
विभिन्न बैंकका चेक र नगदसहित ३४ लाख ८२ हजार आठ सय ८५ रुपैयाँ बरामद
तिहारको पाँच दिनमा उपत्यकाभित्रबाट मात्रै एक सय ६५ जुवाडे पक्राउ परेका छन् । उनीहरूबाट विभिन्न बैंकका चेक र नगदसहित ३४ लाख ८२ हजार आठ सय ८५ रुपैयाँ बरामद भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उनीहरूमध्ये एक सय ३३ जना तास खेल्ने क्रममा र ३२ जना कौडा खेल्ने क्रममा पक्राउ परेका छन् । उनीहरूबाट २० हजार रुपैयाँको चेक बरामद भएको र बाँकी ३४ लाख ६२ हजार आठ सय ८५ रुपैयाँ नगद बरामद भएको छ ।
कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले तिहारका वेला उपत्यकाभित्रबाट मात्रै एक सय ६५ जुवाडे पक्राउ परेको बताए । उनले भने, ‘तिहारका वेला जुवा खेल्ने र खेलाउने गतिविधिप्रति प्रहरीको कडा निगरानी थियो ।
सोही क्रममा एक सय ६५ जुवाडे पक्राउ परेका छन् । उनीहरूबाट ३४ लाख रुपैयाँभन्दा बढी रकम बरामद भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’