काठमाडौं महानगरपालिकाले कारबाही गरेका ४२ जना नगर प्रहरी काममा फर्किएका छन् । उनीहरूको निलम्बन फुकुवा भएसँगै मंगलबारदेखि काममा फर्किएका हुन् ।
आगामी दिनमा गल्ती नदोहोर्याउने भन्दै उनीहरूले माफी मागेपछि निलम्बन फुकुवा गरेको महानगरले जनाएको छ । ‘उहाँहरूले आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने भनेर माफी माग्नुभएपछि निलम्बन फुकुवा गरेका हौँ,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने, ‘उहाँहरूलाई निगरानीमा राखेर काम लगाइरहेका छौँ । फेरि पनि अनुशासनहीन काम गर्नुभयो भने कारबाही गर्छौँ ।’ उनीहरूको दसैँअगावै निलम्बन फुकुवा गरिएको हो ।
महानगरले उनीहरूलाई आफूखुसी बढुवा (असइ)को फुली लगाएको भन्दै २७ भदौमा ३० दिनका लागि निलम्बन गरेको थियो । महानगरले उनीहरूलाई २५ असारमा बढुवा गरे पनि फुली भने लगाइदिएको थिएन । बढुवा गरे पनि दज्र्यानी चिह्न प्रदान नगरेका कारण उनीहरूले आफैँले फुली किनेर लगाएका थिए । महानगरको ३० असोजमा बसेको कार्यपालिका बैठकमै जनप्रतिनिधिले चाडबाड नजिकिएकाले एकपटकलाई नगर प्रहरीलाई माफी दिनुपर्ने बताएका थिए भने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले अनुशासनहीन काम गरेका नगर प्रहरीले लिखित रूपमा माफी मागे निलम्बन फुकुवा गरिदिने भने पनि उनीहरूले माफी नमागेको आरोप लगाएका थिए ।
थप नगर प्रहरी पदपूर्ति गर्दै ललितपुर
ललितपुर महानगरपालिकाले थप नगर प्रहरीको पदपूर्ति गर्ने भएको छ । नगर प्रहरी (तहविहीन)का लागि महानगरले ५० जना नगर प्रहरी पदपूर्ति गर्ने भएको हो । हाल महानगरसँग ७० जना नगर प्रहरी रहेका छन् । ५० जना पदपूर्ति गर्न लागे पनि अझै अपुग हुने नगरप्रहरी प्रमुख सीताराम हाछेँथूले बताए । ‘५० जना नगर प्रहरी थपिएपछि संघीय प्रहरीसँग सानातिना कामका लागि सहयोग माग्नुपर्दैन । तैपनि, यो संख्याले भनेकै समयमा सेवा प्रवाहका लागि भने अझै गाह्रो हुन्छ ।