१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
हङकङ प्रस्थान गर्ने महिला क्रिकेट टोलीलाई बिदाइ गर्दै क्यानका पदाधिकारी । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२०८० कार्तिक २६ आइतबार ०८:०४:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नयाँ कप्तान र प्रशिक्षकलाई अवसर

नेपाल क्रिकेट संघले पुरुष टोलीझैँ महिलातर्फ पनि नतिजा चाहना राख्दै प्रशिक्षकमा मनोज कटवाल र कप्तानमा इन्दु बर्मालाई नियुक्त गरेको छ, दुवैजना डेब्युमै आफूलाई प्रमाणित गर्ने दबाबमा छन्

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
२०८० कार्तिक २६ आइतबार ०८:०४:००

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा अहिले ठूलो परिवर्तन भएको छ । एक हिसाबले भन्दा महिला क्रिकेट टोलीको नयाँ अध्याय प्रारम्भ भएको मानिन्छ । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वले पुरुष टोलीझैँ महिला क्रिकेटमा पनि उपलब्धि चाहेको छ । त्यसैले क्यानले सुरुवाती चरणमा कप्तान र प्रशिक्षक परिवर्तन गर्‍यो । क्यानले कप्तानमा अलराउन्डर इन्दु बर्मा र घरेलु क्रिकेटका सफल प्रशिक्षक मनोज कटवाललाई जिम्मेवारी दिएको छ । यसैगरी, तीन नयाँ अनुहारलाई टोलीमा समावेश गर्‍यो । सन् २०१२ मा नेरी थापाको स्थान लिँदै रुबिना क्षेत्री कप्तान बनेकी हुन् । क्यानले उपकप्तानको जिम्मेवारी बिन्दु रावललाई दिएको छ । 

रुबिनासँगै सीता रानामगर अल स्टार्स टी–२० सिरिज खेल्न हङकङमा नै छन् । क्यानको कार्यसम्पादन टोलीले हङकङमा चार देश सम्मिलित शृंखला खेल्ने निर्णय गरेको छ । जहाँ नयाँ कप्तान र प्रशिक्षक अनुबन्ध गर्दै क्यानले पुरुष टोलीझैँ महिला क्रिकेटमा परिवर्तन चाहेको बताएको छ । ‘हामीले कप्तान परिवर्तन गरेका छौँ । हामी नतिजा चाहन्छौँ । व्यक्ति परिवर्तनभन्दा पनि सोच परिवर्तनमा जान्छौँ । अहिलेको प्रतियोगिताबाट अनुभवी टोली र युवा खेलाडी आऊन् । महिला टोलीले पनि पुरुष टोलीझैँ नतिजा ल्याउन सक्छ,’ क्यानका नवनियुक्त सचिव पारस खड्काले भने, ‘रुबिनाले १०–११ वर्ष एकदमै महŒवपूर्ण समय र योगदान गर्नुभएको छ । उहाँको मूल्यांकन हुन्छ नै,’ पूर्वकप्तान खड्काले भने । 

पुरुष टोली १० वर्षपछि पुनः विश्वकपमा छनोट भएको छ । एसिया कपमा स्थान बनाउँदै विश्वका महारथी भारत र पाकिस्तानविरुद्ध बहादुरीपूर्ण प्रदर्शन गर्‍यो । १९औँ एसियाडमा विश्व कीर्तिमानको चाङ लगायो । आगामी चार वर्षका लागि एकदिवसीय मान्यता कायम राख्यो । मोन्टी देसाईको प्रशिक्षणमा पुरुष टोलीले वाहवाही पाएको छ । यता, महिला टोली भने विश्वकप छनोट र एसिया छनोटमै खुम्चिएको छ ।

विभिन्न शृंखलामा पनि प्रदर्शन कमजोर बनेको छ । रुबिना एक दशक कप्तान रहे पनि आशाअनुसारको प्रदर्शन नआएपछि नयाँ निर्णय लिएको क्यान पदाधिकारीले बताएका छन् । हाल महिला टोलीमा इन्दु, बिन्दु, रुबिना र सीतासहित खुसी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुबी पोदार छन् । टोलीमा रहेकी कञ्चन, सोमु र सोनी नयाँ अनुहार हुन् । प्रशिक्षक कटवालले तीनै खेलाडी प्रतिभावान् रहेको र महिला क्रिकेटको भविष्य भएको बताएका छन् । ‘नयाँ खेलाडी पनि निकै प्रतिभावान् छन् । उनीहरू नेपालको भविष्य हुन्,’ करिब ६ वर्ष राष्ट्रिय टोलीबाट खेलेका कटवालले भनेका छन् । प्रशिक्षक कटवालले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लब र फ्रेन्चाइज चितवन राइनोजलाई च्याम्पियन बनाइसकेका छन् । 

च्याम्पियन बन्ने लक्ष्य 
नेपाली महिला टोलीले च्याम्पियन भएर स्वदेश फर्कने योजना बनाएको छ । टोली प्रशिक्षक कटवाल र कप्तान इन्दुले च्याम्पियन हुन खेल्ने बताएका छन् । ‘छोटो समयको तयारी छ । तर, खेलाडी अनुभवी छन् । नयाँ खेलाडी पनि उस्तै क्षमतावान् छन् । हामी च्याम्पियन भएर स्वदेश फर्कन्छौँ,’ प्रशिक्षक कटवालले भने, ‘हाम्रो लक्ष्य ट्रफी ल्याउने हो । मलाई लाग्छ, हामी च्याम्पियन भएर आउँछौँ । जापान र तान्जेनियासँग खेलेका छैनौँ । हामी उनीहरूसँग राम्रो गर्छाैं । हङकङसँग प्रतिस्पर्धामा जान्छौँ ।’ कप्तान इन्दुले बलिङ राम्रो भए पनि फिल्डिङ र ब्याटिङमा कमजोर भएको बताइन् । उनले कमजोर पक्षमा ध्यान दिँदै सबै खेल जित्न खेल्ने प्रतिक्रिया दिइन् । ‘सजिलो पक्कै छैन । ब्याटिङ, बलिङ, फिल्डिङ र फिटनेसलाई ध्यान दिँदै राम्रो नतिजा ल्याउने लक्ष्य छ,’ कप्तान इन्दुले भनिन्, ‘पहिलोपटक कप्तान भएकी छु । यो उपाधि नै जित्न चाहन्छौँ ।’

 नेपाली टोलीको बिदाइ
टोलीलाई शनिबार क्यानले एक कार्यक्रमका बीच बिदाइ गरेको छ । क्यानका सचिव खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदीप शर्माले टोलीको बिदाइ गरेका हुन् । नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्नेछ । सचिव खड्काले पुरुष टोलीझैँ प्रदर्शन गर्न र उपाधि जित्न शुभकामना दिए । उनले अहिलेको प्रदर्शनले भविष्यको ढोका खोल्ने हुँदा राम्रो प्रदर्शन गर्न आग्रह गरे । ‘अहिले पुरुष टोली निकै लयमा छ । हजुरहरूको पनि प्रदर्शन सोहीअनुसार होस् । हामी च्याम्पियन भएको हेर्न चाहन्छौँ । यस प्रतियोगिताको प्रदर्शनले आगामी बाटो खुल्नेछ,’ खड्काले भने । 

आक्रामक खेल खेल्छौँ : मनोज कटवाल
प्रशिक्षक, नेपाल 

चुनौती धेरै छन् । छोटो समयको तयारी छ । प्रतिस्पर्धी पनि राम्रा छन्, च्याम्पियन भएर फर्कन्छौँ । हामी बलिङमा धेरै राम्रो छौँ । तर, ब्याटिङ र फिल्डिङमा कमजोर हौँ । ६–७ दिनमा राम्रो गर्ने प्रयास गरेका छौँ । सिनियर खेलाडी सधैँ तयार हुन्छन् । नयाँले पनि राम्रो गरिरहेका छन् । नयाँ तीन खेलाडी नेपाली क्रिकेटका भविष्य हुन् । फिल्डिङमा ल्याक छ । डटबल धेरै छ । २० मध्ये ९ ओभर नै डट छ । यसमा ध्यान दिएका छौँ । सिंगल–डबलभन्दा पनि हिटिङमा जान्छौँ । सीता र रुबिना सिनियर छन् । उनीहरूले इन्दुलाई अगाडि बढाउनुपर्छ । प्रशिक्षक, व्यवस्थापक सबैजनाले सहयोग गर्दै छौँ । पारस, विनोद दासजस्तै इन्दुबाट महिला क्रिकेटमा कायापलट हुन्छ । मलाई लाग्छ, यो टिम अब राम्रो बन्छ । 

कप्तानी जिम्मेवारी चुनौतीपूर्ण : इन्दु बर्मा
कप्तान, महिला क्रिकेट

नयाँ अवसरका लागि खुसी छु । यसलाई चुनौतीको रूपमा लिएकी छु । तयारी छोटो समयमा भएको छ । हामीले फिल्डिङ र फिटनेसमा ध्यान दिएका छौँ । मेरो नेतृत्वमा नयाँ टोली बनेको छ । नयाँ अनुहारले स्थान पाएका छन् । राम्रो गर्नेमा आशा छ । ब्याटिङ, बलिङ, फिल्डिङ र फिटनेसलाई ध्यान दिँदै राम्रो नतिजा ल्याउने लक्ष्य छ । कप्तानी भूमिका सजिलो त हुँदैन । सबै जिम्मेवारी लिनुपर्छ । राम्रो नतिजा ल्याउन प्रयास गर्छु । जापान र तान्जेनिया राम्रा छन् । राम्रो खेल्दै जित्दै जान्छौँ । पुरुष टोलीजस्तै खेल्छौँ । पुरुष टोलीलाई हेरेर खेल्न निकै ऊर्जा बढेको छ । मेरो नेतृत्वमा नयाँ टोली छ । बिस्तारै राम्रो हुँदै जान्छ भन्ने आशा छ ।