Skip This
मेलम्चीको पानी आउने मिति अझै अनिश्चित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Friday, 26 July, 2024
शान्ति तामाङ काठमाडाैं
२o८o मङ्सिर ७ बिहीबार १o:५४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्चीको पानी आउने मिति अझै अनिश्चित

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १o:५४:oo

अघिल्लो वर्षको २३ मंसिरमा उपत्यकावासीको धारामा मेलम्चीको पानी झरेको थियो । यसका लागि आयोजनाले १२ मंसिरमै मेलम्चीको मुहानस्थल अम्बाथानबाट सुरुङमा पानी प्रवेश गराएको थियो । 

पानी पठाएको एक सातापछि काठमाडौंको सुन्दरीजलमा आइपुगेको थियो । यसपछि उपत्यकावासीको घरघरमा पानी वितरण भएको थियो । यस वर्ष भने मेलम्चीको पानी काठमाडौंमा कहिले आउने कुनै टुंगो छैन । मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध (हेडवर्क्स)सम्म पुग्ने बाटो हालसम्म निर्माण नभएका कारण मेलम्चीको पानी काठमाडौं झर्ने मिति धकेलिने भएको छ । 

निमाग्याल्जेन ह्योल्मो, अध्यक्ष, हेलम्बु गाउँपालिका 
पानी मात्र काठमाडौं पुर्‍याउने होइन, हाम्रो समस्या पनि हेर्नुपर्‍यो । पटक–पटकको बाढी र पहिरोले बगाएको बाटो अस्थायी रूपमा काम चलाइरहेका छौँ । बस्ती संरक्षण हुन सकेको छैन । आयोजना सुरु भएदेखिकै माग अझै सम्बोधन हुन सकेको छैन । त्यसैले यसपटक माग पूरा नभएसम्म मेलम्चीको पानी पठाउँदैनौँ ।

अस्थायी सडक निर्माणका लागि आयोजनाले कात्तिक तेस्रो सातादेखि नै काम सुरु गरेको थियो । तर, चाडबाडका कारण रोकिएको थियो । जुन भर्खरै पुनः सुरु भएको छ । त्यसैले, यो वर्ष मेलम्चीको पानी उपत्यका कहिले आउँछ निश्चित छैन । ‘चाडबाडका कारण रोकिएको बाटो निर्माण दुई दिनअघि मात्र सुरु भएको छ । निर्माणस्थलमा ठुल्ठूला ढुंगा छन् । ती ढुंगा फुटाउन र हटाउन अप्ठ्यारो भइरहेको छ,’ मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, ‘छठ सकिएपछि बल्ल काम सुरु गरिएको छ । अस्थायी बाटो बनाउन नै एक महिना लाग्छ होला । त्यसपछि प्राविधिक टोलीले क्षतिको यकीन विवरण निकाल्ने र काम अगाडि बढ्छ ।’ हालसम्म अम्बाथानसम्म मात्रै अस्थायी बाटो निर्माण भएको छ । 

समितिका अनुसार बाँधस्थलसम्म पुग्ने बाटो बनाउन एक महिना लाग्छ । गत २७ र २८ साउनमा आएको बाढीले आयोजनाको हेडवर्क्स बगाएकाले अस्थायी रूपमा समेत पानी ल्याउन सकस भइरहेको छ । बर्खा सुरु भएसँगै सरकारले (असार पहिलो सातादेखि) मेलम्चीको पानी बन्द गरेको थियो । यसअघि, ०७८ को १ असार र १५ साउनमा पनि मेलम्ची नदीमा आएको बाढीले हेडवर्क्स र सुरुङमा क्षति पुगेको थियो । 

मेलम्ची बजारदेखि हेडवर्क्स क्षेत्र अम्बाथानसम्मको २२ किलोमिटरमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो भने यांग्री खोलातर्फ पाँच किलोमिटर सडकमा क्षति पुगेको थियो । काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ । तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । सुक्खा मौसममा भने जम्मा १३ करोड लिटर पानी आपूर्ति गरिरहेको छ । आयोजनाले पहिलो चरणमा १७ करोड लिटर पानी उपत्यका ल्याएको थियो । 

माग पूरा नभए आन्दोलन गर्ने हेलम्बु गाउँपालिकाको चेतावनी 
आयोजना र संघीय सरकारले आफ्ना मागको सम्बोधन नगरेपछि हेलम्बु गाउँपालिका आन्दोलन गर्ने चरणमा पुगेको छ । हेलम्बुको माग सम्बोधन नभए यसको प्रत्यक्ष असर आयोजनामा समेत पुग्नेछ । जसकारण फेरि उपत्यकामा पानी आउने मिति धकेलिनेछ । ११ चैत ०७७ मा उपत्यकावासीको धारामा पहिलोपटक मेलम्चीको पानी आएको थियो । असार ०७८ मा आयोजनास्थलमा आएको बाढीले हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि गाउँपालिकाले क्षतिपूर्तिसहित विभिन्न मागअघि सारेको थियो । जुन हालसम्म पूरा हुन नसकेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन ह्योल्मोले बताए । गाउँपालिकाले मेलम्ची पानी बिक्रीको २५ प्रतिशत रोयल्टी माग गरेको छ  । 

मेलम्चीको पानी काठमाडौं लगेबापत रोयल्टी र बिक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँटबापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउन उनीहरूको माग छ । मेलम्चीमा आएको बाढी र पहिरोले करिब चार सय घर पूर्ण रूपमा क्षति भएकाले प्रतिपरिवार १५ देखि २० लाख रकम उपलब्ध गराउनुपर्ने र बाढीबाट मृत्यु भएका आश्रित परिवारलाई क्षतिपूर्तिस्वरूप प्रतिपरिवार १० लाख उपलब्ध गराइदिनुपर्ने गाउँपालिकाको माग छ । अध्यक्ष ह्योल्मोले हेलम्बुवासीले काठमाडौंलाई पानी दिएबापत केही न केही पाउनुपर्ने बताए ।