१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

आर्थिक समस्या समाधान गर्न तिहारलगत्तै बृहत् भेला : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:३५:oo

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समस्या समाधानका निम्ति लगातार प्रयत्न गरिरहेको बताएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत कीर्तिपुरमा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले आर्थिक समस्या समाधानका निम्ति तिहारलगत्तै बृहत् भेलाको आयोजना गर्ने त्यहाँबाट निष्कर्ष निकालेर अर्थतन्त्रमा गुणात्मक फड्को मार्ने गरी काम गर्ने बताए । 

‘मौद्रिक नीति र वित्तीय नीतिको अन्तर्विरोध समाधान गर्न, बैंकको ब्याजदर घटाउनका निम्ति, जग्गाको कित्ताकाट खुलाउनका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति धेरै मिहिनेत गरियो । भनेजस्तो परिणाम आएन, अझै पनि आएको छैन । केही सुधार पक्कै पनि भएको छ,’ प्रचण्डले भने, ‘श्रीलंका नै हुन्छ भन्ने आतंक अब छैन । अहिले राजस्व पनि वृद्धि हुन थालेको छ । इतिहासमै सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । रेमिट्यान्स पनि बढेको छ । विदेशी मुद्दाको सञ्चिति पनि उत्साहप्रद छ । आर्थिक समस्या समाधानका निम्ति तिहारलगत्तै बृहत् भेलाको आयोजना पनि गर्दै छु । त्यसबाट निष्कर्ष निकालेर अर्थतन्त्रमा एउटा गुणात्मक फड्को मार्ने काम हुन्छ ।’  

सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारले काम गरिरहेको उनले बताए । राम्रो कामबारे जनतालाई बुझाउन सकियो भने जनतामा लहर पैदा हुने र प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादीका षड्यन्त्रलाई परास्त गर्न सकिने उनले बताए । ‘अब सरकारबाट काम गरिएन भने संविधान, लोकतन्त्र, गणतन्त्र र राष्ट्र नै धरापमा पार्ने अवस्था आइलागेको छ । सजिलो त छैन । हामी ०६४ को जस्तो शक्तिका साथ सरकारमा त छैनौँ । आवश्यकता र बाध्यता जे भने पनि म नेतृत्वमा फेरि तेस्रोपटक आएँ । सरकारबाट कामको थालनी गर्नुपर्छ । सामाजिक न्याय, सुशासन र समृद्धिको नारा दिएर सरकार अगाडि बढिराखेको छ,’ उनले भने । 

आँट गरेर सरकारले जनताको पक्षमा काम गरिरहेको प्रचण्डको दाबी छ । सरकारको कामबाट आमजनतामा आशाको रक्तसञ्चार भएको, यद्यपि प्रतिक्रान्तिकारीहरूले अनेक अफवाह फैलाउने गरेको उनको भनाइ छ । ‘०६४ एउटा स्थिति थियो । हामी ०६४ मै त फर्किन सक्दैनौँ । अब आउने भनेको ०८४ हो । ०८४ मा ०६४ कै जस्तो हामी जनताको पक्षमा, जनताको भरोसा र विश्वास जित्न सक्छौँ कि सक्दैनौँ ? हामीले सरकारबाट पनि एउटा नयाँ आन्दोलनको सुरुवात गरेकै छौँ, अझै गर्छौँ,’ प्रचण्डले भने, ‘कति दिन सरकार रहन्छ, मुख्य कुरा होइन । मुख्य कुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा हामी कति राम्रा काम गर्छौँ, त्यो मुख्य कुरा हो । राम्रो कामबारे जनतालाई बुझाउन सकियो भने एउटा लहर जनतामा पैदा हुन्छ र प्रतिक्रान्तिकारी र प्रतिक्रियावादीका षड्यन्त्र परास्त गर्न सकिन्छ भन्ने विश्वासका साथ हामी अगाडि बढेका छौँ ।’ 

माओवादीको रूपान्तरण अभियान पार्टीका लागि मात्रै नभएर राष्ट्र बचाउने अभियान भएको प्रचण्डले दाबी गरे । परिवर्तनको रक्षा र उपलब्धिको संस्मरण गर्दै समाजवादको यात्रामा जाने उनले बताए । समाजवादको आधार तयार पार्ने जिम्मेवारी पनि माओवादीको भएको भन्दै उनले विचार, आचरण, शैली र काम गर्ने तरिकामा परिवर्तन गरेर अगाडि बढेको बताए । ‘परिवर्तनको नेतृत्व गर्ने पार्टी कमजोर भएपछि त्यसको मूल्य हामीले चुकाउनुपर्थ्यो । चुकायौँ पनि । तर, स्थिति के देखाप¥यो भने, सिंगो राष्ट्रले चुकाउनुपर्ने स्थिति आइलाग्यो,’ उनले भने, ‘अब फेरि प्रतिक्रान्तिकारीहरू, सामन्ती निरंकुशतावादी, विदेशी प्रभुत्ववादी कुनै न कुनै रूपमा नेपाललाई कमजोर पार्ने र यो परिवर्तन उल्ट्याउने सपना देख्न थाले । ती दुस्साहस देखिन थाले । यी सबै परिस्थितिको जिम्मा कसले लिने ? कसले नेतृत्व गर्ने हो त ? सबैभन्दा बढी दायित्व कसको हो भन्नेबारेमा धेरै गम्भीरतापूर्वक छलफल गरेर रूपान्तरण अभियान सञ्चालन गरेका हौँ । नेपाल राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता, सामाजिक सद्भावको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो पार्टीमा छ ।’

ad
ad