१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १६ बिहीबार २o:१५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तिहारमा चिनीको अभाव नहुने, भोलिदेखि ४६ सय मेट्रिक टन बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार २o:१५:oo

तिहारमा चिनीको अभाव नहुने भएकाे छ। सरकारले तिहारलाई लक्षित गर्दै भोलिदेखि ४६ सय मेट्रिक टन बजारमा ल्याउने तयारी गरेकाे छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरक्षा निकाय प्रमुख तथा वाणिज्य विभागका महानिर्देशकलगायतसँग छलफलपछि उद्योगहरूबाट चिनी बजारमा आउने भएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशकहरूसँग अवैध ढंगले भित्रिएको तथा उद्योगहरूले बजारमा नपठाएको चिनी अनुगमन गर्ने विषयमा छलफल गरेका थिए। 

आज बिहान प्रधानमन्त्री प्रचण्डले उद्योग तथा वाणिज्यमन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका थिए।

बैठकमा हाल अवैध ढंगले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा चिनी पठाइने गरेको सूचनाका आधारमा आवश्यक कारबाही गर्ने विषयमा छलफल भएको थियो।
 
यसका साथै नेपाली चिनी उद्योगहरूले आमउपभोक्तालाई सहज हुने किसिमले बजारमा चिनी आपूर्ति गर्नुको साटो कतिपय ठूला उद्योगले चिनी आपूर्ति नगरी गोदाममा राखेपछि बजारमा चिनीकाे अभाव सिर्जना भएकाे हाे। 

वाणिज्य विभागको तथ्यांकअनुसार नेपालमा उत्पादन हुने चिनीको सत्तरी प्रतिशत चिनी विभिन्न पेय पदार्थ, मिठाई, चकलेट, बिस्कुटलगायतका उद्योगहरूमा आपूर्ति हुने गर्दछ। 

आजको बैठकपछि नेपाल प्रहरीले नेपालमा रहेका सबै चिनी उद्योगको स्टक रेकर्ड चेक गर्ने तथा सो आधारमा बजारमा चिनी पठाउन उद्योगीहरूसँग छलफल गरिनेछ। 

हालसम्म ३ हजार मेट्रिक टन चिनी बजारमा पठाउने कुरा सुनिश्चित गरिएको छ। नेपाल साल्ट ट्रेडिङले भोलि नै उक्त चिनी खरिद गरी खुद्रा उपभोक्तामार्फत बजारमा ल्याउनेछ। साल्ट ट्रेडिङसँग यसअघि नै १६ सय मेट्रिक टन चिनी मौज्दात छ। 

साथै, आजकाे बैठकमा भोलिदेखि नै अवैध ढंगले भित्रिएको या गोदाममा थन्किएको चिनीको व्यापक अनुगमन गर्नेसमेत निर्णय भएको छ। नेपाल प्रहरीले अवैध ढंगले चिनी लुकाएको सूचना भएमा प्रदान गर्न अपिलसमेत गरेको छ।