मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Wednesday, 15 January, 2025
केट ह्याम्प्टन
डेभिड मिलिब्यान्ड
२o८o मङ्सिर ४ सोमबार १o:o६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

खाद्य असुरक्षाको समाधानका चार उपाय

Read Time : > 2 मिनेट
केट ह्याम्प्टन
डेभिड मिलिब्यान्ड
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार १o:o६:oo

आज २० नोभेम्बरका दिन लन्डनमा बेलायतले विश्व खाद्य सुरक्षा सम्मेलनको आयोजना गर्दै छ र अन्तर्राष्ट्रिय विकासका लागि नयाँ रणनीति पनि सुरु गर्नेछ । गाजामा विद्यमान गम्भीर द्वन्द्वको संकटका दौरान पनि भोक, कुपोषण र खाद्य असुरक्षाको जारी संकटमा पनि हामीले ध्यान केन्द्रित गर्नु अपरिहार्य छ । विश्वभर अथाह पीडा व्यहोरिरहेका मानिसलाई समाधान प्रस्ताव गर्न इच्छुक एवं सक्षम बेलायत सरकार आवश्यक छ ।

हामीले नेतृत्व गर्ने संस्था चिल्ड्रेन्स इन्भेस्टमेन्ट फन्ड फाउन्डेसन (सिआइएफएफ) र इन्टरनेसनल रेस्क्यु कमिटी (आइआरसी) जोखिममा रहेका बालबालिका र परिवारको सुरक्षा गर्न प्रतिबद्ध छन् । गाजामा, आइआरसीले प्यालेस्टिनी नागरिकको जीवन बचाउन र खाद्यान्नमा तत्काल पहुँच बढाउन मानवीय युद्धविरामको विस्तृत प्रस्ताव राखेको छ भने सिआइएफएफले बाल कुपोषणजस्ता मुद्दाका लागि आवश्यक पहलकदमीको नेतृत्वका लागि मद्दत गरिरहेको छ । शिखर सम्मेलनको सफलता र विश्वव्यापी विकासमा सरकारको नयाँ दृष्टिकोणमा हाम्रो चासो छ । 

विश्वव्यापी भोकमरी संकट गम्भीर मोडमा आइपुगेको छ । यो वर्ष करिब ३४ करोड ५० लाख मानिसले तीव्रस्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् जुन सन् २०२० को आँकडाको तुलनामा दोब्बरभन्दा बढी हो । त्यसैगरी, पाँच वर्षमुनिका चार करोड ५० लाख बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन् । तीमध्ये करिब २० लाख बालबालिकाले हरेक वर्ष ज्यान गुमाउँछन् । र, यसमाथि जलवायु परिवर्तन र हिंसात्मक द्वन्द्वले समस्यालाई थप विकराल बनाइदिएको छ ।अघिल्लो दशकयता सिआइएफएफले बाल कुपोषणलाई सम्बोधन गर्न, पोषण सुधार गर्न र प्रभावकारी हस्तक्षेप सम्बन्धित खोज–अनुसन्धान गर्न ५० करोड डलरभन्दा बढी लगानी गरेको छ । सिआइएफएफ चाइल्ड न्युट्रिसन फन्डको एक महत्वपूर्ण साझेदार भएकामा गौरवान्वित महसुस गर्छ । 

आइआरसीले भने जलवायु परिवर्तनलगायत द्वन्द्व र संकटबाट प्रभावित ५० भन्दा बढी देशका मानिसलाई सहायता गर्छ । निरन्तरको नवप्रवर्तनमार्फत यसले कुपोषण र खाद्य असुरक्षाजस्ता समस्यालाई सम्बोधन गर्छ । निजर, पाकिस्तान, दक्षिण सुडान र सिरियाजस्ता मुलुकमा जलवायु–उत्थानशील बिउ उपलब्ध गराउने र किसान एवं परिवारका लागि सुरक्षित जीविकोपार्जन सुनिश्चित गर्नेजस्ता पहलले प्रभावकारी समाधान पहिल्याएका छन् ।

सफलताका लागि शिखर सम्मेलनले चार प्रमुख पहलकदमी चाल्नुपर्छ । पहिलो, सहभागीले पहिलेदेखि स्थापित लागत–प्रभावी समाधान र नवप्रवर्तन विस्तार गर्ने प्रतिज्ञा लिनुपर्छ । उदाहरणका लागि तयार चिकित्सकीय खाना (आरयुटिएफ) लाई लिन सकिन्छ । बदामको लेप हुने आरयुटिएफ एक समृद्ध पारिएको खाद्य पदार्थ हो जसले ९२ प्रतिशत गम्भीर कुपोषित बालबालिकालाई सघाउँछ । तर, द्वन्द्व प्रभावित क्षेत्रमा आरयुटिएफ धेरैको पहुँचमा छैन ।

यस वर्ष करिब ३४ करोड ५० लाखले तीव्रस्तरको खाद्य असुरक्षा सामना गरिरहेका छन् जुन सन् २०२० को तुलनामा दोब्बरभन्दा बढी हो

आइआरसीको एक दशकभन्दा बढी समयको अनुसन्धानले सरलीकृत र एकीकृत संहिता अपनाए आरयुटिएफजस्ता स्रोत सबै बालबालिकामाझ समान रूपमा विस्तार गर्न सकिन्छ भन्ने देखाएको छ । उदाहरणका लागि मालीमा आरयुटिएफजस्ता स्रोतले ३० प्रतिशत लागत बचत गरेको छ । विश्व स्वास्थ्य संगठनले पनि विश्वभर उपचारको विकेन्द्रीकरण र विस्तारतर्फ सकारात्मक कदम चाल्दै कुपोषणको उपचार र रोकथामसम्बन्धी नयाँ दिशानिर्देश प्रस्तुत गर्न शिखर सम्मेलनको प्रयोग गर्नेछ ।

दोस्रो, शिखर सम्मेलनले अन्तरसम्बन्धित जलवायु र खाद्य सुरक्षा संकटको प्रतिक्रियालाई एकीकृत गर्न सक्छ । आइआरसीको हालैको विश्लेषणले मानवीय सहायताका आवश्यकता १६ द्वन्द्व प्रभावित एवं जलवायु संवेदनशील देशमा मात्र आवश्यक भएको देखाउँछ । जलवायु लगानीको महत्वलाई ध्यानमा राख्दै शिखर सम्मेलनको नतिजालाई आगामी राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) र बेलायत सरकारको नयाँ विकास रणनीतिसँग मिलान गर्न आवश्यक छ ।

जोखिममा परेका समुदायमा जलवायु लगानी प्रवाह गर्न स्थानीयस्तरमा जलवायु जोखिम नक्सांकन बढाउन र कोप २७ नोक्सान र क्षति कोष सक्रिय गर्न आवश्यक छ । क्षतिपूर्तिका लागि हुने समर्थन मौजुदा प्रतिबद्धताको पूरक हुनुपर्छ र यी पूरक समुदायको आवश्यकतासँग मिल्दोजुल्दो हुनुपर्छ । जलवायु लगानीलाई सम्बोधन गर्न विश्वव्यापी ऋण संकटको सामना गर्न र दिगो ऋण व्यवस्थालाई प्रोत्साहन गर्नु हो । किनभने सीमित वित्तीय अवस्था भएका मुलुकले मानव संसाधनमा लगानी गर्न र खाद्य असुरक्षा रोक्न संघर्ष गर्ने गर्छन् ।

तेस्रो, शिखर सम्मेलनले सन् २०२४ भित्र विश्वव्यापी पोषण–वित्तको खाडललाई पूरा गर्ने चरण तय गर्न सक्छ । दातृ सरकारले आगामी न्युट्रिसन फर ग्रोथ शिखर सम्मेलनलाई महत्वाकांक्षाका साथ लिएर खाद्य सुरक्षाका लागि आफ्नो व्यक्तिगत आर्थिक सहायतालाई प्रोत्साहन गर्नुपर्छ र थप प्रभावकारी एवं समावेशी कोषको परिचालनको पहल गर्नुपर्छ ।

अन्त्यमा, शिखर सम्मेलनले विश्वका नेता र साझेदार सरकारलाई एकताबद्ध गरेर खाद्य असुरक्षालाई एकैपटक र सदाका लागि सम्बोधन गर्ने राजनीतिक इच्छाशक्तिलाई परिचालन गर्नुपर्छ । विश्वव्यापी नेताको महत्वाकांक्षी भाष्य राष्ट्रिय पोषण र खाद्य सुरक्षा योजनालाई समर्थन गर्दै तिनलाई कार्ययोग्य नीतिमा रूपान्तरण गर्नुपर्छ । एकताबद्ध समन्वित प्रयासमार्फत हामी बेलायतको नेतृत्व क्षमता देखाउँदै विश्वव्यापी खाद्य असुरक्षासँग लड्न सक्छौँ ।

विश्व खाद्य सुरक्षा शिखर सम्मेलन र यसको विकास रणनीति एक प्रमुख उत्प्रेरक हुन सक्छ । एक दशकपहिले एन्ड्रयु मिचेल र डेभिड क्यामरुनले सन् २०१३ को न्युट्रिसन फर ग्रोथ शिखर सम्मेलनमा पोषण सहायताका लागि महत्वपूर्ण रकम सुरक्षित गर्न मद्दत गरेका थिए । अहिले फेरि एकपटक बेलायत र यसका साझेदारले परिणाममुखी काम गर्नुपर्छ । 
(ह्याम्प्टन सिआइएफएफकी प्रमुख कार्यकारी अधिकृत हुन् र मिलिब्यान्ड आइआरसीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हुन्) प्रोजेक्ट सिन्डिकेटबाट