
नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन्। सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले पाण्डेको राजीनामा आएको नयाँ पत्रिकालाई पुष्टि गरे।
‘उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिनुभएको हो। राजीनामा रक्षा मन्त्रालयमा पठाइसकेका छौँ,’ भण्डारीले भने।
रथीमा बढुवाका लागि प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको बोर्डले रक्षामा पेस गर्ने तयारी गरेको थियो। तर, उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक देखिएको भन्दै आलोचना भएको थियो।
यद्यपि, सेनाले पाण्डेको जन्ममिति विवाद पहिले नै टुंगिएको जिकिर गरेको थियो। पाण्डेको कागजात छानबिन गर्नुपर्ने चौतर्फी दबाब र रक्षा मन्त्रालयको निर्देशनपछि उनले बिहीबार राजीनामा दिएको स्रोतले बतायो।
पाण्डेको राजीनामा स्वीकृत भएपछि वरीयताका आधारमा सेनाले उपरथी अशोक सिग्देल रथीमा बढुवा हुने सम्भावना छ। परिस्थितिमा फेरबदल नआए सिग्देल आगामी भदौ २४ पछि प्रधानसेनापति हुनेछन्।