१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २४ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक २४ शुक्रबार १६:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

टिकटक हेरेपछि आर्केस्ट्रा नाच्न घरबाट भागेका थिए पाँच किशोरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २४ शुक्रबार १६:o९:oo

महोत्तरीको औरही नगरपालिका– २ फुल्काहाका पाँच किशोरी गत मंगलबारदेखि परिवारबाट सम्पर्कविहीन भए। बिहीबार धनुषाको ढल्केबर चोकमा फेला पारी उनीहरूलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ।

उनीहरू आर्केस्ट्रामा नाच्न घरपरिवारलाई जानकारी नदिई हिँडेको खुलेको छ। प्रहरी कार्यालय गौशालाका इन्चार्ज प्रहरी निरीक्षक मनोज यादवका अनुसार फेला परेका किशोरीहरूले आर्केस्ट्रामा नाच्न घरबाट भागेको बयान दिएका हुन्। प्रहरीले ‘इन्सेक’, ‘आफन्त नेपाल’का प्रतिनिधिहरू र सञ्चारकर्मीको उपस्थितिमा उनीहरूसँग सोधपुछ गरेको थियो।

सुरुमा कहीँ–कतै कुनै व्यक्तिसँग सम्पर्क नरहेको र आफैँ भागेको बताएका किशोरीहरूले छुट्टाछुट्टै सोधपुछ गर्दा आर्केस्ट्रामा नाच्नका लागि घर छाडेर भागेको बताएका यादवले जानकारी दिए।

आफ्नो दिदी माइती आएको वेला उनको मोबाइलमा टिकटकमा आर्केस्ट्रा नाच हेरेपछि आफूलाई समेत आर्केस्ट्रा नाच्न मन लागेको २० वर्षीया रुबी सदाले बताइन्। उनले साथीहरूसँग समेत छलफल गर्दा उनीहरूले पनि सहमति जनाएपछि टिकटकबाटै आर्केस्ट्राका साहुको नम्बर पत्ता लगाएर सम्पर्क गरेका थिए।

ती साहुले बर्दिबास हुँदै आउन भनेपछि आफूहरू हिँडेको बयान दिएकी प्रहरी निरीक्षक यादवले बताए। बर्दिबासबाट साहुले नै बस चढाएर ढल्केबरसम्म लगेको र त्यहाँबाट माइक्रोमा चढाएर सिराहाको मिर्चैया लगेको उनले थपिन्।

मंगलबार र बुधबार साहुले कुनै घरमा राखेको बताउने युवतीहरूलाई सो ठाउँ र साहुको नाम भने थाहा छैन। बर्दिबासमा साहु भेट्दा उसले मास्क लगाएकाले अनुहार देख्न नपाएको १८ वर्षीया अर्की किशोरी संगीता सदाले बताइन्। उनका अनुसार सोही कोठामा अन्य तीन महिला पहिलेदेखि नै थिए। उनीहरूले किन यहाँ आएको भनेपछि आफूहरूलाई पछुतो भएको र घर फर्किने भन्दै रुन थालेपछि साहुले ढल्केबरसम्मको बस चढाएर फिर्ता पठाएको उनले बताइन्।

ढल्केबरमा उनीहरूको खोजतलास गरिरहेको प्रहरीले उनीहरूलाई त्यहीँ फेला पारेको थियो। टिकटकले मति बिगारेको पछुतो गर्दै समयमै चेत खुलेको र साहुले पनि सहजै फिर्ता पठाएकाले आफूहरू घर फर्कन पाएको भन्दै संगीताले खुसी व्यक्त गरिन्।

मंगलबार घरबाट भागेका १५ वर्षीया राजल सदा, १६ वर्षीया वसन्ती सदा र प्रतिमा सदा, १८ वर्षीया संगीता सदा र २० वर्षीया रुबी सदालाई इलाका प्रहरी कार्यालयमै आफन्त नेपालको तर्फबाट मनोपरामर्श प्रदान गरिएको थियो।

इन्सेक महोत्तरीका प्रतिनिधि ममता विश्वकर्माले बालिकाहरूको भनाइले उनीहरू ठूलो संकटबाट जोगिएको बुझिए पनि यसको अझै सूक्ष्म अनुसन्धान जरुरी रहेको बताइन्। टिकटकले बालिका र किशोरीहरू बढी प्रभावित भइरहेको अवस्थामा यी सामाजिक सञ्जालमाथि निगरानी आवश्यक रहेको उनको भनाइ छ।

दलित समुदायमा अझै शिक्षाको पहुँच नहुँदा उनीहरूलाई सही–गलत छुट्याउने ज्ञान नहुनु र कमजोर आर्थिक अवस्थाका कारण यस्ता समस्या आउने ममता विश्वकर्माको विश्लेषण छ। ग्ल्यामर र चमकधमकबाट मोहित भई उनीहरू विभिन्न जालमा फस्ने अवस्था रहेकामा समाजमा यसबारे पनि चेतना जगाउन आवश्यक रहेको उनले बताइन्।

इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज प्रहरी निरीक्षक यादवले बालिकाहरूलाई तत्काल परिवारको जिम्मा लगाइएको बताउँदै घटनाको अनुसन्धान भने जारी रहेको बताए। उनले किशोरीहरूले दिएको बयानको आधारमा अझै खोजबिन गरिरहेको र उनीहरूको बयानलाई समेत पुष्टि हुने आधारहरू केलाइरहेको जानकारी दिए।