
जाजरकोटका भूकम्प प्रभावित नागरिकका लागि नेकपा एमाले बाँकेले आज सोमबार राहत सामग्री पठाएको छ । पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकबाट संकलन गरेको पाँच लाख रुपैयाँभन्दा बढीको राहत सामग्री जाजरकोट पठाएको हो ।
एमालेका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको नेतृत्वमा बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिसहितको टोली राहत सामग्री लिएर जाजरकोट गएकाे हाे ।
भूकम्प प्रभावितका लागि अध्यक्ष कक्षपतिले पार्टी तथा जनवर्गीय संगठनलाई परिचालन गरी सहयोग जुटाएका हुन् । संकलन भएको चामल, दाल, तेललगायतका खाद्यान्न र ओढ्ने, ओछ्याउने, लगाउने लुगा जाजरकोट पठाएको एमाले बाँके उपाध्यक्ष डिल्लीबहादुर विसीले जानकारी दिए ।
उनका अनुसार, पार्टीका नेता–कार्यकर्ताबाट स्वस्फूर्त रूपमा प्राप्त सहयोग सामग्री भूकम्प प्रभावितलाई पठाइएको छ । रुकुमका भूकम्पपीडितका लागि पनि छिट्टै पठाइने उनले बताए ।