
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बुधबार हेटौँडामा विभिन्न परिमाणको पटका र चिनी बरामद गरेको छ।
तिहारको समयमा पटका तथा विस्फोटकजन्य पदार्थ भित्रिन सक्ने भन्दै प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको छ।
प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई पिपल चौतारामा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.४९ प १२८० नम्बरको मोटरसाइकलबाट पटका बरामद गरेको हो।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले चिनीको बोराभित्र लुकाएर ल्याएको अवस्थाको नागिन पटका ८ हजार ४ सय पिस, चक्करी पटका एक प्याकेट, बुलेट बम पटका २ प्याकेट र फ्लावरकोन पटका एक प्याकेट नियन्त्रणमा लिइएको जानकारी दिए।
यस्तै, प्रहरीले पटका लुकाएर ल्याइएको चिनी अन्दाजी ५० केजीसमेत बरामद गरेको छ। पटका ल्याउने मोटरसाइकलचालकलाई भने छोडिदिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।