१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ८ शुक्रबार १४:२१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तिहारमा २४ करोडकाे फूलको कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १४:२१:oo

यो वर्षको तिहारमा रु. २४ करोड मूल्यबराबरको फूलको कारोबार भएको छ। अघिल्लो वर्षको तिहारमा रु. २६ करोडको कारोबार भएकामा यो वर्ष दुई करोड कम कारोबार भएको हो। 

यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।   

अध्यक्ष तामाङले भने, ‘गत वर्षको तिहारमा रु. एक सयमा फूलको माला बिक्री भएको थियो भने यस वर्ष सरदर रु. ६५ मा उपभोक्ताले फूल खरिद गरेका थिए, कारोबार कम हुनुको मुख्य कारण नै फूलको मूल्य कमी हुनु हो।’

यो वर्षको तिहारमा रु. ३१ करोड २८ लाख मूल्यबराबरको फूलको कारोबार हुने अनुमान रहे पनि झन्डै रु. सात करोड कम कारोबार भएको छ। यो वर्ष ७० प्रतिशत भारतीय फूल प्रयोग भएको र ३० प्रतिशत मात्रै नेपालमै उत्पादन भएको फूल प्रयोग भएका कारण नेपाली उत्पादनले राम्रो बजार नपाएको अध्यक्ष तामाङको भनाइ छ। 

भारतबाट ल्याई कोल्ड स्टोरमा राखिएको माला सस्तो पाउने भएपछि नेपाली फूलले समेत मूल्य नपाएको उनको भनाइ छ। यो वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको भए पनि ३० लाख सयपत्री, मखमली गोदावरी र मिक्स माला गरी जम्मा ३५ लाख फूलको माला खपत भएको बताइएको छ। 

पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ। नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन्। 

यो वर्ष रु. एक लाख मखमली फूलको माला विदेश निर्यात भएको छ। यसरी माला निर्यात हुने देशहरूमा अस्ट्रेलिया, अमेरिका, खाडी मुलुक रहेका छन्।