नेपाल र बेलायत सरकारबीच भूतपूर्व गोर्खाको पेन्सन र सुविधालगायत विषयमा बुधबार राति भएको मन्त्रीस्तरीय वार्तामा पेन्सनको विषयमा छलफल नभई टुंगिएको छ । भूतपूर्व गोर्खाहरूको सुविधा (वेलफेयर) विषयमा छलफल भए पनि बेलायती पक्षले समयाभाव देखाउँदै विस्तृतमा छलफल गर्न नचाहेपछि एक घन्टामा वार्ता टुंगिएको हो ।
भूपू गोर्खाहरूको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको यो तेस्रो बैठक हो । रक्षा मन्त्रालयमा आयोजित वार्तामा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, बेलायती रक्षा राज्यमन्त्री एन्ड्रिउ मुरिसन तथा एवं भूपू गोर्खाहरूका तर्फबाट मेजर (अप्रा) जुद्धबहादुर गुरुङले नेतृत्व गरेका थिए । बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल, नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरूका तर्फबाट धर्मबहादुर तामाङ, कृष्णबहादुर राई तथा बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरू सहभागी थिए ।
नेपाली दूतावासका उपनियोग प्रमुख खनालका अनुसार बैठकमा यसअघि भएका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाबारे छलफल भएको छ । ‘कुनै विषयमा ठोस सहमति भएको छैन, तर वार्ता जारी राख्ने भन्नेछ,’ खनालले भने । दूतावासका अनुसार बेलायती रक्षा मन्त्रालयका तर्फबाट भूपू गोर्खाहरूले उठाएका धेरैजसो विषयमा जवाफ प्रस्तुत गरेका थिए । वार्तामा सहभागी पूर्वमेजर गुरुङका अनुसार पेन्सनका विषयमा छलफल हुन पाएन । ‘बेलायतका राज्यमन्त्रीले एक घन्टा मात्रै समय छ, त्यसपछि अर्को बैठकमा जानु छ भन्नुभएपछि हामीले पर्याप्त छलफल नै गर्न पाएनौँ,’ उनले भने ।