Skip This
चेतना नभएका मूर्खहरू मरेको प्रेतको नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउन हिँडेका छन् : ओली
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ८ शुक्रबार १७:o३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चेतना नभएका मूर्खहरू मरेको प्रेतको नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउन हिँडेका छन् : ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १७:o३:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनताले वाक्कदिक्क लागेर फालिसकेको राजतन्त्रलाई चेतना नभएका मूर्खहरूले फर्काउन हिँडेको बताएका छन्।

राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।

‘जनताले हेर्दाहेर्दा वाक्कदिक्क भएर कामै नलाग्ने चिज रहेछ भनेर फालेको राजतन्त्रलाई चेतना नभएका केही मूर्खहरू मरेको प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर लागेका छन्,’ ओलीले भने, ‘त्यस्तो वेलामा युवा संघ हामी यहाँ छौँ भनेर रातो टोपी लगाएर मैदानमा उत्रियो। देश संकटमा परेको वेला हामी यहाँ छौँ, काँध थाप्छौँ भन्दै बोल्यो धन्यवाद छ, तपाईंहरूलाई।’

परिवर्तनका लागि धेरै ठूलो विशाल आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै ओलीले तयारी अवस्थामा रहनसमेत युवाहरूलाई निर्देशन दिए। प्रतिक्रियावादीहरूले भिड्न खोजे चुनावी मैदानदेखि सडकमा समेत भिड्न तयार हुने गरी अगाडि बढ्न उनले निर्देशन दिए।

‘रुन्चे कुरा गर्नुहुँदैन, बक्सिङ खेल्ने भनेको थियो, खुट्टाले राउन्ड किक हानेर बंगारा झार्दियो भनेपछि...खुट्टाले, टाउकाले, मुक्काले, कुइनाले हान्न सक्छ, उता फर्किएजस्तो गरेर राउन्ड किक हान्न सक्छ, जे पनि गर्न सक्छ। सबै कुरामा तयार हुनुपर्छ,’ ओलीले भने, ‘प्रतिक्रियावादीहरू चुनावको मैदानमा भेटौँ भन्छन् भने ठीक छ, चुनावकै मैदानमा भेटौँ। सडकमा भेटौँ भन्छन् भने ठीक छ सडकमै भेटौँ। ठाउँ तोकेर, दिन तोकेर युवा संघ भिड्न तयार छ, त्यस्तै स्पिरिटमा युवा संघ अगाडि बढोस्।’

दुर्गा प्रसाईंलाई इंगित गर्दै ओलीले बिकाउ मालले देशको सार्वभौमसत्तामाथि सौदाबाजी गर्न खोजेकोसमेत बताए। ‘असन्तुष्टि र निराशा मात्रै छ भन्ने प्रभाव दिन खोजिएको छ। देश बनाउन सक्छु भन्ने, म गर्न सक्छु भन्ने कोही छैन, देश बर्बादीमा मात्र गएको छ, आशा केही छैन भन्ने पार्न खोजिएको छ,’ उनले भने, ‘कुनै एक धतंगाले बोल्दै गर्दा भनेको सुनेँ, यो देश फलानो देशमा मिसाइदियो भने सस्तोमा साइकल पाइन्छ, साग पाइन्छ भन्छ। कतिपय मान्छेहरू एक छाक भातमा सिंगो भविष्य बेच्न तयार हुन्छन्। कतिपय देशको माया नगर्ने बिकाउ मालहरू हुन्छन्, त्यस्ताका अभिव्यक्तिहरू साइकलको मूल्यसँग देशको सार्वभौमसत्ताको कुरा गर्छन्।’

बल्खुमा उद्देश्यविहीन रूपमा हाहाहुहु हेर्न भेला भएका पाँच–सात हजार मान्छेदेखि अहिलेको सरकार थर्कमान भएको भन्दै ओलीले आशा जगाउने गरी काम गर्न ध्यानाकर्षणसमेत गराए।

‘हिजो बल्खुमा भोलि उठी कहाँ जाने भन्ने खालका मान्छे  भेला भए। केका लागि हिँडेको, के माग हो, के नारा हो, कहाँ पुग्ने हो ? के गर्ने हो केही थाहा छैन, हाहाहुहु हेर्न जान पाइन्छ भनेपछि हाहाहुहु हेर्न आए। यो सरकार त्यत्तिकैमा थर्कमान छ,’ उनले भने, ‘पाँच–सात हजार मान्छे यसो हेर्नओर्न आए होलान्, त्यसैमा सरकार थर्कमान छ। किनभने यसको जगै छैन। एउटा किलो गाडेको छ भने हल्लिँदैन। तर, अलिकति यसो थेप्चोथेप्चो फेदमा पारेर राखेको छ भने हावा हल्लिँदा पनि ढलिहाल्ला कि, कसैले छोएर ढल्ला कि हुन्छ, यो सरकार त्यस्तै हो।’