
ग्लोबल नेप्लिज कराँते अर्गनाइजेसनले १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । इन्डोनेसियाको जकार्तामा २२ देखि २४ सेप्टेम्बरसम्म भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, तीन रजत र ६ कांस्य जितेको थियो ।
सो प्रतियोगितामा एरिका गुरुङले नेपाललाई एक मात्र स्वर्ण दिलाएकी थिइन् । १९औँ एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेतासमेत रहेकी एरिकालाई ३० हजार रुपैयाँ प्रदान गरियो । रजत विजेता विप्लवलाल श्रेष्ठ, निरुपमा दोङ तामाङ र मोहम्मद शेखु अलामले जनही १५ हजार रुपैयाँ पाए ।
कांस्य पदक जितेका सन्तोष श्रेष्ठ, सबिना श्रेष्ठ, आशिष थापा, पुष्पका लामा, एलिशा राजकोटी मगर र सानुमाया थिङले जनही १० हजार रुपैयाँ पाएका छन् । नेपाल कराँते महासंघको आयोजनामा १६ देखि १७ मंसिरसम्म हुने सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपका लागि महासंघलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।