१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ४ सोमबार
  • Friday, 05 July, 2024
२o८o मङ्सिर ४ सोमबार o७:४२:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

सी–बाइडेन सान फ्रान्सिस्को शिखर सम्मेलनका प्रभाव

शिखर बैठकमा सहभागी दुवै देशले एक–अर्काको चासोलाई कत्तिको गम्भीरतापूर्वक लिन्छन्, सान फ्रान्सिस्को बैठकको सफलता त्यसैबाट पुष्टि हुनेछ

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ४ सोमबार o७:४२:oo

बहुप्रतीक्षित सी–बाइडेन शिखर सम्मेलन नोभेम्बर १५ मा सान फ्रान्सिस्कोमा सम्पन्न भएको छ । सम्मेलनमा दुई नेताले चीन–अमेरिका सम्बन्धका साथै वर्तमान अन्तर्राष्ट्रिय मामिलाका प्रमुख मुद्दामा स्पष्ट र गहिरो विचार आदान–प्रदान गरेका छन् । वार्ताका क्रममा दुई राष्ट्रपतिले बैठकको प्रभावकारिता पुष्टि गर्दै एक–अर्कासँग सञ्चार र सम्पर्क जारी राख्ने वाचा गरेका छन् । सी–बाइडेन सान फ्रान्सिस्को शिखर सम्मेलनले विश्वका दुई आर्थिक र सैन्य शक्तिराष्ट्रले द्विपक्षीय सम्बन्धलाई सहज र स्थिर बनाउन र सहयोगका अवसर खोज्नुका साथै आफूहरूको विश्व समुदायप्रति थप बढी जिम्मेवारी रहेको पुष्टि गर्न प्रतिबद्ध रहेको सन्देश दिएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ यीले शिखर वार्तापछि पत्रकारलाई दुई राष्ट्र प्रमुखबीच निकै राम्रो, व्यापक र गहन भेटवार्ता भएको बताए । यीले सी र बाइडेन चीन–अमेरिका सम्बन्धमा सातबुँदे सहमतिमा पुगेको जानकारी दिए, जसमा एक–अर्कालाई सम्मानपूर्वक व्यवहार गर्ने, एक–अर्कासँग शान्तिपूर्ण रूपमा बस्न मार्ग खोज्ने, खुला सञ्चारको लाइन कायम गर्ने, द्वन्द्व रोक्ने, संयुक्त राष्ट्रसंघको बडापत्रलाई समर्थन गर्ने, साझा चासोका क्षेत्रमा सहयोग गर्ने र दुई देशबीचका सम्बन्धका प्रतिस्पर्धी पक्षलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने बुँदा समावेश छन् । यी सात बुँदा महत्वपूर्ण छन् र यसले दुई पक्षबीचको अर्को गहन छलफलका लागि बलियो जग बसाल्ने विश्वास वाङले व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले पनि सीसँगको वार्तालाई रचनात्मक र फलदायी छलफल भनेका छन् । सोसल मिडिया प्लाटफर्म एक्समा ट्विट् गर्दै बाइडेनले दुई नेताले वार्ताका क्रममा ‘वास्तविक प्रगति’ गरेको बताएका छन् ।

बाइडेनसँगको शिखर सम्मेलनमा राष्ट्रपति सीले विश्व इतिहासमा प्रमुख राष्ट्रबीच घटेका द्वन्द्वका साथै पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक लाभदायक सहयोगको जगमा स्थापित ५० वर्षको चीन–अमेरिका सम्बन्धबाट दुवै देशले पाठ सिक्न आवश्यक रहेको उल्लेख गर्दै चीन र अमेरिकाबीचको द्वन्द्व र टकराव अथवा एक–अर्कालाई परिवर्तन गर्ने रणनीतिले दुवै पक्षका लागि असहनीय परिणाम ल्याउने बताएका छन् । सीले चीन–अमेरिका सम्बन्धलाई नयाँ दृष्टिकोणबाट हेर्नुपर्ने र दुई देशबीचको सम्बन्ध सुदृढ गर्न पाँचवटा स्तम्भ निर्माण गर्नुपर्ने बताएका छन् ।

संयुक्त रूपमा दुई राष्ट्रले एक–अर्काप्रति सही धारणा विकास गर्नुपर्ने आवश्यकता सीले औँल्याएका छन् । चीन अमेरिकासँग स्थिर, स्वस्थ र दिगो सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको भन्दै चीनका केही मूल स्वार्थको अमेरिकाले सम्मान गर्नुपर्नेमा सीले जोड दिएका छन् । त्यस्तै, दुई देशबीचका असहमति दुई देशलाई टाढा राख्ने खाडल बन्न दिन नहुने बताउँदै सीले त्यस्ता असहमतिलाई संयुक्त रूपमा शान्तिपूर्वक व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

असहमतिबाट सिर्जना हुन सक्ने दुर्घटनालाई नियन्त्रण अथवा रोक्न दुई देशबीच अधिक सञ्चार, संवाद र परामर्श आवश्यकता रहेकोमा सीले जोड दिएका छन् । तेस्रो स्तम्भका रूपमा सीले दुई देशबीच अर्थतन्त्र, व्यापार र कृषिजस्ता परम्परागत क्षेत्रका साथै जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्ता (एआई)जस्ता उदीयमान क्षेत्रमा पनि संयुक्त रूपमा पारस्परिक लाभकारी सहयोगलाई अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । वर्तमान परिस्थितिमा (बढ्दो चीन–अमेरिका टकराव)समेत चीन र अमेरिकाबीच व्याप्त साझा हितका मुद्दा नघटेको बरु उल्टै बढेको भन्दै सीले दुई देशले परराष्ट्र नीति, अर्थतन्त्र, वित्त, वाणिज्य, कृषि र अन्य क्षेत्रमा पुनस्र्थापित र नयाँ संयन्त्रको पूर्ण उपयोग गर्न जरुरी रहेको र लागुऔषधविरोधी, न्यायिक तथा कानुन प्रवर्तन मामिला, एआई, र विज्ञान तथा प्रविधिजस्ता क्षेत्रमा सहकार्य गर्नु महŒवपूर्ण रहेको बताएका छन् ।

मानव समाजले सामना गरिरहेका समस्या प्रमुख देशबीचको सहकार्यविना समाधान हुन नसक्ने बताउँदै राष्ट्रपति सीले चीन र अमेरिका दुवैले प्रमुख देशका रूपमा संयुक्त जिम्मेवारी वहन गर्न आवश्यक रहेको बताएका छन् । सीले भने– विश्वको फाइदाका लागि प्रमुख राष्ट्रका नाताले चीन र अमेरिकाले अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा समन्वय र सहयोग बढाउनुका साथै विश्वका लागि थप सार्वजनिक वस्तु उपलब्ध गराउन आवश्यक छ । यसका लागि एउटाको पहल र योजना अर्काका लागि खुला राख्न आवश्यक छ ।

सी–बाइडेन सान फ्रान्सिस्को शिखर सम्मेलनले विश्वका दुई आर्थिक र सैन्य शक्तिराष्ट्रले द्विपक्षीय सम्बन्धलाई सहज र स्थिर बनाउन सहयोगका अवसर खोज्नुका साथै आफूहरूको विश्व समुदायप्रति थप बढी जिम्मेवारी रहेको पुष्टि गर्न प्रतिबद्ध रहेको सन्देश दिएको छ
 

दुई राष्ट्रबीचको सम्बन्ध मजबुत गर्ने पाँचौँ स्तम्भका रूपमा सीले संयुक्त रूपमा जनताबीचको आदान–प्रदानलाई बढवा दिन आवश्यक रहेकोमा जोड दिएका छन् । यसका लागि दुवै पक्षले निर्धारित उडान बढाउने, पर्यटन–सहयोगलाई अगाडि बढाउने, शिक्षा र अपांगतासम्बन्धी मामिलामा सहयोग सुदृढ गर्ने, जनमानसको आदान–प्रदानमा बाधा पु¥याउने नकारात्मक कारकलाई कम गर्ने र दुई देशका जनताबीचको अन्तत्र्रिmया र सञ्चारलाई प्रोत्साहन र समर्थन गर्ने रहेका छन् ।

सीले बाइडेनसँगको शिखर वार्तामा ताइवान मुद्दा चीन–अमेरिका सम्बन्धमा सबैभन्दा महत्वपूर्ण र संवेदनशील रहेको उल्लेख गरेका छन् । उनले चीन पुनर्मिलनको विषयमा दृढ रहेको बताउँदै अमेरिकी पक्षलाई ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्न, ताइवानलाई हतियार दिन बन्द गर्न र चीनको शान्तिपूर्ण पुनर्मिलनलाई समर्थन गर्न आग्रह गरेका छन् ।

त्यस्तै, बाइडेनसँगको वार्ताका क्रममा सीले अमेरिकाले चीनविरुद्ध लिएको निर्यात र लगानी नियन्त्रणका नीति र एकपक्षीय प्रतिबन्धले चीनको वैधानिक हितलाई गम्भीर रूपमा कमजोर पारेको र चीनको प्राविधिक प्रगतिलाई रोक्नु भनेको चीनको उच्च गुणस्तरीय विकासलाई रोक्ने र चिनियाँ जनतालाई विकासको अधिकारबाट वञ्चित गर्ने कदम भएको भन्दै अमेरिकी पक्षले चीनको चिन्तालाई गम्भीरताका साथ लिन र चिनियाँ व्यवसायलाई समान, निष्पक्ष र भेदभावरहित वातावरण प्रदान गर्न एकपक्षीय प्रतिबन्ध हटाउन ठोस कदम चाल्न महत्वपूर्ण रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र अमेरिका प्रतिस्पर्धामा रहेको र अमेरिकाले आफ्ना शक्तिका स्रोतमा लगानी गर्न जारी राख्ने बताएका छन् । यद्यपि, उनले विश्वले अमेरिका र चीनलाई द्वन्द्व, टकराव वा नयाँ शीतयुद्धमा जानबाट रोक्नका लागि जिम्मेवारीपूर्वक प्रतिस्पर्धाको व्यवस्थापन गर्ने अपेक्षा गरेको र आफ्नो प्रशासन त्यस विषयमा गम्भीर रहेको उल्लेख गरेका छन । त्यस्तै, जलवायु परिवर्तन र लागुऔषधको विश्वव्यापी चुनौतीदेखि कृत्रिम बुद्धिमत्ताका विषयसम्म दुई राष्ट्रबीचको सहकार्य दुवैको हितमा रहेको उल्लेख गर्दै त्यस विषयमा दुवैले सहयोग र सहकार्य अभिवृद्धि गर्न जरुरी रहेको बाइडेनले बताएका छन् ।

सीसँगको भेटमा बाइडेनले सिनजियाङ, तिब्बत र हङकङमा मानव अधिकार उल्लंघनबारे चिन्ता व्यक्त गरेका थिए । ताइवानका सम्बन्धमा बाइडेनले अमेरिकाको एक चीन नीति परिवर्तन नभएकोमा जोड दिँदै अमेरिका चीन र ताइवानबीचका मतभेद शान्तिपूर्ण माध्यमबाट समाधान हुने पक्षमा रहेको र अमेरिकाले कुनै पनि एकपक्षीय परिवर्तनको विरोध गर्ने बताएका छन् ।

उनले ताइवान स्टेट र वरपर चीनको सैन्य गतिविधिमा संयमताका लागि आह्वान गरेका छन् । राष्ट्रपति बाइडेनले चीनका अनुचित व्यापार नीति, बजारविरोधी आर्थिक अभ्यास र अमेरिकी फर्मविरुद्ध दण्डात्मक कार्यले अमेरिकी कामदार र परिवारलाई हानि पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, बाइडेनले आफ्नो राष्ट्रिय सुरक्षालाई कमजोर पार्न सक्ने चिनियाँ उन्नत प्रविधिको प्रयोग गर्नबाट रोक्न अमेरिकाले आवश्यक कारबाही जारी राख्ने बताएका छन् ।

यसमा कुनै शंका छैन, आपसी शत्रुताले अमेरिका र चीन दुवैमा हानि पुर्‍याएको छ । यस परिवेशमा सी–बाइडेनको उच्च भेटघाट यो दुष्चक्र तोड्ने प्रयास अवश्य हो । तर, चीन र अमेरिकाबीचको सम्बन्धमा बाधा पुर्‍याउने प्रमुख मुद्दा अझै विद्यमान छन् । अमेरिकाले चीनसँगको व्यापार नीति र चीनमा अमेरिकी उन्नत प्रविधिको निर्यात प्रतिबन्धमा कुनै परिवर्तन गरेको छैन ।

बाइडेनले सीसँगको भेटमै चीनलाई प्रतिस्पर्धीका रूपमा वर्णन गरेका छन् र अमेरिकी हित सुरक्षाका लागि अमेरिकाले अघि सारेका नीतिलाई जारी राख्ने बताएका छन् । यस मानेमा दुवै राष्ट्रबीचको सम्बन्ध शिखर सम्मेलनपश्चात् नै द्रुुतगतिमा सुध्रिन्छ भन्ने छैन । दुई देशबीचको चिसिएको सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप गत वर्ष पनि राष्ट्रपति बाइडेन र सीले बालीमा शिखर सम्मेलन गरेका थिए । तर, सी–बाइडेनको बाली शिखर वार्ताको तीन महिना नबित्दै दुई राष्ट्रबीचको सम्बन्ध तल्लो बिन्दुमा पुगेको थियो । यसपटक पनि सीसँगको भेटलगत्तै पत्रकारसँगको अन्तत्र्रिmयामा बाइडेन सीलाई पुनः तानाशाह भन्न पछि परेनन् । 

अमेरिकी चुनाव नजिकिँदै गर्दा चीनविरोधी अभिव्यक्ति, ताइवान मुद्दालाई लिएर छेडखानी थप बढ्ने निश्चित छ भने चीनसँगको सम्बन्धमा आफूलाई बलियो र श्रेष्ठ देखाउने हरप्रयास दलहरूले गर्नेछन् । चुनावपछिको परिवेश कस्तो रहने हो, स्पष्ट छैन । अर्कातर्फ, चिनियाँ संस्कृति र जीवनमा ‘मियान्ज’ अथवा एकको सामाजिक स्थिति र प्रतिष्ठालाई अर्काले कस्तो मान्यता दिन्छ, त्यसले अत्यन्त महत्व राख्छ ।

घट्दो आर्थिक वृद्धि र बढ्दो बेरोजगारीबीच जनतासामु आफ्नो प्रतिष्ठा पुष्टि गर्न चिनियाँ सरकारलाई अमेरिकाविरुद्ध थप आक्रामक देखिन बाध्य पार्न सक्छ । यी मुद्दा बढ्दै जाँदा दुई देशबीचको सम्बन्ध थप बिग्रन सक्छ । निश्चय पनि चीन र अमेरिका प्रतिस्पर्धात्मक सम्बन्धमा छन् । यद्यपि, दुवै पक्षले तनाव व्यवस्थित गर्न र थप बिग्रनबाट रोक्नुका फाइदा पनि बुझेका छन् । कुनै पनि शिखर बैठकको सफलता दुई देशले एकअर्काको चासोलाई कत्तिको गम्भीरतापूर्वक लिन्छन् त्यसबाट मात्रै पुष्टि गर्न सकिन्छ । सी–बाइडेनबीचको सान फ्रान्सिस्को शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध कसरी अघि बढाउँछ, हेर्न बाँकी नै छ ।

ad
ad
ad
ad