
छिरिङसँगै पक्राउ परेका अन्य तीन चिनियाँ नागरिकसँग पनि भेटियो, ती पनि रद्द गर्ने प्रक्रिया अघि बढेको गृह मन्त्रालयको भनाइ
सवारीसाधनका पार्टपुर्जामा लुकाएर नेपालमा सुन तस्करी गर्ने चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङको नेपाली नागरिकता रद्द गरिएको छ । गृह मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले छिरिङको नागरिकता रद्द गरेको हो ।
उनले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेबाट नेपाली नागरिकता लिएका थिए । उनले २० पुस ०७४ मा काभ्रेको नमोबुद्ध नगरपालिका ठेगाना राखेर निमा लामाको नाममा नेपाली नागरिकता बनाएका थिए । तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ । छानबिनमा उनले झुटा विवरण पेस गरी नागरिकता लिएको पुष्टि भएकाले रद्द गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
नेपाली महिलासँग बिहे गरी छिरिङ लामो समयदेखि नेपालमा बस्दै आएका छन् । ठमेलमा उनको होटेल छ । व्यवसायको आवरणमा उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।
छिरिङसँगै पक्राउ परेका अन्य तीन चिनियाँ नागरिकको पनि नेपाली नागरिकता भेटिएको छ । ती नागरिकता पनि रद्द गर्ने प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ ।
सुन तस्करी मुद्दाको अनुसन्धान पूरा भएपछि नागरिकताको विषयमा पनि छानबिन सुरु भएको छ । यस विषयमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पत्राचार गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता नवराज अधिकारीले बताए ।
अन्य चिनियाँहरू सेग फा डिङ, वेन–ती सुङ ली र नेनकाल लीको पनि नेपाली नागरिकता भेटिएको छ । डिङले राम लामाको नाममा, वेन–तीले छिरिङ लामाको नाममा तथा नेनकालले सोनाम लामाको नाममा नागरिकता लिएका थिए । ती नागरिकता पनि रद्द गर्ने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको छ ।
साथै, यो प्रकरणमा जिल्ला प्रहरी कार्यालयले पनि अनुसन्धान अघि बढाएको छ । चारैजना चिनियाँलाई जिल्ला अदालत काभ्रेले नागरिकतासम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिसकेको छ । नागरिकता दिलाउन सघाउने अन्य व्यक्तिमाथि भने अनुसन्धान सुरु भइसकेको छैन । चिनियाँहरूको बयानपछि यसमा संलग्न थप व्यक्तिमाथि अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
‘नेपाली नागरिकता लिने चिनियाँलाई बयानमा बोलाउने तयारीमा छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘थप व्यक्तिको संलग्नता खुलेमा त्यसपछि अनुसन्धान हुन्छ ।’ चिनियाँहरूले पैसा खर्च गरेर नेपाली नागरिकता र पासपोर्ट बनाएको यसअघि सिआइबीमा बयान दिइसकेका छन् । यसरी नागरिकता दिलाउँदा जिल्ला प्रशासन कार्यालयमा सेटिङ मिलाइएको सिआइबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जस आधारमा कर्मचारीसमेत अनुसन्धानमा तानिने सम्भावना छ ।
गत २ साउनमा राजस्व अनुसन्धान विभागले ६१ केजी सुन बरामद भएपछि यसमा चिनियाँ गिरोहको संलग्नता खुलेको हो । पछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले संगठित अपराध मुद्दामा अनुसन्धान गरी मुद्दा दायर गरेको थियो । तस्करीमा नेपालमा प्रभावशाली व्यक्तिसमेतको संलग्नताको आकलन गरिए पनि पहिलो चरणको अनुसन्धानमा भने त्यो खुल्न सकेन । सिआइबीले दोस्रो चरणमा अनुसन्धान गर्ने भने पनि तीव्रता पाउन सकेको छैन ।
सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । नेपाल प्रहरीका पूर्वएआइजी सहकुल थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेको आयोगले विज्ञ तथा अनुसन्धानमा आबद्ध प्रहरीसँग छलफल गरिरहेको छ । यसमा जोडिएका थप व्यक्तिलाई पनि सोधपुछमा बोलाइने र स्थलगत निरीक्षणको तयारी भइरहेको आयोगका एक पदाधिकारीले बताए । आयोगले सुन तस्करीसम्बन्धी पुराना छानबिन प्रतिवेदन, फैसलाहरू तथा हालैको अनुसन्धानमा प्रतिवेदन पनि झिकाएर अध्ययन गरिरहेको छ ।
आयोगका अध्यक्ष आचार्यले पहिलो चरणमा विज्ञहरूसँग छलफल र प्रतिवेदनहरूको अध्ययन हुने र त्यसपछि यसमा संलग्न व्यक्तिहरूमाथि सोधपुछ गरिने बताए । ‘अहिले हामी अभियोजनविज्ञ, राजस्वविज्ञदेखि सुन–चाँदी व्यवसायी, कानुनविद्हरूसँग यस विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने, ‘प्रतिवेदनहरू पनि मगाएका छौँ, त्यसपछि दोस्रो चरणमा सोधपुछको काम हुन्छ ।’