१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Sunday, 22 September, 2024
तिवारी यादव वीरगन्ज
२o८o कार्तिक १५ बुधबार १८:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पीडित परिवार भन्छन्- मृतकको चरित्र हत्या भयो, प्रहरीको अनुसन्धानमा विश्वास छैन

हत्यामा संलग्न पाँचजना सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार १८:३४:oo

गत सोमबार गोली प्रहार गरी कलैया बाल एकता बोडिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ। 

प्रहरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकारसहित पाँचजनालाई सार्वजनिक गरेको हो। 

प्रहरीले स्वर्णकारको हत्यामा संलग्न कलैयानिवासी २२ वर्षीया राधा गुप्ता, सोही ठाउँका ३४ वर्षीय जामिल अख्तर र कलैया–९ रामपुरका २६ वर्षीय रियाज अन्सारीलाई सार्वजनिक गरेको छ। 

यस्तै, गोली प्रहार गर्ने समूहका सदस्य मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्दकुमार सार्वजनिक गरेको हो। पक्राउ परेकी राधा स्वर्णकारको हत्याको मुख्य योजनाकार रहेको जनाएको छ। 

यस्तै, विद्यालयका कर्मचारी जामिल र रियाजलाई घटनामा सहयोगी भूमिका खेलेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनले घटनामा संलग्न रहेका भारतीय नागरिक अभिनवकुमार र चन्दकुमार सुटर समूहका सदस्य रहेको र उनीहरूले खबर संकलन र आदानप्रदान गर्ने व्यक्ति रहेको बताए। गोली प्रहार गर्ने चारजना भने फरार रहेको प्रहरीले जनाएको छ। 

फरार रहेका चारजना सुटरहरू गत सोमबार दिउँसो पौने १ बजे मदरसा टोलमा मोटरसाइकलमा आएर प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। प्रहरी उपरीक्षक काफ्लेका अनुसार स्वर्णकारको हत्यामा संलग्न फरार रहेकाहरू खोजी भइरहेको छ।  

स्वर्णकारको हत्या विवाहेत्तर प्रेम सम्बन्ध र रिसइबीका कारण नै भएको प्रहरीको अहिलेसम्मको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक काफ्लेले बताए। प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी राधा गुप्ता तीन वर्षदेखि भारतीय नागरिक मनोज गुप्तासँग प्रेममा रहेको पनि देखिएको जनाएको छ। मनोज पनि विवाहित नै रहेको प्रहरीले जनाएको छ। 

यता प्रिन्सिपल स्वर्णकार र राधाबीच पनि सम्बन्ध रहेको देखिएको हो। त्यही विषयलाई लिएर राधा, मनोज र रूपेशबीच झगडा भएकाले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रहरीको अनुसन्धानमा विश्वास छैन, रूपेशको चरित्र हत्या भयो 

मृतक स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारबाही गर्नुको साटो उनको चरित्र हत्या गरेको परिवारका सदस्यहरूले आरोप लगाएका छन्।  

बारा प्रहरीले पत्रकार सम्मेलन गरेर स्वर्णकारको हत्यामा संलग्नलाई सार्वजनिक गरेको एक घण्टामै उनीहरूले आपत्ति जनाएका हुन्। 

मृतक स्वर्णकारका दाइ सुमोध सरार्फले प्रहरीले स्वर्णकारको हत्यामा हुँदै नभएको विद्यालयका दुईजना कर्मचारीलाई सार्वजनिक गरेर हत्यारालाई उन्मुक्ति दिन लागेको आरोप लगाए। 

‘प्रहरीको अनुसन्धानमा विश्वास छैन। स्वर्णकारले न्याय पाउनको साटा चरित्र हत्या भएको अवस्था छ, ‘उनले भने, ‘प्रहरीले स्वर्णकारको विगतदेखि नै कुनै पनि केटीसँग चक्कर वा संलग्तामा नरहेको भए पनि प्रहरीले घटनाको यथार्थ लुकाउन खोजेको छ।'

करिब ७ महिनाअगाडि बाल एकता बोर्डिङ स्कुलमा दुई महिना मात्र काम गरेकी राधासँग स्वर्णकारको नाम जोडेर परिवारको पनि चरित्र हत्या भएको उनको जिकिर छ। 

राधालाई विद्यालयबाट हटाएदेखि स्वर्णकारको कुनै सम्बन्ध पनि नरहेको भए पनि प्रहरीले उनकै योजनामा घटना घटेको जोडेर चरित्र हत्या भएको दाबी गरे।

घटनामा संलग्न नभएका विद्यालयका कर्मचारीद्वय जामिल र रियाजलाई घटनामा सहयोगी बनाएर हत्यारालाई लुकाएको बताए। 

मृतक स्वर्णकारको मुख्य हत्यारा पक्राउ नपरे परिवारका सदस्यले प्रहरीविरुद्धमा कडा आन्दोलन थाल्ने चेतावनीसमेत दिए।