यो केही वर्षअघिको एक वास्तविक र अत्यन्त प्रेरणादायी घटना हो, जहाँ एक शिक्षिकाको लगनले धेरैलाई आश्चर्यचकित बनायो । मेक्सिकोको ग्वानाजुवाटो भन्ने ठाउँमा एकजना ने नामकी शिक्षिका बस्थिन् । उनी अल–पासियो अल अल्टो विद्यालयमा फरक क्षमता भएका र अटिजम भएका विद्यार्थीलाई पढाउने गर्थिन् ।
जब कोरोना भाइरसको संक्रमण संसारभर फैलियो, त्यसपछि मानिसको भिडभाड हुने ठाउँ बन्द हुन थाल्यो । सार्वजनिक स्थलहरूमा मानिसको आवागमन लगभग ठप्प भयो । फलस्वरूप स्कुल–कलेजको पठनपाठन पनि बन्द भयो । सहरी क्षेत्रमा भएका विद्यालयले इन्टरनेटको माध्यमबाट पढाइ सुरु गरे । ग्रामीण क्षेत्रका विद्यार्थी इन्टरनेटको सुविधाबाट वञ्चित भएकाले तिनले पढाइलाई निरन्तरता दिन पाएनन् । शिक्षिका नेले पढाउने विद्यार्थीसँग पनि इन्टरनेटको सुविधा थिएन । उनीहरू पनि शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेका थिए ।
त्यस्तो परिस्थितिमा आफ्ना विद्यार्थीको पढाइमा असर नपरोस्, उनीहरूको पठनपाठन नछुटोस् भनेर नेले पिकअप ट्रकमा घन्टौँ लामो यात्रा गरेर त्यस्ता विद्यार्थीलाई पढाउन थालिन् । उनी घरघरबाट विद्यार्थी जम्मा गर्ने र उनीहरूलाई ट्रकको पछाडि राखेर पढाउने गर्थिन् । कोरोनाबाट बच्न उनले स्वास्थ्यका उपयुक्त मापदण्ड पनि अपनाएकी थिइन् ।
उनले वैकल्पिक तरिकाले शिक्षा दिएको तस्बिर ट्विटरमा सार्वजनिक भएपछि धेरै ठाउँबाट उनको कामले प्रशंसा पायो । यस्तो प्रशंसाबारे सुनेपछि शिक्षिका नेले भने आफूले खासै ठूलो काम नगरेको बताइन् । उनले आफ्ना विद्यार्थी फरक क्षमता भएकै कारण किन पढाइबाट छुटून् भन्ने सोचले यस्तो कार्य गरेको बताइन् ।