
साल्ट ट्रेडिङ कर्पोरेसनले पाँच बोरासम्म चिनी खुद्रा व्यापारीलाई उपलब्ध गराउने भएको छ । तिहारमा उपभोक्तालाई चिनी सहज आपूर्तिका लागि कर्पोरेसनबाट खुद्रा व्यापारीलाई प्रतिकिलो एक सय १२ रुपैयाँ ५० पैसामा बिक्री गर्ने भएको हो । खुद्रा व्यापारीबाट उपभोक्तासम्म आइपुग्दा प्रतिकिलो एक सय १५ रुपैयाँ पर्नेछ । उपभोक्ताले साल्ट ट्रेडिङकै बिक्री सेन्टरबाट भने प्रतिकिलो ९७ रुपैयाँले दुई किलो खरिद गर्न सक्ने बताइएको छ ।
वाणिज्य आपूर्ति तथा हित संरक्षण विभाग र साल्ट ट्रेडिङ कर्पोरेसनको संयोजकत्वमा उपभोक्तालाई चिनी सहज गराउन लागेको विभागका प्रवक्ता आनन्दराज पोखरेलले बताए । उनले भने, ‘उपभोक्तालाई चिनी छिटो उपलबध गराउन कर्पोरेसनले सीधै खुद्रामार्फत गराउँदा सहज हुने देखियो ।’
विभागका अनुसार कर्पोरेसनले खुद्रालाई बेच्न सोमबार पाँच सय २५ मेट्रिकटन चिनी पहिलो चरणमा ल्याउँदै छ । त्यस्तै, विभिन्न चरणमा गरी १४ सय ७० मेट्रिकटन चिनी उद्योगीसँग खरिद गरेको छ ।
चिनीको चरम अभाव छैन : खुद्रा व्यापार संघ
खुद्रा व्यापार संघका कोषाध्यक्ष ध्रुव अधिकारीले बजारमा होहल्ला भएजस्तो चिनीको अभाव नभएको बताए । उनले भने, ‘चिनी सहज बन्दै गएको छ, चरमै अभाव सञ्चारमाध्यममा आएजस्तो छैन ।’ तर, साल्ट ट्रेडिङले बिक्री गर्न लागेको चिनी किन्ने–नकिन्ने विषयमा छलफल भइरहेको उनले बताए । उनले भने, ‘सरकारको जिटुजीमार्फत खरिद गरेको चिनी पनि आउँदै छ, हामीले यसअघि उद्योगीमार्फत किनेको चिनी पनि अझै बिक्री गर्न बाँकी छ, त्यसैले धेरै चिनी किनेर घाटा हुन सक्छ कि भन्ने द्विविधामा छाँै ।’