१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक २० सोमबार १४:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुद्दा जितेपछि प्रतिवादीबाटै अपहरणमा परेका कलवार यसरी भए मुक्त 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार १४:५९:oo

पर्साको कालिकामाई गाउँपालिका– ४ निवासी ७५ वर्षीय नथुनी साह कलवार अदालतबाट लेनदेन मुद्दा जितेपछि अपहरणमा परे। आइतबार जिल्ला अदालत पर्सामा लेनदेन मुद्दाको अन्तिम फैसलामा कलवारले मुद्दा जितेपछि प्रतिवादीबाटै अपहरणमा परेको उनी बताउँछन्।

लेनदेनको मुद्दामा अपहरणमा परेका कलवार वारिस थिए। उनका छोरा जितेन्द्रकुमार गुप्ता मुद्दाका वादी। उनको पाँच लाखको लेनदेन मुद्दामा जिल्ला अदालत पर्साले  आठ लाख ९० हजार बिगो भर्ने फैसला गरेको छ। 

मुद्दा जितेर साइकलमा घर फर्किँदै गरेका कलवार प्रतिवादीबाट बाटोमै अपहरणमा परे। सोही गाउँपालिका– ४ पशुरामपुरनिवासी लेनदेन मुद्दाका प्रतिवादी प्रमोद राउत बरईसहित अमोद बरई र सोही गाउँका रवन्जत साह गोढले उनलाई बाटोबाटै अपहरण गरेको कलवारले बताए। कलवारका अनुसार अदालतबाटै पिछा गरेर आएका उनीहरूले प्रसौनी भन्ने ठाउँबाट अपहरण गरेका हुन्। 

उनका अनुसार घर जाने क्रममा रोकेर बाटोमै ज्यान मार्ने धम्की दिए। मोटरसाइकलमा बसाएर नदीकिनारको कच्ची बाटो हुँदै कलवारलाई भारत पुर्‍याए। भारतको भेलाहीनिवासी विनोद वर्णवालको घरमा बन्धक बनाए। अपहरणकारी प्रतिवादीले सोही घरमा बन्धक बनाएर जबर्जस्ती मिलापत्रको कागजमा हस्ताक्षर गर्न लगाएको कलवारले बताए। उनका अनुसार हस्ताक्षर गर्न नमानेपछि कलवारमाथि हातपात गरेको र औँ लामा चोटसमेत लागेको छ। 

कसरी अपहरणमुक्त भए कलवार ?

अपहरणमा परेका कलवारलाई राति साढे १२ बजे नेपाल प्रहरी, बिहार प्रहरी र एसएसबीको सहयोगले अपहरणमुक्त गराएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। 

अपहरणमुक्त भएपछि भेलाही थानामा कलवारले दिएको बयानअनुसार घरमा फोन गरेर जानकारी गराएपछि अपहरणमुक्त भएको एक प्रहरी अधिकृतले बताए।  

अपहरणकारी समूहका सदस्य वर्णवालको घरमा बन्धक भएका वेला सबैजना बाहिर गएको समय साँझको ७ः१८ मिनेटमा आफ्नो जेठो छोरालाई फोन गरेर घटनाबारे जानकारी गराएपछि अपहरणमुक्त भएको कलवारले बताए। 

उनका अनुसार घरमा बन्धक बनाउने भेलाहीका विनोद र उन्नति कलवार फरार छन्। यस्तै, प्रहरीका अनुसार लेनदेन मुद्दामा प्रतिवादीसमेत रहेका अपहरणकारी प्रमोदसँगै अमोद र रञ्जित पनि फरार छन्। 

प्रतिवादीसमेत रहेका अपहरणकारीमाथि अपहरण तथा शारीरिक बन्धक मुद्दा दर्ता गराउन प्रहरी चौकीमा आएको मोहनविक्रम केसीले जानकारी दिए। यता पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम शाहले पनि यस घटनाबारे इलाका प्रहरी कार्यालय पोखरियाले हेरिरहेको बताए।