१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
जुम्ला विमानस्थल कार्यालयमा हवाइ इन्धन डिपो राख्ने बिषयमा छलफल गर्दै अधिकारीहरु ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १o:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो राख्न ६ कट्ठा जग्गा माग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:२६:oo

नेपाल आयल निगमले जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो राख्न नागरिक उड्डयन प्राधिकरणसँग ६ कट्ठा जग्गा माग गरेको छ । कर्णालीको दुर्गम र रमणीय गन्तव्यहरूमा पर्यटकलाई आकर्षित गर्न जुम्लाबाट विभिन्न ठाउँमा कनेक्टिङ फ्लाइट गर्ने योजनासहित प्राधिकरणले जुम्ला विमानस्थललाई विस्तार गर्ने गरी नयाँ गुरुयोजना स्वीकृत गरिसकेको छ । 

नयाँ गुरुयोजनाअन्तर्गत रहने गरी उपयुक्त स्थानमा ६ कट्ठा जग्गा प्राधिकरणले उपलब्ध गराए सानो भण्डारण गृहसहित कार्यालय राखेर जुम्ला विमानस्थलमा हवाई इन्धन भर्ने सुविधा उपलब्ध गराउन तयार रहेको निगमको नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए ।

‘सोमबार दिउँसो जुम्ला विमानस्थल कार्यालयमा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको उपस्थितिमा सर्वपक्षीय छलफल भएको छ,’ गोइतले भने, ‘सो छलफलमा जुम्लामा हवाई इन्धन डिपो राख्न हामी तयार रहेको जानकारी दिएका छौँ । त्यसका लागि प्राधिकरणले नयाँ मास्टरप्लानअनुसार उपयुक्त स्थानमा ६ कट्ठा जग्गा दिए हामी आवश्यक सेवा सञ्चालन गर्न सक्छौँ भनेका छौँ ।’

हाल नेपालगन्ज विमानस्थललाई उदगम मानेर जुम्ला विमानस्थलमा समिट, तारा र नेपाल एयरलाइन्सको एक–एकवटा गरी दैनिक तीन फ्लाइट गर्दै आएका छन् । यद्यपि, पर्यटकीय सिजनमा भने उडान बढ्ने गरेको छ ।

जुम्लामा हवाई इन्धन भर्ने सुविधा नभएकाले नेपालगन्जबाटै दुईतर्फी उडानका लागि आवश्यक इन्धन बोक्ने गरिएको छ । धेरै इन्धन बोक्नुपर्दा जहाजको भाडादर महँगो पर्नुका साथै जहाजहरूले तुलनात्मक रूपमा थोरै यात्रुसमेत ओसार्दै आएका छन् ।

जुम्लामा इन्धन भर्ने सुविधा भए उडान संख्या बढ्ने तथा अन्यत्र कनेक्टिङ फ्लाइट र हेलिकोप्टरको चार्टर्ड उडानमा समेत वृद्धि हुने स्थानीय जनप्रनिधिहरूले जानकारी दिएको गोइतले बताए । 

‘जुम्लामा नाफा–घाटा नहेरी हवाई इन्धन डिपाे राख्ने हो । त्यहाँका जनतालाई सेवा दिन र कर्णालीमा पर्यटकको सहज आवागमनमा सहयोग पुर्‍याउन इन्धन डिपो राख्ने निष्कर्षमा पुगेका हौँ,’ उनले भने ।

सोमबारको छलफलमा सहभागी प्राधिकरणका इन्जिनियर प्रकाश श्रेष्ठले नयाँ गुरुयोजनाअनुसार जुम्ला विमानस्थलको धावनमार्ग र ट्याक्सी वे विस्तार गरिने र आवश्यक जग्गा अधिग्रहण गर्नुपर्ने बताए । ‘नयाँ गुरुयोजनाअनुसार जुम्ला विमानस्थल विस्तार गर्दा हवाई इन्धन डिपोसमेत राख्ने गरी जग्गा अधिग्रहण गर्ने योजनामा छौँ,’ श्रेष्ठले भने, ‘त्यहाँ इन्धन डिपो राख्दा उडानमा सहजता हनेछ । इन्धन डिपोका लागि जग्गा उपलब्ध गराउन प्राधिकरण तयार छ ।’

जुम्ला विमानस्थलमा पहाडको कठिन र धुलाम्मे बाटो हुँदै ट्यांकरबाट तेल लैजानुपर्छ । जसले गर्दा ढुवानीका क्रममा तेलमा धुलो मिसिन जान्छ । यसरी मिसिएको धुलो दुई–तीन चरणमा प्रशोधन गरेर मात्रै जहाजमा शुद्ध इन्धन हाल्नुपर्ने हुन्छ । 

तसर्थ, जुम्लामा रिफ्युलरबाट तेल ओसारेर सेवा दिन सम्भव नभएकाले भण्डारणगृह राखेर मात्रै इन्धन उपलब्ध गराउनु उपयुक्त भएको निगमका नायव कार्यकारी निर्देशक गोइतले बताए । ‘भण्डारण गृह बनाइयो भने तीन चरणमा तेलको शुद्धता प्रशोधन भएर जहाजमा तेल पुग्छ,’ गोइतले भने ।

चालू आव ०८०/८१ को आयल निगमको नीति कार्यक्रममा जुम्लामा हवाई इन्धन डिपो राख्नका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख भएकाले सोहीअनुसार कार्यप्रगति अघि बढाएको उनले जानकारी दिए ।

 

ad
ad