस्मिक रूपमा घटेको घटना भएकाे बताए। 

‘गर्न नहुने काम कार्यकर्ताबाट भएको छ। अबउप्रान्त यस्ता विषयमा सचेत रहने कुरामा छलफल भयो,’ उनले भने, ‘पार्टीको तोडफोड गर्ने कार्यनीति, योजना पनि होइन, आन्दोलनका क्रममा भइहाल्यो। तोडफोड गर्ने हाम्रो राजनीतिक चरित्र पनि होइन।’